हेमन्त प्रकाश वली ।
जेठ १४ , दाङ । विप्लव सी नेतृत्वको नेकपा निकट अखिल (समाजवादी)ले लुम्बिनी प्रदेशमा शिक्षालय सुधार अभियान सुरु गरेको छ ।
संगठनले सोमबार प्रदेश अन्तर्गतका सबै जिल्लामा एकैसाथ शिक्षालय सुधार , संगठन सुदृढीकरण एवम विस्तार अभियान २०८१ को उद्घाटन गरेको हो ।
अखिल (समाजवादी)ले लुम्बिनी प्रदेशका नवलपरासी , रुपन्देही , कपिलबस्तु , पाल्पा , अर्घाखाँची , गुल्मी , रुकुम पुर्व , रोल्पा , प्युठान , दाङ , बाँके र बर्दियामा संगठनको जिल्ला समितीको आयोजनामा अभियानको उद्घाटन गरेको जनाएको छ ।
शिक्षालय सुधार अभियान अन्तर्गत संगठनले प्रत्येक जिल्लाका सामुदायिक एवम सरकारी क्याम्पसहरुमा बृक्षारोपण , सरसफाइ , बिद्यार्थीहरुसंग शैक्षिक सवालका बिषयमा अन्तरक्रियाहरु मार्फत अभियानको सुरु गरिएको संगठनका प्रदेश इन्चार्ज मदन सीले जानकारी दिनुभएको छ ।
यस्तै अखिल (समाजवादी) दाङले जिल्लाको पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा सरसफाइ गरि अभियान सुरु गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा सरसफाइ मार्फत सुरु गरिएको शिक्षालय सुधार , संगठन सुदृढीकरण एवम विस्तार अभियानलाई सम्बोधन गर्दै अखिल (समाजवादी) लुम्बिनी प्रदेश इन्चार्ज मदन सीले नेपालका शिक्षालयहरु व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएको थियो ।
नेता मदनले भन्नुभयो – ‘ यहाँका शिक्षालयहरु बेरोजगार उत्पादन गर्ने कारखानामा बदलिएका छन् । यी बेरोजगारका कारखाना मात्रै होइन पछिल्लो समय वातावरणका हिसाबले पनि स्वच्छ छैनन् । यतिसम्म कि यहाँ मदिराजन्य बस्तुका बोतल , सुर्तीजन्य बस्तुका प्याकेटहरु छ्यापछ्याप्ती भेटिएका छन् , यो अत्यन्त दुखद बिषय हो । हामी यो फोहोर डंगुर सफा गर्ने उद्देश्यले यो अभियान सुरु गरेका छौँ ।’
हामी नेपालका बिद्यार्थीहरुले यहीँ देशको माटोमा रोजगार गर्न पाउनुपर्छ भनिरहेका छौँ , उहाँले थप्नुभयो ,‘ यो शैक्षिक पद्धति र प्रणाली दुबै ठिक छैनन् । यहाँको शिक्षा श्रमसंग जोडिएको छैन । मानवीय संसाधन र प्राकृतिक स्रोत साधनलाई मिलाएर अघि बढ्नुपर्ने ठाउँमा अहिलेको राज्यव्यवस्थाले अवैज्ञानिक शिक्षा दिएर श्रमिक जनताका छोराछोरीलाई बिदेश जान बाध्य पारेको छ । यसको विकल्पमा हाम्रो संगठन नेपाली माटो सुहाउँदो समाजवादी शिक्षा प्रणालीको कुरा उठाइरहेका छौँ ।’
नेता मदनले समाजवादी शिक्षा प्राप्तीका लागि जुझारु युवाबिधार्थीहरुलाइ संगठनको झण्डामुनी गोलबन्द हुन समेत अपिल गर्नुभएको थियो ।
शिक्षालय सुधार , संगठन सुदृढीकरण एवम विस्तार अभियान लुम्बिनी प्रदेशमा ४ महिनासम्म चलाइने संगठनले जनाएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.