काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशको सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
उनले प्रधानमन्त्रीको जवाफलाई “गैरजिम्मेवार र मूर्खतापूर्ण” भन्दै त्यसको घोर विरोध गर्न नागरिकहरूलाई आह्वान गरेका छन्।
महासचिव विप्लवले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै देशको सार्वभौमिकता र सीमासँग जोडिएका विषय अत्यन्त संवेदनशील भएकाले यस्ता विषयमा राज्यको नेतृत्वबाट आउने अभिव्यक्ति जिम्मेवार, तथ्यपरक र राष्ट्रहितअनुकूल हुनुपर्ने बताएका छन्।
उनले फेसबुकमा लेखेका छन्, “देशको सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको यति गैरजिम्मेवार एवं मूर्खतापूर्ण जवाफ असहनीय छ। नागरिकहरूले यसको घोर भत्सर्ना र विरोध गर्नु पर्दछ। सिङ्गै देश प्रतिवादमा उत्रिनु पर्छ।”
विप्लवको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको भनाइबारे बहस चर्किएको छ। सीमा सम्बन्धी विषयलाई लिएर विभिन्न राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणले समेत चासो व्यक्त गरिरहेका छन्।
राष्ट्रिय हित, भौगोलिक अखण्डता र सीमासम्बन्धी मुद्दामा कुनै पनि प्रकारको कमजोरी स्वीकार्य नहुने उल्लेख गर्दै विप्लवले सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन्।
उनले सीमा जस्तो राष्ट्रिय महत्वको विषयमा जनभावनाको सम्मान गर्न र स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.