Site icon dailynewsrapti.com

समाजवादी मोर्चा र माओवादीहरु बिचको एकता

अनिल विरही

विप्लव नेतृत्वको नेकपा, प्रचण्ड नेतृत्वको (माओवादी केन्द्र), माधव नेपाल नेतृत्वको नेकपा(एस) उपेन्द्र यादव नेतृत्वको जसपा चारवटा पार्टीहरु बिचमा साझा कार्यक्रमको आधारमा समाजवादी मोर्चा गठन भएको छ । यसले देशभित्र, मोर्चामा रहेका पार्टीभित्र र शक्ति केन्द्रहरुसमेत प्रभावित भएका छन् । यो लेखमा त्यसको विषयमा हाम्रो धारणा संक्षिप्तमा उल्लेख गरिने छ ।

मोर्चा बन्नुको कारण र पृष्ठभूमि

गत निर्वाचनमा अपेक्षित परिणाम नआए पछि र निर्वाचन अगाडि नै छलफल गर्दै आएका प्रचण्ड, माधव नेपाल र बाबुराम भट्टराई ‘समाजवादी केन्द्र’ बनाउने र त्यसलाई ३ वटा पार्टीबिच पार्टी एकता गर्ने सोच र योजनामा थिए । निर्वाचन लगतै प्रचण्ड प्रम बन्ने सम्भावना बन्यो र उपेन्द्र-प्रचण्ड निकटता भयो । उपेन्द्र यादव बाबुरामलाई एक्ल्याउने पक्षमा उभिनु र तत्कालको लागि प्रचण्डलाई बाबुराम भन्दा उपेन्द्र बढी उपयोगी भएका कारण बाबुराम टाढा भएर गए । त्यहिबिच लामो समयदेखिको छलफल पश्चात नेकपा र अरु पार्टीहरुबिच देशलाई निकास दिने र विदेशी हस्तक्षेप रोक्ने तथा देशलाई समाजवादतिर लैजाने साझा कार्यक्रमको आधारमा समाजवादी मोर्चा बन्यो । दलाल पुँजीवादी व्यवस्थामा आएको सङ्कट र अमेरिकी हस्तक्षेपको दबावमा परेर समाजवादी मोर्चा बनेको हो । माधव नेपाल गैरसंसदीय पार्टी नेकपासँग सहकार्य नगर्ने पक्षमा थिए। तर विप्लव बाहेकको मोर्चा आवश्यक नभएको भन्ने प्रचण्डको अडानपछि माधव नेपाल पनि तयार भए । वर्तमान संविधान र जनयुद्धलाई हेर्ने सोचमा माधव नेपाल भन्दा उपेन्द्र यादव र झलनाथ खनाल अग्रगामी देखिन्छन् । २०७५ मा नेकपालाई प्रतिबन्ध लगाउन दवाब दिने अमेरिका नै हो । हाल एमसीसी, आईपीएस र अमेरिकी घुसपपैठको विरुद्ध अग्रभागमा रहेर नेकपा लडिरहेको छ । त्यसैले अमेरिका नेकपालाई घेरा कस्न चाहन्छ र त्यस – सँग हिमचिम गर्ने शक्तिहरुलाई दण्डित गर्न चाहन्छ । अहिले उपेन्द्रलाई गौर हत्याकाण्डमा पुर्याएर प्रचण्ड- उपेन्द्र दूरी बढाएर सरकार ढाल्ने खेल चलिरहेको छ । ओली र गगन दुवैलाई प्रम बनाउन नचाहेका शेरबहादुर देउवा काङ्ग्रेस र आफ्नो गुटसमेत कमजोर नहुने तथा अमेरिकाको दबाबसमेत सम्बोधन हुनेगरी शेखर कोइरालालाई प्रम बनाउन तयार हुन सक्छन् ।

प्रचण्डका दुःख

अनन्त, जनार्दन र प्रचण्डका ३ समूह र अरु थुप्रै उपगुटले नेकपा (माओवादी केन्द्र) थलिएको छ । प्रचण्डले आफ्नो गुट सुदृढ गरिरहेका छन् । प्रचण्डले जतिधेरै चाकरी गरेपनि अमेरिकाले स्विकार गर्दैन । पश्चिमी देशहरू र भारत आफ्नो स्वार्थ पूरा भएमा कम्युनिस्ट नामधारी भएपनि स्विकार गरेको देखिन्छ । तर अमेरिकाले स्विकार्दैन । माओवादीप्रति नरम भएकै कारण सिआईए, रअ र नेपाली सेनाको संयोजनमा राजा विरेन्द्रको हत्या – भएको ‘ओपन सेक्रेट’ हाम्रो सामू छँदैछ। के.पी. ओली- समेत अमेरिकाको निशानामा छन् । साम्राज्यवादले नपत्याउने, जनतातिर फर्कने हिम्मत नमुने, आफ्नै अतित र पार्टी नामको आर्थिक स्वार्थ समूहको गनगन र प्रहारले प्रचण्ड सुर्किने गाँठो गलामा लगाए झैं भएका छन् । त्यसैले प्रचण्डलाई विप्लव चाहिएको छ । अमेरिकाले नेपालमा सेना, प्रहरी, अदालत, अर्थतन्त्र, कर्मचारीतन्त्र कब्जा गरेको छ । राजनीतिमा गगन-रवि- सिकेका सरकार र अमेरिकी ब्यारेक अन्तिम लक्ष्य छ । त्यसो भयो भने (त्यो कार्य कांग्रेसबाटै पनि हुनसक्छ) सरकारले नै अमेरिकी ब्यारेक राख्न दिने निर्णय गर्न सक्छ । त्यसो भयो भने सत्तामा व्यापक ध्रुविकरण हुनेछ र नेपालमा राष्ट्रिय मुक्ति आन्दोलन शुरु हुनेछ । त्यसकारण अमेरिकाको निशानामा परेको हाम्रो पार्टिलाइ अमेरिकाले नपत्याएका शक्तिहरु, अमेरिकाका कमजोर दलालहरु र देशभक्त चाहिएको छ । हो ठिक यहीं कतै प्रचन्ड चाहिएको छ ।
जनयुद्धका उपलब्धिको आंशिक नै भएपनि रक्षार्थ प्रचण्डको उपादेयता छ । प्रचण्ड सरकारका केडी निर्णयहरु सकारात्मक छन् । दलाल पुँजीवादको विरोध, समाजवादको प्रचार, संविधान बदल्ने कुरामा सहमती, गैरसंसदीय शक्तिसँग सहकार्य (विप्लव) प्रचण्डका सकारात्मक पक्ष हुन् । अवसरवादी र ढुलमुले शक्ति हुनुको कारण प्रचण्डले कुनै पनि बेला साम्राज्यवादसँग सम्झौता गर्न सक्छन् । त्यसतर्फ सचेत रहने, जनता र आफ्नो पंक्तिलाई सतर्क राख्ने र सकारात्मक कामको लागि सहयोग र प्रोत्साहित पनि गर्नुपर्छ। गतिशीलता प्रचण्डको युवाकालदेखि कै प्रवृत्ति हो ।

समाजवादी मोर्चाको भविष्य

समाजवादी मोर्चा बन्नासाथ त्यसलाई असफल पार्ने हर्कतहरू भएका छन् । त्यसमा काङ्‌ग्रेसको शेखर कोइराला गुट अगाडि छ । कोइरालाले संसदीय व्यवस्था भन्दा बाहिरको शक्तिसँग मोर्चाबन्दी गरेर प्रचण्डले लोकतन्त्र र कांग्रेसलाई कमजोर पार्न खोजेको आरोप लगाएका छन । त्यो कुरा शेखर समुहबाट निस्केको अमेरिकाको वाणी हो । मावोवादी केन्द्र भित्रैबाट प्रचण्डलाई विप्लवले प्रयोग गर्यो भनेर वा पार्टी एकताका हावादारी आँकलन ओकलेर विषयान्तर गरिएको छ । अमेरिकाले पार्टी भित्रैबाट प्रचण्डमाथि प्रहार गरिरहेको छ । गौर हत्या काण्डको न्यायिक जाँच आवश्यक हो । तर यसैबेला त्यो विसय उठ्नु- उठाउनु भनेको प्रचण्ड – उपेन्द्र गठबन्धन भत्काउने, प्रचण्डको सरकार ढाल्ने षड्यन्त्र देखिन्छ । समाजवादी मोर्चाका संयोजक नै मोर्चा लाई कार्यक्रम विहिन बनाएर युरोप सयरमा निस्केका छन् । अर्कोतिर वर्तमान सरकारले नै नेपाली सेना र अमेरिकी सेनाको संयुक्त कमाण्डमा ब्यारेक राख्ने निर्णय लिनसक्ने अनुमान पनि भइरहेको छ । त्यसो भयो भने समाजवादी मोर्चाको औचित्य रहन्न तर क्रान्तिकारी र देशभक्त शक्तिहरुले समाजवादी मोर्चाको रक्षा गर्नुपर्छ । किनकी यो मोर्चा देशको आवश्यकता र जनचाहनाको कारण बनेको हो । यो विचार फरक भएका पार्टीहरुबिचको साझा कार्यक्रम अनुसार बनेको छ । अर्कोतिर किरण, आहुति, ऋषि कट्टेलसहितको मालेमावादीहरु बिचमा र देशभक्त तथा कम्युनिस्ट बिचमा अर्को मोर्चा बनाउने प्रयास गर्नुपर्छ । अमेरिका आयो र देश झडपतिर गयो भने ३ वटै मोर्चाबिच एकता गरेर स्वाधीनताको लंडाई हुनेछ ।

माओवादीहरू बिचको एकता

जनयुद्धबाट आएका पूर्व माओवादीहरु बिचको पार्टी एकता आवश्यक छ। त्यसो त ओलीसहित सबैको बिचमा एकता‌को जन-चाहना छ । पार्टी एकता कार्यनीतिक विषय होइन । त्यसको लागि मार्क्सवादका आधारभूत विषयमा सहमती आवश्यक हुन्छ । एकतामा आउनेहरु संसदवादबाट बाहिर निस्कनुपर्छ । २०८४ को चुनाव होइन वैज्ञानिक समाजवादको लागि एकता हुनुपर्छ । र जनयुद्ध र शान्ति प्रक्रियाको समीक्षा हुनुपर्छ । हामी उक्त छलफल गर्न तयार छौं । हामी जनचाहना र छलफलबाट भाग्ने संकीर्ण छैनौं र लापरवाह, हावादारी, इतिहासको दायित्व बिर्सेर एकताको वकालत पनि गर्दनौं । एकताको विषय केवल भावना र संसदीय चुनाव‌को विषय होइन । समाजवादी मोर्चाको कामले विषयलाई समाधान गर्न मद्धत गर्नेछ ।

एमसीसी र नेकपा

समाजवादी मोर्चाले १२ बुँदे टिप्पणी लागू गर्न सङ्‌घर्ष गर्ने साझा कार्यक्रम बनाएको छ । १२ बुँदे ब्याख्यात्मक टिपाणी लागू गर्नु भनेको एमसीसी लागू नहुनु हो । अमेरिका त्यसलाई नमान्ने निर्णयमा छ र नेपालको संसदले पारित गरेको विषयलाई पेलेरै जान खोज्दैछ । त्यस्तो अवस्थामा समाजवादी मोर्चाले अमेरिकी परियोजना एमसीसीलाई विकासे संस्थामा सीमित राख्न साझा प्रयास गर्नेछ। तर हाम्रो पार्टी भने एमसीसी खारेजको पक्षमा छ । हाम्रो स्वतन्त्र नीति र सङ्‌घर्ष जारी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version