‘संसदले स्वाधीनता थेग्न सकेन, देशभक्त नागरिक सचेत बनून्’ : विप्लव

डेली न्युजराप्ती       १९ जेष्ठ २०८३ १४:५५ मा प्रकाशित     35 No Comments

दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको संसद र सत्ताप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै देशको स्वाधीनता र राष्ट्रिय हितमाथि खतरा बढेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले नेपालको संसदले देशको स्वाधीनतालाई जोगाउन नसकेको दाबी गरेका छन्। उनले अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको प्रसंग उल्लेख गर्दै संसदले राष्ट्रिय हितका विषयमा लाचार र निरीह भूमिका निर्वाह गरेको आरोप लगाए।
उनले प्रधानमन्त्रीको हालैको सीमा सम्बन्धी अभिव्यक्तिलाई पनि संकेत गर्दै संसदले बहुमतका आधारमा राष्ट्रहितविपरीत निर्णयहरूलाई समेत वैधता दिन सक्ने अवस्था देखिएको टिप्पणी गरेका छन्।
विप्लवले आफ्नो स्टाटसमा इतिहासमा विभिन्न देशहरूमा सत्ताकै माध्यमबाट राष्ट्रघात र विदेशी प्रभाव विस्तार भएको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि त्यस्तो खतरा रहेको दाबी गरेका छन्। उनले “राष्ट्रघाती र दलालहरू सत्ता र संसदबाटै जन्मिने गरेका छन्” भन्दै देशभक्त नागरिकहरूलाई सचेत रहन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक उक्त अभिव्यक्तिमा उनले देशको भविष्य र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सत्ता कसको हातमा हुनुपर्छ भन्ने विषयमा नागरिकहरूले गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका छन्।
विप्लवको यो टिप्पणीले राष्ट्रिय राजनीति, संसदको भूमिका तथा स्वाधीनतासम्बन्धी बहसलाई थप चर्चामा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार