४ कात्तिक, काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो ।
समितिका अनुसार साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने छ ।
दशैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट आशीर्वाद लिने गर्छन् ।
रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीसमेत दशैं मनाउन आफ्नो थातथलो फर्कने भएकाले यस पर्वले पारिवारिक पुनर्मिलनको अवसर प्रदान गर्छ ।
नेपालमा राष्ट्रिय चाडका रूपमा मनाइने बडादशैंको मुख्य दिन मात्र टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.