जेलमा रेशम चौधरीसँग भेट

डेली न्युजराप्ती       २४ बैशाख २०८० १७:४६ मा प्रकाशित     129 No Comments

काठमाडौं— डिल्ली बजार जेलको भेटघाट कक्षमा म ठीक २ बजे पुगे । झरीका कारण चिसो थियो । रेशम चौधरी कालो ओभरकोटमा पसे, दह्रा हात मिलाउँदै सञ्चोबिसञ्चोका कुरा भए । उनले तुरुन्तै थपे—
“अन्यापूर्ण जेल हालियो कमरेड, यो कस्तो देश हो, सत्यतथ्य नै मानिदैन १” तर उनको अनुहारमा किञ्चित् निराशापन देखिएन ।
मैले कृष्ण सेन‘इच्छुक’को कविताको एक टुक्रा सुनाए
“पर्खाल भित्र होस्
अथवा त्यो पर्खाल बाहिर होस
के फरक पर्र्यो र?
मित्र सधैं छातिमा चाँदमारी थापेका जिन्दगी
जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ ।”
उनले हो हो भन्दै अनुहार रसिलो बनाए । उनीसँगै जेलको नाइके पनि आए । हातमा कितावको चाङ थियो । ढिला नगरी जेलमा लेखेका कितावहरुबारे बताउँदै मलाई दिए । मैले लिए र धन्यवाद सहित हात मिलाए साथै यो जेलमा म पंचायति व्यवस्थाको समय २०४५सालमा बसेको स्मरण गराए ।
“ए हो र” उनी अरु निकट भए ।
टिकापुर घटना किन र कसरी भएको थियो उनले फटाफट उठाए । यसरी प्रत्यक्ष भेट भएको थिएन तर परिचित जसरी कुरा भए । उनले थारु जातिको इतिहास, दुःख, संघर्ष, विद्रोहबारे सरर बताए । उनले जोसिदै भने “ के थारु मान्छे बन्न नपाउने होर कमरेड, हामीलाई सोझो भनेर सधै हेप्न मिल्छ, खै थारुले अधिकार पाएको, अधिकारको माग गर्दा अपराध हुन्छ कमरेड रु खै थारुवान रु कर्णालीले थारुहरुलाई कसरी समेट छ रु मलाई अहिले पनि १९किलोको नेल लगाएर अदालत लान्छन, दासलाई जस्तो १”उनका भनाइ र कैयौं विवरणले मलाई उद्देलित बनायो ।
“थारुहरुले थारुवान पाउनु पर्छ । उनको समाज, भाषा, संस्कृति, अर्थतन्त्र, सत्ता उनीहरुकै नेतृत्वमा संरक्षित र विकास हुन पाउनु पर्छ । अधिकारको लडाइ हरेक मानवको नैसर्गिक अधिकार हो । अत्याचार हुँदा ऊ जहा भए पनि लड्नै पर्छ । थारुहरुले मात्र होइन नेपालका हरेक जनजातिहरुले अधिकार पाउनु पर्छ ।” मैले उनलाई उत्साहित राख्ने पर्यत्न गरे ।

म कम्युनिष्ट, उनी थारुहट नेता, म वैज्ञानिक समाजवादी सत्ताका लागि लड्ने, उनी थारुहट प्रदेशका लागि लड्ने, म वर्ग, जातको अन्त्य गर्न लड्ने उनी जातीय पहिचानका लागि लड्ने, हामी सिङ्गै नेपाललाई समाजवादमा बदल्न लड्ने उनी थारुवान प्रदेशको अधिकारका लागि लड्ने, हामी नेपालमा श्रमिक वर्गीय सत्ता हुनु पर्छ भन्ने उनी थारुवानमा थारुको नेतृत्वदायी सत्ता हुनु पर्छ भनेर लड्ने, म दुई बर्षको प्रतिबन्ध खपेर निस्केको अनेकौं मुद्दा खेपिरहेको नेकपाको महासचिव, उनी टिकापुर प्रतिरोध संघर्षपछि फौजदारी अभियोगमा जेल भोगिरहेका थारु नेता, हामी चुनाव बहिस्कार गरेर जनताको समाजवादी सत्ता निर्माणमा लागेका उनी चुनाव बाटै संसद चुनिएका, यही सरकारमा मन्त्री बनाउन सफल जनता उन्मुक्ति पार्टीका नेता । यस्ता अनेकौं फरकका बाबजुद हामी दुई जना उत्तर र दक्षिण आमनेसामने भएर कुरा गरिरहेका थियौं । कोठामा केवल दुई जना मात्र । हाम्रो निकटता, हार्दिकता, भावना, जोस, उद्देश्यप्रतिको निष्ठा एकदमै नौलो र उच्च । मानिलिउ हामी एउटै संघर्षको मोर्चामा उभिएर अगाडिको यात्रा तयार गर्दैछौं ।

स्पष्टै छ हामी माओवादीले जनयुद्धपछि नेपाललाई श्रमिक वर्ग, जाति, समुदाय, लिङ्गको राज्य अर्थात नयाँ जनवादी—वैज्ञानिक समाजवादी राज्य सत्ता बनाउन चाहन्थ्यौं । तर हामीलाई रोकियो । संझौंताको इमान्दारीपूर्ण पालनाबाट होइन षडयन्त्रपूर्ण रुपले जनतालाई अधिकारबाट बञ्चित गरियो । त्यसमा थारु जाति पनि पर्यो । उनीहरुले थारुवान स्वायत्त प्रदेश पाउनु पर्दथ्यो तर पाएनन् । उनीहरुले नयाँ बन्ने सत्तामा आफ्नो भाषा, संस्कृति, अर्थतन्त्र, शासन प्रणाली पाउनु पर्दथ्यो पाएनन् । जनयुद्धले खडा गरेका जनसत्ता, जनमिलिसिया, जनअदालत, जमिन सारा खोसियो ।

त्यसबाट अरु वर्ग, जाति जस्तै थारुहरु पनि असन्तुष्ट भए । त्यसैको बिष्फोट टिकापुर विद्रोह थियो । हलाकि त्यो विद्रोह माओवादीको योजनामा थिएन तर सवैको समर्थन थियो । त्यहा आवेग, आगो पोेखियो । सबैले जानेकै कुरा हो विद्रोह कुनै फूलपाती बर्षाउने मेला होइन आगो ओकल्ने तेज हो । त्यसको मूल्य कति कुनै निश्चित हुँदैन । तर निकै पछि विद्रोहको दोष रेशम चौधरी लगायत थारु नेता एवं अगुवाहरुलाई लगाइयो । मुद्दा चलाइयो र जेल कोचियो । यसलाई कुनै पनि मानेमा न्यायीक मान्न सकिदैन ।

यसको अर्थ टिकापुर घटनामा प्रहरी एसपीसहित थुप्रै प्रहरी र नागरिकहरुको ज्यान गयो, ठीक भयो भन्ने होइन । विषय त राज्यसँग हो, प्रहरीसँग होइन । थारुहरुको विद्रोह राज्यका विरुद्ध थियो प्रहरीहरुका विरुद्ध थिएन । नत प्रहरीहरुले चलाउने दमन उनीहरुको चाहना हुन्छ । त्यो उनीहरुको जागिरको कर्तव्य भित्र पर्छ । तर राज्य अमुर्त हुँदैन । त्यो प्रहरी, सेना, अदालत, कर्मचारी, मन्त्री बाटै त बनेको हुन्छ । जव विद्रोह हुन्छ जता पनि बजारिन्छ । त्यसको जिम्मा जनताले होइन अन्याय थोपर्ने राज्यले लिनु पर्छ । समाधान पनि त्यसरीनै जिम्मेवारीपूर्ण ढंगले गर्नु पर्छ । जनविद्रोहको समाधान विद्रोहीलाई जेल कोचेर, याताना दिएर, गोली ठोकेर, झुण्डाएर हुँदैन । जनताको आवाज र अधिकार सम्बोधन गरेर मात्र हुन्छ ।

रेशम फूर्तिला रहेछन । उनी खेलाडी, गीतकार, सामाजिक अभियान्ता, लेखक पनि रहेछन् । आफैले सुनाए अमेरिका पढेको, २१ बर्षमा आदिवासी दिवसमा युएनमा भाग लिन पाएको, ३वटा एफएम चलाइको अनुभव । उनले जेल जीवनलाई पनि रचनात्मक बनाउन सफल भएको पाए । निकै खुसी पनि लाग्यो । मैले थपे “रेशम कमरेड, उत्पीडितहरुले यो व्यवस्थामा होइन वैज्ञानिक समाजवादी संघीयतामा मात्र अधिकार पाउन संभव छ ।” उनले जोडे “समाजवादी संघीयतालाई हाम्रो समर्थन किन नहुने ।”

हामी दुवै कोठाबाट निस्केर जेलको आगनमा भेटघाट मिलाउने कमरेड अनिल, दर्शन, अडिग, विमर्षसहित एकछिन वस्यौं, त्यही जेलरसँग पनि भेट भयो । उनले पनि राम्रो व्यवहार गरे । बस्दाबस्दै हाम्रा पार्टीका रसुवा जिल्लाका युवा अध्यक्ष कमरेडसँग पनि भेट भयो । यसको चाजोपाँजो पनि रेशमले नै मिलाइ दिएका थिए । चियाँ पिदै सञ्चोविसञ्चो सोध्यौं । जेल रिहाइबारे सरकारसँग कुरा भइराखेको बताए । त्यसपछि हामी विदा भयौं । छुट्दा पनि आफू अन्यायमा परेको बताइरहेका थिए । हामीले रेशमलाई सुनायौं हामी सक्दो पहल गर्छौ ।

राज्यले बुझ्दा हुन्छ रेशमहरुलाई जेलमा सडाइराख्नु भनेको अर्को विद्रोहको पर्खाइ गर्नु जस्तै हो । भित्रभित्रै आगो सल्किरहेको छ । समय वितेपछि सोच्नुको कुनै अर्थ रहँदैन । यो कुरा वालुवाटारमा भेट्दा मैले प्रधानमन्त्री कमरेड प्रचण्डसँग पनि राखेको छु । आशा गरौं यसलाई सकारात्मक ढङ्गले ग्रहण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार