कांग्रेस-माओवादी गठबन्धन किन टिक्न सकेन? गठबन्धन फेरबदलको बिसयमा विप्लवले के भने?

डेली न्युजराप्ती       १४ चैत्र २०८० २२:२६ मा प्रकाशित     85 No Comments

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले जनयुद्धबारे नेपाली काङ्ग्रेसले महासमिति बैठकमा गरेको गलत विश्लेषणको कारणले नै सरकारी गठबन्धनमा फेरबदल हुने स्थिति आएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौँको बुद्दनगरस्थित नेकपा कार्यालयमा उपलब्ध केन्द्रिय सदस्यहरुसङ्ग समसामयिक बिषयमा कुरा गर्दै संयोजक विप्लवले यस्तो टिप्पणी गरेका हुन् ।

जनयुद्धका कारण नै देशमा गणतन्त्र, समावेशीकरण, संघीयता, धर्मनिरपेक्षता जस्ता परिवर्तन आएको भएपनि एकथरी मानिसहरु जनयुद्धका उपलब्धिहरुलाई भोग गर्ने तर जनयुद्धलाई अपराधीकरण गर्न लागेको भन्दै समाजवादी मोर्चा नेपालका संयोजक विप्लवले आफुहरु यो प्रवृतिविरुद्ध संघर्ष गरिरहेको बताए ।

“केहि समय अघि सम्पन्न काङ्ग्रेस महासमिति बैठकमा लिखित रुपमै जनयुद्धलाई अपराधीकरण गर्नेगरी संस्थागत प्रस्ताव पेश गरियो, यसले सरकारको गठबन्धन फेरबदल हुने परिस्थिति बनाइदियो”-संयोजक विप्लवले भने,- “यद्यपि गठबन्धन परिवर्तन हुनुमा अर्थमन्त्रीको भुमिका लगायत अरु कारणहरु पनि होलान् तर काङ्ग्रेस जस्तो पार्टीले जनयुद्धलाई ध्वङ्सात्मक ढंगले व्याख्या गर्ने कुरा गम्भीर बिषय  र उल्टो तरिका हो ।”

केन्द्रिय सदस्यहरुसङ्गको कुराकानीको क्रममा उनले नेकपा एमाले र  नेकपा मशाललाई पनि समाजवादी मोर्चामा सामेल गराउन आफुले प्रयास गरिरहेको र मोर्चाको निर्माणले इमानदार देशभक्त, लोकतान्त्रिक शक्ति, वामपन्थी र कम्युनिस्ट कार्यकर्तामा आशाको सञ्चार गराएको बताए ।

नेपालमा अमेरिकी साम्राज्यवाद कम्युनिस्ट आन्दोलन समाप्त गर्ने योजनासहित आएकोले यसबारे सच्चा कम्युनिस्टहरु सचेततापूर्वक अगाडि नजाने हो भने राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र समाजवादी आन्दोलन खतरामा पर्नसक्ने खतरा रहेको समेत संयोजक विप्लवको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार