प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विप्लव फायर, देशव्यापी मशाल जुलुस घोषणा

डेली न्युजराप्ती       १९ जेष्ठ २०८३ १४:५४ मा प्रकाशित     304 No Comments

दाङ, जेठ १८ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको कडा विरोध गर्दै देशव्यापी मशाल जुलुसको घोषणा गरेको छ।

पार्टीका प्रवक्ता प्रकाण्ड सी द्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री शाहले संसदमा दिएको “नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्तिलाई ‘घोर आपत्तिजनक, खेदजनक तथा राष्ट्रिय हितविपरीत’ भएको आरोप लगाइएको छ।

विज्ञप्तिमा नेपाल–भारतबीच लामो समयदेखि सीमा विवाद कायम रहेको उल्लेख गर्दै कालापानी, लिपुलेक, लिम्पियाधुरा, महेशपुर, सुस्ता तथा पशुपतिनगरलगायत नेपाली भूभागमा भारतीय पक्षबाट अतिक्रमण हुँदै आएको दाबी गरिएको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि चोट पुर्‍याएको जनाएको छ।
माओवादीले उक्त अभिव्यक्ति केवल प्रधानमन्त्रीको व्यक्तिगत धारणा नभई वर्तमान सरकारको राजनीतिक चरित्र झल्काउने विषय भएको आरोपसमेत लगाएको छ। पार्टीले यसबाट आम नेपाली जनता तथा राष्ट्रिय स्वाभिमानमा विश्वास गर्ने शक्तिहरू आक्रोशित बनेको दाबी गरेको छ।
प्रधानमन्त्रीको भनाइको प्रतिवादस्वरूप आज बेलुका ७ बजे देशव्यापी मशाल जुलुस आयोजना गरिने घोषणा गर्दै पार्टीले आफ्ना नेता–कार्यकर्ता तथा देशभक्त नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।
माओवादीले राष्ट्रियता र सीमासम्बन्धी विषयमा सरकार गम्भीर बन्नुपर्ने माग गर्दै विवादास्पद अभिव्यक्ति तत्काल सच्याउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार