विप्लवले भने ‘मन्त्रीले तलब नलिए के माटो खान्छन’ ?

डेली न्युजराप्ती       १ आश्विन २०८२ ११:४८ मा प्रकाशित     188 No Comments

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सुशिला कार्की नेतृत्वको सरकारका मन्त्रीहरुलाई तलब नलिए के माटो खान्छन ? भनी प्रश्न गर्नु भएको छ ।
कपिलवस्तुमा सोमवार सहिद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव विप्लव सीले मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा सुविधा नलिने घोषणा गरेको विषयमा टिप्पणी गर्दै तलब नलिए के माटो खान्छन ? भनी प्रश्न गर्नु भएको हो।
महासचिव विप्लवले भन्नु भयो , ‘मन्त्रीहरुले आज (सोमबार) भाषण गरेको सुनेँ– म चाहिँ तलब लिदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छ तेले ?त्यो भनेको त कतैबाट त्यसले कमाको छ नि त । यो घमण्ड हो के । यो त जनतामा भ्रम छर्ने कुरा हो ।’

उहाँले यस्ता अभिव्यक्ति दिने व्यक्तिले कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने दाबी गर्नु भयो । ‘त्यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ’ महासचिव विप्लवले भन्नु भयो ।
उहाँले यस्ता व्यक्तिहरुले जनतालाई भ्रम छर्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको बताउदै भन्नु भयो ‘हेर्नुस् धेरै कुराहरु छ के । जनतालाई भुलभुलैयामा पार्ने, उचाल्ने, पछार्ने, आफ्नो स्वार्थ सिद्ध गर्ने अनि देशलाई तल पार्दिने,’ ।
महासचिव विप्लवले यस्ता खेल नखेलेर जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्नुपर्नेमा जोड दिनु भयो । ‘हाम्रो देशलाई असल बाटोमा हिँडाएर सबै जनताले हाम्रो जीवनमा परिवर्तन आयो, राम्रो भयो भन्ने बनाउनेतिर सोच्नुपर्छ,’ उहाँले भन्नु भयो ।
विप्लवले नेताहरु जनतातिर नफर्किएको र कार्यकर्तालाई उत्पादनसँग नजोडेकोमा असन्तुष्टि जनाउनु भयो । उहाँले भन्नु भयो, ‘नेताहरु आफ्नो श्रम गर्नेतिर फर्केनन्, आफ्नो पार्टी र कार्यकर्तालाई उत्पादनतिर लगाएनन् । सजिलै पैसा खोज्दै हिँड्दाखेरि विदेशीको एजेन्ट भएका छन् ।’

महासचिव विप्लवले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुलाई ‘राम्रो काम’ गर्न शुभकामना दिनु भयो । ‘सुशीलाजीलाई हाम्रो यो पनि शुभकामना छ, राम्रो गर्नुस् न । आइहाल्नुभयो तपाईंले गर्नुस् न, अरु मन्त्रीहरुले पनि राम्रो गर्नुस्,’ उहाँले भन्नु भयो , ‘तर यसको मतलव अर्कोको टाउकोमा दोष थोपरेर आफूलाई सही देखाउने कुरातिर होइन । राम्रो गर्ने तिरबाट सोच्नुपर्छ ।’
महासचिव विप्लवले शहीद परिवार देवीमाया वि.क.लाई तीनकोठे घर हस्तान्तरण गर्नु भएको थियो । देवीमायाले जनयुद्ध युद्धमा आफ्ना दुई छोरा राजु र शंकर गुमाउनु भएको थियो । उहाँका लागि नेकपा कपिलवस्तुले घर निर्माण गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार