काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मायामीस्थित अदालतमा हाजिर भएका छन्। ट्रम्प आफूविरुद्धको गोप्य सरकारी दस्तावेजको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी मुद्दामा ट्रम्प अदालतमा हाजिर भएका हुन्। अदालतमा करिब ४७ मिनेट भएको सुनुवाइमा उनी केही पनि बोलेनन्। टाउको झुकाएर बसिनै रहे। उनले आफू दोषी नभएका बताएका छन्। उनलाई कुनै शर्त वा यात्रा प्रतिबन्ध बिनानै अदालतले छोड्न अनुमति दिइएको थियो। दुई घण्टा अदालतमा बिताएका उनले त्यसपछि समर्थकलाई सम्बोधन गर्दै मुद्दा राजनीति भएको र आफूलाई सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्न नदिने षडयन्त्र भएको बताए।
उनका समर्थकहरुले अदालतबाहिर नाराबाजी गरेका थिए। पछिल्लो दुई महिनामा ट्रम्प दोस्रो पटक अदालतमा हाजिर भएका छन्। गत अप्रिलमा उनी अदालत पुगेका थिए। सन् २०२१ मा राष्ट्रपति कार्यालयबाट बाहिरिँदा उनले सरकारी गोप्य कागजात अवैधानिक रुपमा आफूसँग राखेको लगायतका एक दर्जनजति आरोप लगाइएको छ। ट्रम्पको निजी निवासमा फेला परेका गोप्य दस्तावेजमा केही दस्तावेज परमाणु गोपनियतासम्बन्धी पनि रहेको जनाइएको छ। ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा चलाइएको यो दोस्रो पटक हो भने कुनै पूर्वराष्ट्रपतिविरुद्ध संघीय सरकारले चलाएको यो पहिलो मुद्दा हो। -एजेन्सी
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.