कामको ज्याला माग्दा पोलमा बाँधेर कामदारलाई कुट्ने ठेकेदार पक्राउ

डेली न्युजराप्ती       २९ चैत्र २०७९ १९:४० मा प्रकाशित     124 No Comments

काठमाण्डौ – महोत्तरीको लोहारपट्टी नगरपालिका– ६ का २१ वर्षीय मोबारक नदाफलाई पोलमा बाँधेर मोसो दल्ने ठेकेदार आनन्द मिश्रलाई प्रहरीले पक्राउ गरेको छ ।

काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार भएको हो ।
स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण भनिने आन्नद भूसन मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी नायब उपरिक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर मिश्रले कुटपिट गर्दै चोकको विद्युत पोलमा पाता कसेर, मोसो दलेर केस मुण्डन समेत गरिदिएका छन् । प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरिसकेको छ ।
उनीमाथि अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको महोत्तरीका प्रहरी नायब उपरिक्षक गिरीले बताए । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको छ । पीडित परिवारका अनुसार रमजान मनाउन नदाफले निर्माण व्यवसायी कृष्ण भनिने आन्नद भूसन मिश्रसँग काम गरेको ज्याला माग गरेका थिए । पटक–पटक ज्याला माग्दा पनि नदिएपछि उनले काम गर्दैगर्दाको औजार घर लगेका थिए । औजार लिएर आउनू पैसा दिन्छु भनेर शिव आश्रममा बोलाएर ठेकेदार मिश्रले नदाफलाई चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय व्यवहार गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कृष्ण भनिने आन्नद भूसन मिश्र विरूद्ध किटानी जाहेरी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार