माघ २३,तुलसीपुर ।
हेमन्तप्रकाश वली ।
नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीले ‘जनताको सुखदुःखको साथी,घरघरमा नेकपा’ अभियान चलाउने निर्णय गरेको छ ।
बुधबार पार्टीको तुलसीपुरमा बसेको उपमहानगर समितिको प्रथम बैठकले उक्त निर्णय गरेको हो ।
तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी रुद्र सीको अध्यक्षता एवम सञ्चालनमा बसेको चौथो आवधिक योजनाको प्रथम बैठकले नेपाली बिशेषताको समाजवादका लागि अभियान चलाइने पार्टीले जनाएको छ ।
बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले पार्टीले संसदीय चुनावलाई हेर्ने दृष्टिकोण बदलेको बताए ।
उनले भने – ‘संसदीय चुनावलाई प्रयोग र बहिस्कारको अतिबाट हेर्ने चरित्रलाई पार्टीले बदलेको छ । हामिले ०८४ को चुनाव प्रयोग गर्छौँ भन्दा संसदवादी भएको आरोप लगाइरहेका छन् त्यो कुरा सत्य होइन् । चुनावलाई पार्टीले संघर्षको मोर्चा बनाएर समाजवाद प्राप्तिको लागि समग्र मोर्चा बनाएर लडने सोचेको छ । हामी संसदवादी होइनौं , हामी संसदवादी हुनै सक्दैनौं । हामी जुझारु क्रान्तिकारी योद्धा हौं , यो मुलुकमा बलिदानको मूल्य चुकाएर भएपनि समाजवाद ल्याएरै छोड्छौँ । चुनावलाई एकीकृत जनक्रान्तिको मोर्चा बनाएर लड्ने हो ।’
‘नेकपा नेपालको वैकल्पिक पार्टी हो । धेरै मान्छेहरुले आ-आफ्नो पार्टी विकल्प भएको ठोकुवा गरिरहेका छन् , ती कुरा हावादारी गफ हुन् । नेपालको वैकल्पिक पार्टी हाम्रो पार्टी हो , नेकपा हो । यो पार्टीसंग मात्रै नेपाललाई वास्तविक शान्ती,समृद्ध र स्वाधीन बनाउने विकल्प छ । यो धान फलाउने पार्टी हो । हामिले भन्न खोजेको हाम्रो पार्टीसंग संसदीय व्यवस्थाको विकल्प छ त्यो हो नेपाली बिशेषताको समाजवाद हो । हामिले नयाँ आर्थिक नीति बनाएका छौं । उत्पादन , नयाँ संस्कृति लगाएत सबै संरचनाको विकल्प हामीसंग छ । हामी नेपाललाई साँच्चिकै बद्ल्न चाहेका छौँ । एकपटक जनतालाई खुल्ला अपिल गर्दै जानुपर्छ त्यसका लागि समाजवादको प्रस्तावमा व्यापक रुपमा जनतामा पुग्नुपर्दछ । अब नेताकार्यकर्ताको सामान्य भुमिकाले मात्रै पुग्दैन यसलाई जुझारु बनाउनुपर्दछ । हामि जुझारु ढंगले संगठनलाई सुदृढ गर्दै गयौं भने नेपालको दलाल पुजीवादी सत्तालाई ढाल्न सकिन्छ ,’ उनले भने।
नेता प्रदिपले पार्टीको आत्मनिर्भर उत्पादन नितिलाई अझ व्यापक बनाउदै जानुपर्ने समेत बताए ।
उनले मुलुकको दलाल पुजीवादी सत्ताले नागरिकलाई दिनानुदिन चरम सास्ती दिइरहेकाले यो सत्ताको चरित्रबारे जनतालाई प्रशिक्षित गर्दै जानुपर्ने सुझाब व्यक्त गरेका थिए ।
यस्तै बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले पार्टीका नेताकार्यकर्तालाई महत्वपूर्ण सल्लाह सुझाव दिँदै पार्टीका नेताकार्यकर्ताहरु चलायमान हुन आवश्यक रहेको बताएका थिए ।
बैठकमा पार्टीको चौथो आवधिक योजनाको समग्र कार्ययोजना बारेमा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सचिव तिलक सीले योजनागत प्रशिक्षण दिएका थिए ।
नेता तिलक सीले चौथो आवधिक योजनामा पार्टीलाई नयाँ परिस्थितिमा उभ्याउनुपर्ने जिम्मेवारी नेताकार्यकर्ताको काँधमा आएकाले संगठन निर्माणमा जुट्न निर्देशन दिए ।
उनले नेपालमा समाजवादको नेतृत्व नेकपाले गर्ने सुनिश्चित भइसकेको समेत बताएका हुन् ।
यस्तै नेकपा तुलसीपुर उपमहानगर कमिटीको चौथो आवधिक योजनाको प्रथम बैठकले पार्टी तुलसीपुर उपमहानगर समितिको इन्चार्जमा प्रदिप सी र सेक्रेटरीको जिम्मेवारी रुद्र सीलाई प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।
बैठकले जनतामाथी लुट मच्चाइरहेका मिटरव्याजी , लघुवित्त , चरम व्याज असुलीका विरुद्ध जनसंघर्ष गर्ने निर्णय गरेको सेक्रेटरी रुद्र सीले जानकारी दिएका छन् ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य जिवनी सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यहरु धर्ती सी , भुवन सी , प्रतिरोध सी लगाएतको आतिथ्यता रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.