तुलसीपुर, १३ चैत ।
रुकुम पश्चिममा भाइको काजकिरिया सकेर घर फर्किएका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका–१९ दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले बिहीबार साँझ करिब साढे ७ बजेतिर २७ वर्षीया श्रीमती कमला वलीमाथि धारिलो हतियार प्रहार गरेका हुन्।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० सालघारीमा भाइको काजकिरिया सकेर बुधबार मात्रै घर आएका गोपालले एक दिन नबित्दै श्रीमतीको ज्यान लिएका हुन्। गम्भीर घाइते भएकी कमलालाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो। तर टाउको र अनुहारमा गहिरो चोट लागेका कारण चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दम्पतीबीच लामो समयदेखि पारिवारिक विवाद चल्दै आएको थियो। विवादकै कारण उनीहरूबीच अदालतमा मुद्दा समेत विचाराधीन रहेको पारिवारिक स्रोतले जनाएको छ।
सरकारी कर्मचारी रहेका गोपालको कार्यक्षेत्र जिल्ला बाहिर भएकाले उनी घरमा कमै बस्ने गर्थे। अदालतमा मुद्दा सुरु भएपछि उनी घर आउने क्रम झन् घटेको बताइएको छ।
मृतक दम्पतीका ९ वर्षीय छोरा र ६ वर्षीया छोरी रहेका छन्। परिवारमा यसअघि पनि अर्को पीडा थपिएको थियो—गोपालका एक भाइ एक वर्षअघि मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए र अझै पूर्ण रूपमा स्वस्थ हुन सकेका छैनन्।
घटनापछि प्रहरीले गोपाललाई नियन्त्रणमा लिएको जनाएको छ भने थप अनुसन्धान भइरहेको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.