Site icon dailynewsrapti.com

विश्वकप वार्मअप खेलमा टेस्ट टिम वेस्ट इण्डिजविरुद्ध खेल्दै नेपालको यू–१९ क्रीकेट टिम

आइसिसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली युवा टिमले दोस्रो औपचारिक वार्मअप म्याच आज टेस्ट टिम वेस्ट इण्डिजविरुद्ध खेल्दैछ । नेपाल र वेस्ट इण्डिजबीचको खेल नेपाली समयअनुसार मंगलबार दिउँसो १ः४५ देखि जोहान्सवर्गमा सुरु हुनेछ ।   

दुवै टिम वार्मअप खेलमा लगातार दोस्रो जित निकाल्न चाहन्छन् । नेपालले पहिलो वार्मअप खेलमा स्कटल्याण्डलाई डकवर्थ लुईस पद्धतिअनुसार ७ विकेटले हराएको थियो । त्यसअघि नेपालले अनौपचारिक अभ्यास खेलमा स्कटल्याण्डलाई १३५ तथा नामिबियालाई ६ रनले हरायो । 

यता वेस्ट इण्डिजले आइतबार भएको पहिलो वार्मअप खेलमा न्यूजिल्याण्डलाई ६ विकेटले हराएको थियो । सो खेलमा न्यूजिल्याण्डले दिएको १३२ रनको लक्ष्य वेस्ट इण्डिजले २४.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । ऊ नेपालविरुद्ध पनि सहज जित निकाल्न चाहन्छ । 

विगतमा पनि वेस्ट इण्डिजले नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको रेकर्ड छ । नेपाल र वेस्ट इण्डिजले उमेर समूहको क्रिकेटमा हालसम्म एक खेलमा मात्र प्रतिस्पर्धा गरेका छन् । यी दुई टिमले पहिलोपटक १ मार्च सन् २००८ को यू–१९ विश्वकपको प्लेट फाइनलमा एकअर्काको सामना गरेका थिए। सो खेलमा वेस्ट इण्डिजसँग नेपाल ७ विकेटले पराजित भयो।

मलेसियाको कुवलालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल २५.३ ओभरमा ७४ रनमै अलआउट भयो । सो खेलमा नेपालको कप्तानी पारस खड्काले सम्हालेका थिए । ७५ रनको सामान्य लक्ष्य वेस्ट इण्डिजले १४.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । नेपाल वेस्टइण्डिजसँगको १६ वर्षअघिको हारको बदला मंगलबार लिन चाहन्छ । 

आउँदो शुक्रबारदेखि सुरु हुन लागेको विश्वकपमा वेस्ट इण्डिज समूह ‘बी’ मा छ । उसले ग्रुप स्टेजमा इंग्ल्याण्ड, दक्षिण अफ्रिका र स्कटल्याण्डसँग खेल्नेछ । समूह ‘डी’ मा रहेको नेपालले भने ग्रुप स्टेजमा तीन टेस्ट टिमलाई प्रतिद्वन्द्वी पाएको छ । नेपालले पहिलो खेलमा आइतबार न्यूजिल्याण्डसँग खेल्ने तालिका छ । 

त्यसपछि नेपालले बुधबार पाकिस्तान तथा शुक्रबार अफगानिस्तानको सामना गर्नेछ । यू–१९ क्रिकेटमा नेपालले यी तीनै टिमलाई हराइसकेको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version