दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !

डेली न्युजराप्ती       १२ जेष्ठ २०८० १८:५५ मा प्रकाशित     2420 No Comments

तुलसीपुर – धर्मेन्द्र बास्तोला (कञ्चन)ले नेतृत्व गरेको तत्कालीन नेकपा (बहुमत)ले मच्चाएको चन्दा आतंकको पत्र सार्वजनिक भएको छ । विप्लव नेतृत्वको नेकपाबाट अलग भइ बनेको तत्कालीन नेकपा (बहुमत)ले दाङमा उधोगी, व्यापारी, व्यवसायी लगाएतका विभिन्न क्षेत्रका पेशा व्यवसायीलाई आतंकित बनाउदै चन्दा असुली गरेको पत्र मोटिभेट न्यूजलाई प्राप्त भएको छ ।

दाङका व्यवसायीलाई आर्थिक सहयोग सम्बन्धको पत्र लेख्दै १० लाख माग गरिएको छ । ‘तपाईंको क्षमताले पार्टीलाई १० लाख सहयोग गर्नुहुनेछ भन्ने आशा राखेका छौँ । पत्र प्राप्त गरेको मितिले उल्लेखित ९८२६५००९६१ सम्पर्क नम्बरमा जानकारी गराइ सहयोग उपलब्ध गराउनुहुनेछ भन्ने आशा छ ।’, धम्किसहितको पत्रमा लेखिएको छ, ‘अन्यथा यो पत्रको वेवास्ता गरि गाउँघर, छरछिमेकी आफन्तलाई जानकारी गराए र प्रहरी प्रशासन प्रयोग गरि परिचालित कमरेड तथा पार्टीलाई क्षतिपुर्याउने कुचेस्टा गरे तपार्इंको सहयोगको आशा नगरी पार्टी निर्णय अन्तर्गत कारवाही प्रक्रिया थालिने छ । सबै तपार्इंको पारिवारिक विवरण हामिसँग रहेकाले समबन्धित व्यक्तिलाई गिरफ्तार अपहरण गरि निर्मम यातना दिने चेतावनी दिइन्छ ।’

धम्किपूर्ण शैलिको पत्रमा अगाडि लेखिएको छ, ‘हामिले तपाईको हरेक दिनको क्रियाकलापको निगरानी गरिरहेका हुनेछौं । तपाईंले गलत कदम लिएको हामीलाई जानकारी भएमा अप्रीय घटना हुने र त्यसको जवाफदेही तथा क्षेतीको जिम्मेवार स्वयम् आफै हुने जानकारीसहित चेतावनी दिन चाहान्छौं ।’

नेकपा (बहुमत)को आर्थिक सहयोग सम्बन्धको उक्त पत्र कुन मातहतको कमिटिले जारी गरेको हो त्यो उल्लेख गरिएको छैन । नेकपा (बहुमत) हाल अस्तित्वमा छैन । धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको बहुमत पार्टी र मोहन बैध (किरण)ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी)विच गत बैशाख १८ गते पार्टी एकता भइसकेका छन् । पार्टी एकतापछि पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहेको छ ।

धर्मेन्द्र बास्तोला र शुदर्शनले विप्लव नेतृत्वको नेकपावाट अलग भइ २०७९ बैशाख २३ गते चितवनमा बिशेष राष्ट्रिय भेलाको आयोजना गरि नेकपा (बहुमत) को नयाँ पार्टी पुनर्गठन गरेका थिए । सो पार्टीले २०७९ बैशाख २६ गते काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टी पुनर्गठन गरेको सार्वजनिक गरेका थिए ।

विप्लवसंग संगै रहदा नेकपाको १२औ केन्द्रीय समितिको बैठकले स्थानीय निर्वाचनलाइ पार्टी दर्ता नगरी स्वतन्त्र ढंगले देशभक्त, जनवादी, एमसीसी बिरोधी उम्मेदवारलाई चुनावमा उठाउने र सहयोग गर्ने नीतिको विरुद्ध धर्मेन्द्र – शुदर्शन रहेका थिए । नेकपाले चुनावमा भाग लिएपछि विप्लवलाई संसदवादीको आरोप लगाउदै उनीहरुले नयाँ पार्टी नेकपा (बहुमत) पुनर्गठन गरेका हुन् ।

यो समाचार बनाउदा आर्थिक सहयोग समबन्धमा उल्लेख भएको धम्किपुर्ण अभिव्यक्ती र व्यवसायीको सुरक्षालाई मध्यनजर गर्दै उहाँको पहिचान खुल्ने विवरण र पत्रको पत्र संख्या, चलानी नं. र मिति लगाएतका विषयवस्तुलाइ उल्लेख गरेका छैनौं ।

नेकपा बहुमतका तत्कालिन संयोजक तिलक पुन उक्त पत्र आफ्नो नभएको बताए । ‘हामीलाई अरु एक दुई ठाउँबाट पनि यस्तै खालको गुनासो आएको छ ।’, टेलिफोन संबादमा उनले भने, ‘हाम्रो पार्टीलाई बदनाम गर्न कसैले नक्कली पत्र बनाएको हुनसक्छ । केन्द्रीय नीति अनुसार हामीले पत्र पठाउने हो । हामीले पठाएको पत्रमा रकम खुलाएको हुँदैन । कसैले प्रायोजित रुपमा बनाएको पत्र हुनसक्छ ।’

मोटिभेटन्युजबाट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार