मंगोलको अध्यक्षतामा नेपाल-कोरियाली समाजवाद अध्ययन-अनुसन्धान मञ्च गठन

डेली न्युजराप्ती       ३० चैत्र २०७८ ०७:४७ मा प्रकाशित     272 No Comments


काठमाडौं । काठमाडौंमा भएको एक कार्यक्रमका बीच नेपाल-कोरियाली समाजवाद अध्ययन- अनुसन्धान मञ्चको पुनर्गठन गरिएको छ । झण्डै ४ वर्षअघि गठन गरिएको सो मञ्च क्रियाशील नभएपछि यसलाई पुनर्गठन गरिएको हो ।

सुदर्शन मंगोलको अध्यक्षतामा पुनर्गठन गरिएको सो संगठनको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष डा.भगवानचन्द्र ज्ञावली, महासचिवमा नरेन्द्र विश्वकर्मा रहेका छन् ।

१५ सदस्यीय समिति रहेको सो समितिका अन्य सदस्यहरुमा राजेन्द्र रेग्मी, जीवन हमाल, नन्दलाल पोखरेल, चिन्तामणि घिमिरे, मोहन सारुमगर, प्रलाद न्यौपाने, कविता पुनमगर, बिपिन पोखरेल, रुपा बुढामगर, तारा सञ्ज्याल, ललितजंग बम र महेश अधिकारी रहेका छन् ।

कार्यक्रममा विप्लव नेकपाका स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलाले अतिथिको तर्फबाट बोल्दै साम्राज्यवाद विरुद्ध संघर्ष गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा अघि बढिरहेको उत्तर कोरियाको बारेमा अध्ययन र अनुसनधान गर्नका लागि गठन भएको यो संगठनले पश्चिमा मिडियाहरुले छरेको भ्रमलाई चिर्दै विश्वका जनतामा सत्य कुराको प्रचार गर्ने भूमिका खेल्नु पर्नेमा जोड दिए ।

उनले जनवादी गणतन्त्र कोरियामाथी अमेरिका लगायतका पश्चिमा देशहरुले गरेको दमनको विरोध गर्दै उत्तर कारियाली जनता र नेपाली जनताका बीचमा भाइचारा सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिए । यी दुई देशका बीचमा राजनीतिक र वैचारिक हिसावले आपसमा मद्दत गर्ने वातावरण मिलाउनु पर्नेमा बास्तोलाको जोड थियो ।

कार्यक्रममा उत्तर कोरियाली राजदूतावासका कन्सुलर किम योङ हुकले आफ्नो देशले जापानी साम्रज्यवादसित लडेर देशलाई मुक्त गराएको सन्दर्भ स्मरण गराए । उनले अमेरिकाले आफ्नो देशलाई प्रतिबन्ध लगाएर सिध्याउन खोज्दा पनि कोरियाली जनता आफ्नै तागतले अमेरिकासित लडेर साम्राज्यवादी दमनबाट मुक्त भएको बताए ।

कन्सुलर हुकले आफ्नो देश कसैको सहयोगमा नभई आफ्नै बलबुतामा विदेशी हस्तक्षपबाट मुक्त भएको बताए । उनले आफ्नो देश पश्चिमा मिडियाहरुले प्रचार गरेजस्तो नभई आफूहरु आत्मनिर्भर भइसकेको मात्रै होइन साम्राज्यवादी देशका विरुद्ध लड्न पनि सक्षम भएको दावी गरे ।

अर्का वक्ता अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले विदेशी हस्तक्षेपबाट देशलाई मुक्त गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उत्तर कोरियाबाट नेपालले सिक्नुपर्ने बताए । कार्यक्रममा उपाध्यक्ष डा.भगवानचन्द्र ज्ञावलीले मञ्चको तर्फबाट स्वागत मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा उनले आफूहरुले पनि जनगणतन्त्र कोरिया जस्तै शसक्त नेपाल बनाउन चाहेको धारणा राखे ।

कार्यक्रमको सञ्चालन मञ्चका महासचिव नरेन्द्र विकले गरेका थिए भने अध्यक्ष सुदर्शन मंगोलले उत्तर कोरियाको इतिहासको बारेमा जानकारी दिएका थिए । उनले आफ्नो अध्ययनका क्रममा प्रचारमा आए जस्तो उत्तर कोरियामा गरिवी र अन्याय भएको नपाएको बरु पश्चिमा देशहरुले विश्वभर समाजवादी सत्ताका बारेमा अनर्गल प्रचार गरिएको बताए ।

किम आफैले नाम सच्याउन लगाए :

सहभागीहरुले भरिएको हलमा अगाडी भित्तामा राखिएको कार्यक्रमको व्यानरमा लेखिएको भाषामा असहमति जनाउँदै कोरियाली दूतावासका कन्सुलर किम योङ हुकले ‘उत्तर’ शब्द हटाउन लगाउँदा सहभागीहरुले अचम्म मानिरहेका थिए । व्यानरमा ‘नेपाल-उत्तर कोरियाली समाजवाद अध्ययन-अनुसन्धान मञ्च’ लेखिएको थियो । यसैबीच कन्सुलर हुकले ‘उत्तर’ शब्दप्रति असहमति जनाएपछि सो शब्दलाई सेतो कपडाले छोपेर संस्थाको नाम ‘नेपाल कोरियाली समाजवाद अध्ययन-अनुसन्धान मञ्च’ रहन गयो ।

आफ्नो देशको निर्माता तथा पूर्वराष्ट्रपति सुङलाई स्थापित गर्नुपर्छ भन्दै कन्सुलर हुकले किम इल सुङको ठूलो तस्विर पनि व्यानरसँगै राख्न लगाएका थिए ।

यस घटनाबाट उत्तर कोरियनहरु आफ्नो देशले नै पूरा कोरियाको प्रतिनिधित्व गरेको दावी गरिरहेका छन् भन्ने स्पष्ट हुन आउँछ । उत्तर कोरियाली नेता किम इल सुङको ११० औं जन्मदिनको अवसर पारेर आजको कार्यक्रमको आयोजना गरिएको हो । सुङकै नेतृत्वमा उत्तर कोरियाको गठन भएको हो ।

पश्चिमा देशहरुले कोरिया प्रायद्धीपमा रहेका २ कोरियालाई मिलाएर एउटै कोरिया बनाउने अभियान चलाइरहेका बेला उत्तर कोरियाका कन्सुलर हुकले आजको कार्यक्रमको व्यानरमा रहेको ‘उत्तर’ शब्द हटाउने कार्यले आफूहरु नै वास्तविक कोरियाली भएको दावी गरेका हुन् कि भन्ने अनुमानलाई बल पुर्याएको छ ।

पश्चिमा देशहरुको लगानीमा चलिरहेका मिडियाहरुले उत्तर कोरियामा निरंकुश शासन चलेको छ, भोकमरीले मान्छेहरु मरिरहेका छन् जस्ता प्रचार गरिरहेका बेला त्यस्तो खाले प्रचारको उनीहरुले खण्डन गर्दै आएका छन् । आफ्नो देशमा भोकमरी नभएको, सबै जनता आत्मनिर्भर रहेको र शिक्षा, स्वास्थ्य, रोजगारी, इन्टरनेट जस्ता अतिआवश्यक वस्तुहरु आफ्नै देशले पूर्ती गरिरहेको उनीहरुको भनाई रहेको छ ।

विगत ३७ वर्षदेखि राष्ट्र संघ मार्फत् अमेरिकाले लगाएको प्रतिबन्धको प्रतिरोध गर्दै आएको उत्तर कोरियाले ठूलठूला आणविक हतियार पनि आविष्कार र परिक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार