असार १०,तुलसीपुर ।
हेमन्तप्रकाश वली । तुलसीपुर-९ स्थित माध्यामिक बिधालय दोघरेले चर्चेको जग्गा हिनामिना भएको खुलेको छ ।
बिधालयले वर्षौंदेखि चर्चेको २ बिघा १२ कठ्ठा ३ धुर जग्गा तत्कालीन तुलसीपुर नगर विकास समितिको जग्गा एकीकरण कार्यक्रमको नाममा हिनामिना भएको खुलेको हो ।
तुलसीपुर नगर विकास समितिले आ.व. ०६०/०६१ सालमा सुरु गरेको जग्गा एकीकरण (ल्याण्ड पोलिङ) कार्यक्रम अन्तर्गत समितिले दोघरे स्कुलको नामबाट जग्गा अधिग्रहण गरेको खुलेको छ ।
जग्गा एकीकरण (ल्याण्ड पोलिङ) कार्यक्रममा जम्मा ३४ बिघा ७ कठ्ठा १७ धुर (२३२९२७.६७ वर्गमिटर) गरिएको जग्गा अधिग्रहण मध्य दोघरे बिधालयले चर्चेको साविकको नक्सा नं.५ख को कित्ता नम्बर १८४ बाट २ बिघा १२ कठ्ठा ३ धुर जग्गा पनि समेटिएको उल्लेख छ ।
तर तुलसीपुर नगर विकास समितिले जग्गा एकीकरण गर्दा गरिएको ६०/४० प्रतिशतको सहमति बिपरित बिधालयलाई जग्गा फिर्ता नगरी सरकारी बिधालयको जग्गा हिनामिना गरेको हो ।
आयोजनापछि विकसित घडेरीहरु ६०% व्यक्ती र ४०% जमीन तुलसीपुर नगर विकास समितिले विक्रीवितरण गर्ने सहमती गरेको नगर विकास समितिबाट प्राप्त कागजातबाट खुल्न आएको छ ।
तर तत्कालीन नगर विकास समितिले गरिब जनताका छोराछोरी पढ्ने सरकारी बिधालयलाई सहमती अनुसार जग्गा फिर्ता नगरी सडकछाप बनाएको छ ।
तुलसीपुर नगर विकास समितिले बिधालयलाई जग्गा फिर्ता मात्रै गरेन् हाल बिधालयले चर्चेको जग्गा समेत उच्च अदालत तुलसीपुरको नाममा रजिस्ट्रेसन पास गरिदिएको छ ।
जग्गा हिनामिना काण्ड खुल्ने भएपछि नगर विकास समितिले दोघरे बिधालयलाई दक्षिणतिर पातुखोलाको किनारमा करिव १० कठ्ठा जग्गा छुट्याएको भनि निर्णय गरेको गरेको प्राप्त कागजातबाट खुल्न आएको छ ।
नगर विकास समितिको जग्गाधनिहरुको जग्गा फिर्ता भएको व्यक्तिहरुको नामावली विवरणमा समेत विद्यालयको नाम उल्लेख छैन । विद्यालयको जग्गा तत्कालिन समितिले हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन्। ५२ बर्षदेखि संचालनमा आएको मावि दोघरे स्कुलले चर्चेको सरकारी जग्गा समितिले कानुनको उलंघन गरी अधिग्रहणका नाममा लगेको समितिको बर्तमान भू-उपयोग विवरण महल नम्बर ख मा विद्यालयको जग्गा २ बिगाहा १२ कठ्ठा ३ धुर अधिग्रहणका नाममा लगेको प्रस्ट देखिन्छ। त्यसमा १७६५९.६९ वर्गमिटरबाट फिर्ता ७०५३.०० वर्गमिटर घटाउदा बाँकि हुन आउने १०६०६.६९ वर्गमिटर जग्गा कहाँ छ , अत्तोपत्तो छैन । स्कुलले पाउने जग्गामात्र घटाउँदा फिर्ता हुन बाँकि २ बिगाहा जग्गा कहाँ छ भन्ने जवाफ कसैसँग छैन् ।
६० प्रतिशत जग्गाधनिहरुको फिर्ता दिने विकसित घडेरीहरुमा २० बिगाहा १२ कठ्ठा १४ धुर १३९७५४.०० वर्गमिटर भनि देखाइएको छ। त्यसमा ६० प्रतिशतका दरले विद्यालयले पाउनुपर्ने जग्गा फिर्ता गरिएको देखिदैन।
मावी दोघरले चर्चेको जग्गा सोही ठाउँका समाजसेवी केसि दम्पतीबाट दान बकस गरि स्कुललाई रजिष्ट्रेसन पारित गरिदिएको जग्गा हो ।
२०४६ सालसम्म अमृतपुर गाउँ पञ्चायत र हालको माबी दोघरे स्कुल एउटै आँगनमा सञ्चालन हुँदै आएका थिए ।
२०४७ सालमा पञ्चायती व्यवस्था खारेज भएपछि स्कुलले सो पुरै जग्गा एकलौटी रुपमा टिकरी गाउँका मतौ बेलौरी चौधरीलाई ठेक्कामा खेती गराइ भोगचलन गर्दै आएको थियो र उनै बेलौरी चौधरीले ३५ वर्षसम्म खेती गरि आम्दानी स्कुललाई बुझाइरहेका थिए । उक्त आम्दानी प्रत्येक वर्ष बुझाएको भरपाई रसिद समेत उनिसंग छ । उनले सरकारी स्कुलको जग्गा भनि मोहि पनि गराएनन । त्यसपछि तुलसीपुर-९ दोघरे बस्ने गोर्खाली जेठा/माइलाले उक्त पुरै जग्गा ११ वर्षदेखि ठेक्कामा खेती गरि आम्दानी स्कुललाई बुझाइरहेका थिए। विगत ५२ वर्ष अगाडीदेखि हालसम्म श्री माबी दोघरे सञ्चालनमा आइरहेको छ । उक्त जग्गा नगर विकास समितिले आफ्नो आयोजना सञ्चालन पछि नगर विकासको खर्चमा देखाएर स्कुललाई पर्खाल भित्रको ०-१२-० (बाह्र कठ्ठा) जग्गा मात्र फिर्ता दिएको देखिन्छ । त्यसमा बाँकी २-०-० (दुई बिगाह) जग्गा मध्य केही बाटोको जग्गासंग कित्ता नछुट्याई गोलमाल गरिएको छ । तत्कालीन नगर विकास समितिले स्कुलको लालपुर्जा छैन् जग्गा फिर्ता दिनुपर्दैन भन्दै सरकारी स्कुलको पुरै जग्गा हिनामिना गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
कसरी भयो जग्गा एकीकरण (ल्याण्ड पोलिङ)?
तुलसीपुर नगर विकास समिति दाङले दोघरे मौजामा जग्गा एकीकरण (ल्याण्ड पोलिङ) कार्यक्रम संचालन गर्न भनि टीकरी जाने कुलोदेखि पुर्व पातुखोलादेखि पश्चिम् टीकरी गाउँदेखि उत्तर श्री मावि दोघरे स्कुल भवन जग्गादेखि दक्षिण चार किल्ला भित्र पर्ने साविक तुलसीपुर ५ख ५ग र ८क का नक्साहरुबाट जम्मा ३४ बिगाहा ७ कठ्ठा १७ धुर जग्गा अधिग्रहण गरेको नगर विकास समितिको रेकर्डमा देखिएको छ ।
आयोजनाले कृषि क्षेत्र , विद्यालयले चर्चेको जग्गा , साविकको बाटो , सिचाई कुलो र ऐलानी जग्गा गरी जम्मा ३४ बिगाहा ७ कठ्ठा १७ धुर जग्गा अधिग्रहण गरि ल्याण्ड पोलिङ कार्यक्रम सुरु गरेको उल्लेख छ। तत्कालिन नगर विकास समितिका अध्यक्ष दिनेश कुमार डाँगीको कार्यकालमा आ.व. ०६०/०६१ सालमा ल्याण्ड पोलिङ कार्यक्रम सुरु भएको हो।
डेलिन्युजराप्तीलाई प्राप्त कागजात अनुसार २०६०/०९/१४ गते ४२ जना जग्गाधनीले जग्गा एकीकरण (ल्याण्ड पोलिङ) कार्यक्रम संचालन गरि पाउ भनि नगर विकास ऐन को दफा १२.१.२ बमोजिम जग्गाधनी प्रमाणपुर्जा र नागरिकताको छाया प्रति साथ राखी तुलसीपुर नगरपालिकालाई बोधार्थ बनाइ तुलसीपुर नगर विकास समितिको कार्यालयलाई सम्बोधन गर्दै संयुक्त निवेदन दिएको देखिन्छ।
तर नेपाल सरकारको मिति २०६३/६/२३ को स्वीकृत प्राप्त आयोजनाले तयार गरेको विकसित घडेरी प्लटहरु ६० प्रतिशत जग्गा जग्गाधनीलाई फिर्ता गर्ने र ४०% नगर विकासको स्वामित्वमा रहँने निर्णय झन्डै ५ बर्षपछि गरिएको पाइएको छ। जसमा जग्गा एकीकरण कार्यक्रम संचालन गरिपाउँ भन्ने संयुक्त निवेदनमा ४२ जना निवेदकहरुको हस्ताक्षर छ भने आयोजनाले तयार पारेको विकसित घडेरी प्लटहरु जग्गाधनीलाई फिर्ता गर्ने निर्णयमा ७७ जना जग्गाधनीको नाम उल्लेख गरिएको छ।
कसले कस्तो प्रतिक्रिया दिए?
तुलसीपुर नगर विकास समितिमा भएको जग्गा हिनामिनाको विषयमा डेलिन्युजराप्तीसंग संक्षिप्त कुराकानी गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले सरकारी विधालयलाई धाराशायी बनाएको विषयमा सत्यतथ्य जाँचबुझ गर्नु राम्रो कुरा भएको प्रतिक्रिया दिए ।
उनले २० वर्षअघिको आयोजनाका बारेमा भएको भ्रष्टाचार , अनियमितताका बारेमा आँफुलाई जानकारी नभएको बताए ।
मेयर खड्काले भने– ‘ यो उतिबेलाको कुरा हो । धेरै अघिको कुरा मलाई सबै जानकारी हुने कुरा भएन । सरकारी विधालयको जग्गा हिनामिना भयो कि भनेर तपाइँहरुले जुन चासो देखाउनु भएको छ , यो जायज छ। मलाई डिटेल जानकारी छैन् , म तपाइँहरुलाई आवश्यक पर्ने कागजात उपलब्ध गराउन सहयोग गर्छु ।’
यस्तै तुलसीपुर नगर विकास समितिका प्रमुख लिलाधर सिवाकोटीले बिधालयले भोगचलन गर्दै आएको जग्गा भएपनी लालपुर्जा नभएकाले जग्गा एकीकरण पछि स्कुलले चर्चेको जग्गा नगर विकास समितिको नाममा पुर्जा बन्न आएको बताए ।
उनले भने– ‘बिधालयले भोगचलन गर्दै आएको जग्गा हो। स्कुलको नाममा लालपुर्जा थिएन् , नगर विकासको नाममा पुर्जा बन्न आयो । स्कुललाई हामिले जग्गा दिन मिल्दैन त्यसका लागि क्याबिनेटको डिसिजन हुनुपर्छ।’
यस्तै दोघरे माध्यामिक विधालयका तत्कालीन प्रअ घनश्याम आचार्यले विधालयको जग्गा कसरी आयोजनाका नाममा गयो आँफुलाई थाहा नभएको बताए ।
उनले भने– ‘ यो हामीलाई केहिपनी थाहा छैन् । विधालयले आयोजनालाई जग्गा उपलब्ध गराएको कुनै निर्णय , माइन्युट केही छैन् । एकैपटक विधालयको जग्गा उच्च अदालतको नाममा गयो भन्ने सुनेका छौँ ।’
यता दोघरे माध्यामिक विधालयका हालकि प्रधानाध्यापक सुनिता यादवले आँफुलाई पुराना प्रअ , विव्यसले विधालयको जग्गा सम्बन्धि कुनैपनी डकुमेन्ट नबुझाएको बताइन् ।
उनले विधालयको नाममा जग्गा नरहेको तर नगर विकास समितिले विधालयलाई पातुखोला नजिक ९/१० कठ्ठा जग्गा उपलब्ध गराएको समेत बताइन् ।
प्रअ यादवले भनिन्– ‘अहिले स्कुल जहाँबाट सञ्चालन भएको छ त्यो जग्गा उच्च अदालतलाई नगर विकासले दिएको भन्ने सुनेको छु । नगर विकासले विधालयलाई भनेर यहाँभन्दा दक्षिण पातुखोला नजिक जग्गा छुट्याएको छ त्योपनी विधालयको नाममा दर्ता श्रेस्ता छैन् । प्रदेश र संघीय सरकारको बजेटबाट विधालय भवन निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने तर हालसम्म यो काम पनि सकिएको छैन् । विधालयको स्थिति लथालिङ्ग छ ।’
तुलसीपुर-९ का वडा अध्यक्ष घन्श्याम ढकालले नगर विकास समितिले वडाबाट सिफारिस नै नलिई विधालयको जग्गा उच्च अदालतलाई दिनु गैरकानुनी भएको बताए ।
उनले नगर विकास समितिको ल्याण्ड पुलिङ आयोजनाले दोघरे स्कुललाई धराशायी बनाएको समेत बताए ।
उनले भने – ‘यो वडा कार्यालयको जग्गा पनि नगर विकासको नाममा छ । नगर विकासले आयुर्वेद कार्यालय वा अन्य कुनै निकायलाई जग्गा हस्तान्तरण , नामसारी गरिदिएको छैन् । दोघरे स्कुललाई त झन् चौपट बनाएका छन् ।’
माध्यामिक बिधालय दोघरेको जग्गा हिनामिना काण्डमा तत्कालीन तुलसीपुर नगर विकास समितीको मिलेमतोमा भएको स्थानीयहरुले आरोप लगाएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.