‘जनतामा असन्तुष्टि भएको कुरा साँचो हो तर विकल्प राजतन्त्र वा यथास्थिति नभई समाजवाद हो’

डेली न्युजराप्ती       ६ बैशाख २०८२ २१:५४ मा प्रकाशित     261 No Comments

हेमन्तप्रकाश वली ।
बैशाख ५,दाङ ।
दाङमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिगामी षडयन्त्रको विरुद्धमा बिरोध प्रदर्शनसहित कोणसभाहरु सम्पन्न गरेको छ ।
शुक्रबार नेकपाले दाङका स्थानीय पालिकाहरुमा पालिका समितिको आयोजनामा बिरोध प्रदर्शन गरेको हो।

प्रतिगामी षड्यन्त्रका विरुद्ध तुलसीपुरको बिजौरीमा प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य रुद्र सीले जनतामा असन्तुष्टि भएको कुरा साँचो भएको बताए ।

उनले भने– ‘अहिले नेपाली जनतामा व्यापक असन्तुष्टि भएको कुरा साँचो हो । तर असन्तुष्टिको कारण अहिलेको दलाल पुजीवादी व्यवस्था हो । जनताको असन्तुष्टिलाई प्रतिगामीहरुले षड्यन्त्रपुर्ण तरिकाले पछाडी फर्काएर पुरानै सामन्तवादी व्यवस्था लाद्न खोजेका छन् । प्रतिगामीहरुको यो सपना पूरा हुनेछैन् । बहुसंख्यक नेपाली जनताले समाजवाद चाहेका छन् । अहिलेको पुजीवादी गणतन्त्रले जनताको आकांक्षा र भावनाको नेतृत्व गर्न नसकेको हो । यो गणतन्त्रलाई समाजवादी गणतन्त्रमा बद्लनुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले अहिलेको सत्ता संकटको निकास नेपाली बिशेषताको समाजवाद भनेको छ । जनताले बुझ्नुपर्ने कुरा राजतन्त्र , संसदीय व्यवस्था संकटको निकास होइन्। अब जनताले समाजवादी आन्दोलनको बेगमा आँफुलाई जोड्नुपर्ने आवश्यकता बोध गर्नुपर्ने हुन्छ ।’

यस्तै नेता रुद्र सीले प्रतिगामी तत्वहरुको षड्यन्त्र कुनैपनी हालतमा सफल नहुने भन्दै जनताका विरुद्ध गतिविधि नगर्न चेतावनी दिए ।

उनले जनताले नेकपाको राजनीतिक प्रस्ताव नेपाली विशेषताको समाजवादलाई अनुमोदन गरिसकेकाले अब प्रतिगामी एवम पश्चगामी चलखेलको कुनै तुक नरहेको समेत स्पष्ट पारेका हुन् ।

नेकपाले प्रतिगामी षड्यन्त्र विरुद्ध देशव्यापी संघर्षका कार्यक्रमहरु चलाइरहेको छ जसको प्रभाव दाङमा पनि परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार