३ पुस। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने छ ।
यस खेललाई हाइ भोल्टेज भिडन्तका रूपमा पनि लिन सकिन्छ । शीर्ष दुईमा रहेर लिग सकाएकाले दुवै टोलीलाई हाइली क्यापेबल टिमका रूपमा लिन सकिन्छ। सुदूरको सबै पक्ष सन्तुलित देखिँदा सुरूवाती चार खेलपछि लय गुमाएको भएपनि जनकपुरको टिम बलियो नै देखिएको छ ।
सुदूरपश्चिम लिग चरणमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ खेल्दै छ भने जनकपुर ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्दै छ ।
पहिलो क्वालिफायर खेलमा विजयी हुने टोली सिधै फाइनलमा स्थान सुरक्षित गर्ने छ भने दुई दिनको ग्याप समेत प्राप्त गर्ने छ । यस खेलमा पराजित हुने टोलीका लागि भने अर्को मौका हुनेछ । इलिमिनेटरको विजेतासँग खेलेर हराएमा फाइनल पुग्ने अर्को विकल्प रहन्छ ।
यी दुई टोलीबीच लिग चरणमा भएको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको थियो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरले ५१ रनमा अलआउट गरेको थियो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएपछि सुदूरले २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएको थियो । सुदूरका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाएका थिए भने अर्का ओपनर सेफ जैबले २१ रन बनाएका थिए ।
५५ रन जोड्दासम्म कुनै विकेट नगुमाएको सुदूरले त्यसपछि ६८ रन जोड्दा ९ विकेट गुमाएको थियो । सुदूरलाई रोक्न किशोर महतोले ४ विकेट लिएका थिए भने शेर मल्ल र अरनिको यादवले २-२ विकेट लिएका थिए । हर्श थाकरले १ विकेट लिए ।
जवाफमा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा अलआउट भएको थियो । यो एनपीएलकै सबैभन्दा कम योगफल हो । सुदूरका हर्मीत सिंह, दिपेन्द्रसिंह ऐरी र इशान पाण्डेले २-२ विकेट हात पारेका थिए भने सेफ जैब, नरेन साउद र स्कट कुग्लेइनले १-१ विकेट लिएका थिए । जनकपुरका जोसुआ ट्रोम्पले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन नै बनाएनन्।
त्यही दुई टोलीबीचमा अब फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.