तुलसीपुर । दाङमा सूचना तथा संचारमन्त्री रेखा शर्मालाई स्थानीयले घेराबन्दीमा राखेका छन् । घोराही उपमहानगरपालिका १० नारायणपुर स्थित व्यापारीक मेला उद्घाटन गर्न जाँदै गर्दा मन्त्री शर्मालाई स्थानीयले बाटोमै घेराबन्दी गरेका थिए ।
उनीहरुले मन्त्री शर्माले चुनावमा गरेको प्रतिवद्धता अनुसार फोरलेन सडकको काममा चाँसो नदिएको भन्दै मन्त्री रेखा शर्मालाई घेराबन्दी गरेर जनताको आवाज नसुन्ने मन्त्री चाहिदैन भन्दै नाराबाजी समेत गरेका थिए ।
घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का असारपछि तोडिन्छ : मन्त्री शर्मा
सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताएकी छन् । आफ्नो निर्वाचनमा क्षेत्र दाङ आएकी शर्माले बिहीबार बिहान पत्रकार भेटघाटमा बोल्दै चार वर्षदेखि अलपत्र घोराही तुलसीपुरको चारलेन सडकको ठेक्का तोड्न प्राविधिक कठिनाइ भएकाले असारपछि तोड्ने बताएकी हुन् ।
‘सम्भवतः आउने बजेटपछि ठेक्का तोड्छौं’ उनले भनिन्, ‘त्यसपछि नयाँ ठेक्का प्रक्रिया अघि बढाउँछौं ।’ उनले नयाँ प्रक्रियामा जाँदा केही समय लाग्ने भएकाले नेपाल सरकारबाटै बजेट छुट्टाएर सडक मर्मत सम्भार अघि बढाउने बताइन् । यो सडकमा भारतीय एक्जिम बैंकको लगानी छ । चार वर्षदेखि अलपत्र घोराही तुलसीपुर सडकबारे यहाँका जनप्रतिनिधिहरुले चासो नदेखाएको भन्दै चर्को आलोचना भइरहेको छ । केही समयअघि सडक संघर्ष समितिले सांसदलाई जिल्ला प्रवेश निषेधको ब्यानर टाँगेर विरोध गरेका थिए ।
मन्त्री शर्माले चुनाव जितेर गएदेखि आफू हालको ठेक्का कसरी तोड्ने र काम अघि बढाउने भन्नेमा केन्द्रित भएको बताइन् । ‘चार लेन सडक यहाँ सबैको टाउको दुखाइ र चासोको विषय बनेको छ। स्वयं मैले पनि थुप्रै आलोचना खेपिरहेकी छु’ उनले भनिन्, ‘निर्वाचन जितेर गएदेखि नै मेरो प्रयास कसरी ठेक्का तोड्ने र काम अघि बढाउने भन्नेमै केन्द्रित छ ।’ उनले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासँग र अर्थमन्त्री प्रकाश शरण महतसँग समेत छलफल गरिरहेको पनि जानकारी दिइन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.