तुलसीपुर, २८ भदौ । हुम्ला र मुस्ताङबाहेक देशका ७५ जिल्लामा डेंगीको संक्रमण पुष्टि भएको छ । ९ हजार ८ सय ३५ जनामा डेंगी संक्रमण भएको छ भने दाङसहित देशभर ७ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दाङ लगायत देशका १० जिल्ला डेंगीको उच्च जोखिममा रहेको स्वास्थ्यमन्त्रालयले जनाएको हो ।
स्वास्थ्य कार्यालय दाङले साउन १ गतेदेखि भदौ २७ सम्मको तथ्याङक अनुसार दाङमा ६ सय ३५ जनामा डेंगी संक्रमण भएको जनाएको छ । घोराही उपमहानगरपालिकामा मात्रै ६ सय ४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । तुलसीपुर उपमनपामा १८, लमही नपामा ९, राप्ती गाउँपालिकामा ३ र गढवा गाउँपालिकामा १ जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगी फोकल पर्सन देवीलाल डाँगीले जानकारी दिनुभयो । हिजोमात्रै दाङमा डेंगीका कारण घोराही उपमनपा–१४ की ४० वर्षीया मायाकुमारी विसीको मृत्यु भएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
कार्यालयले डेंगीबाट जोगिन गाउँ, शहरक्षेत्रमा सचेतना अभियान थालिएको जनाएको छ । सचेतनाका कार्यक्रम, लामखुट्टेका अण्डा, लार्भा र बासस्थान नष्ट गर्ने काम भइरहेको फोकल पर्सन डाँगीले जानकारी दिनुभयो । दाङमा अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लमही अस्पतालमा डेंगीका विरामीको उपचार भइरहेको छ ।।
यसैविच दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डेंगु रोगको संक्रमण फैलिनबाट रोक्नका लागि जिल्लाका १० वटै पालिकाहरुलाई निर्देशन दिएका छन् । जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु र पालिका प्रमुखहरुलाई डेंगु रोग नियन्त्रणका लागि सावधान अपनाउन निर्देशन दिएका हुन् । प्रजिअ रेग्मीका अनुसार संक्रमित लामखुट्टे जताकतै जानसक्ने भएकोले सबैलाई सर्तकता अपनाउनुका साथै संक्रमण फैलिएका स्थानमा लामखुट्टेको बास स्थान खोज्ने र नष्ट गर्ने कार्यक्रमहरु संचालन गरिएको छ ।
त्यस्तै लामखुट्टेको बास स्थान वरिपरी बिषादी छर्किने, घरको वरीपरी सरसफाई, जनचेतना लगायतका कार्यहरु गर्नका लागि संचार माध्यमबाट सूचना प्रवाह गर्ने कार्य भैरहेको प्रजिअ रेग्मीले बताए ।।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.