प्रचण्ड नेतृत्वको नेकपा विभाजनतिर:खनाल-गौतम असन्तुष्ट , १२ केन्द्रीय सदस्यले दिए राजिनामा

डेली न्युजराप्ती       ७ माघ २०८२ ०४:४६ मा प्रकाशित     424 No Comments

दाङ ।पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी निर्वाचनको मुखैमा विभाजनको डिलमा पुगेको छ ।

पार्टी एकताका सन्देश सभाहरु सकिन नपाउदै पार्टी विभाजनको गम्भीर डिलमा पुगेको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी छनौट लगायका प्रक्रियामा प्रचण्डले आफ्नो गुटबाट मात्र नेताहरु राखेको भन्दै एकतामा आएका नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन ।

एकतामा आएका नेताहरु झलनाथ खनाल, बामदेव गौतम र कर्णजीत सुशिल बुढाले असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

सोमवार मात्र बामदेव गौतमको अभियान टिमबाट एकतामा आएका १२ जना केन्द्रीय सदस्यहरुले नेकपामा नरहने भन्दै सामुहिक राजीनामा दिएका छन ।

उनीहरूले पार्टी संयोजक प्रचण्डलाई सम्बोधन गर्दै सार्वजनीक गरेको राजीनामा पत्रमा राष्ट्रियसभा, समानुपातिक र प्रत्यक्षतर्फमा उम्मेदवार छनोट गर्दा आफूहरुलाई अपमान गरिएको भन्दै असन्तुष्टि जनाएका हुन ।

‘छोटो समय भए पनि हजुरको पार्टी र हजुरको जम्बो केन्द्रीय समितिमा रहेर काम गर्न मौका दिनुभएकोमा धन्यवाद । हामी वामदेव गौतमको एकता राष्ट्रिय अभियानबाट यस पार्टीमा १२ जना केन्द्रीय सदस्य जोडिएका थियौँ । अभियानबाट आएका साथीहरूमध्ये राष्ट्रियसभा, समानुपातिक तथा प्रत्यक्षतर्फ १ जना पनि छनौट हुन नसकेकोले हामी सबै जना असक्षम भएको महसुस भएकाले नैतिकताको आधारमा यस पार्टीमा रहिरहनु उपयुक्त नभएकाले हामीले सामूहिक राजीनामा दिई स्वतन्त्र बस्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ । राजीनामा दिनेमा विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता लगायत १२ जना केन्द्रीय सदस्य रहेका छन ।

नेता गौतम समेत प्रत्यक्षतर्फको उम्मेदवार नपरेपछि तिव्र असन्तुष्टि हुनु भएको छ । उहाँलाई बर्दिया १ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाउने प्रचण्डको बचन अनुसार राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिन लगाइएको थियो ।

नेपाली कम्युनिस्ट पार्टीले बर्दिया १ बाट विष्णु प्रसाद थारु र बर्दिया २ बाट सुरेश पन्तलाई उम्मेदवार बनाएको छ । २०७४ सालमा बर्दिया १ बाट उम्मेदवार उठनु भएका गौतम पराजित भएपछि उहाँलाई राष्ट्रिय सभामा लगिएको भएको थियो । राष्ट्रिय सभा सदस्यमा उहाँको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।

यसले नेकपालाई विभाजनको चरणमा पुर्याएको गौतम निकट नेताहरुले भनेका छन । यस्तै नेकपाले पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनाललाई पनि कुनै स्थान नदिएपछि उहाँमा पनि असन्तुष्टि बढेको छ । माधव नेपालसंगको इगो र एमसीसीका विरोधी नेता भएकोले पनि उहाँलाई स्थान नदिएको नेताहरुले बताएका छन ।

यता हुम्लामा प्रत्यक्षतर्फको उम्मेदवारी पाउने आश्वासनमा प्रचण्डतिर एकतामा जानु भएका कर्णजीत बुढा सुशिलको होस नै उडेको छ । उहाँ विप्लव नेतृत्वको माओवादी छोडेर एकतामा जानु भएको थियो । अहिले उहाँलाई नेकपाले उम्मेदवारीको टिकट दिएको छैन । यसले सुशिललाई ‘भुईको टिप्न खोज्दा पोल्टाको पनि पोखिए’ जस्तै भएको छ ।

हुम्लामा नेकपाका नेता तथा पूर्व पत्रकार दिपेन्द्र रोकायालाई टिकट दिएपछि नेता सुशिल तिव्र असन्तुष्टि बन्नु भएको हो ।

यसले नेकपालाई चाडै विभाजनतिर लिने नेताहरुको दाबी छ । नेकपामा विचार, सिद्धान्त र लक्ष्य सहितको एकता नहुदा र पदिय स्वार्थमा उभिएर एकता हुदा यस्तो एकताले कुनै सार्थकता नपाउने धेरै राजनीतिज्ञहरुको बुझाई छ ।

jwalakhabar

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार