संसदीय व्यवस्था नेपाली जनतालाई घाँडो भयो : प्रकाश वली

डेली न्युजराप्ती       २ जेष्ठ २०८० २२:३१ मा प्रकाशित     387 No Comments

लेखक : प्रकाश वली

थुप्रै नेपाली जनताको त्याग र बलिदानबाट जन्मिएको व्यवस्था संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो।निरंकुश राजतन्त्रतात्मक ब्यबस्थालाई अन्तिम दाहसंस्कार गरेपश्चात् जन्मिएको, सबै नेपाली जनताले आशा र भरोसा गरेको व्यवस्था हो। तत्कालीन माओवादीले नेतृत्व गरेको सशस्त्र जनयुद्धको बलमा जन्मिएको गणतन्त्रात्मक ब्यबस्थाले उत्पीडित, श्रमजीवी,शोषित वर्गको पक्षमा आमूल परिबर्तन गर्ने अठोट लिएको थियो भने संगसंगै मुलुकमा देखिएका सामाजिक,आर्थिक, सांस्कृतिक, राजनीतिक, नाङ्गो वैदेशिक हस्तक्षेप लगायतका सबैखाले समस्यालाई एक चिहान बनाउने उद्धेश्यका साथ, एक दशक बढी बुलेट र ब्यालेटको संघर्षबाट जन्मिएको ब्यबस्था संघीय लोकतान्त्रिक गणतन्त्र हो। निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य , स्वदेशमै रोजगारी, शान्ति सुरक्षा, भ्रष्टाचारमुक्त राष्ट्र इत्यादि गणतन्त्रका सुन्दर पक्षका रूपमा लिइएको थियोे। एउटा सुन्दर सपना बोकेर वर्गीय विभेदलाई र जातीय विभेदलाई अन्त्य गर्न, समावेशी र समानता प्राप्ति गर्न, सामन्तवादको विरुद्धमा जुटेका हजारौं हजार नेपाली आमाका वीर सपुतहरुले नै यो ब्यबस्था प्राप्तीका निम्ति आफ्नो अमुल्य जिबन बलिदान गरेको कुरा इतिहासमा जीवितै छ।
तर बर्तमान समयमा नेपाली जनतालाई यो ब्यबस्था तातो आलु मुखमा राखेको जस्तै भएको छ । भित्र निल्ने कि बाहिर ओकल्न्ने। तिन तहको सरकार; केन्द्रमा १, प्रदेशमा ७ र स्थानीय तहमा ७५३ गरि जम्मा ७६१वटा सरकारको पालन पोषण र सेवासुबिधामा मुलुक टाट पल्टिँदैछ। नेताहरुको बिलासीताका कारण मुलुकमा खर्च माथी खर्च चुलिदै गएको छ। मुलुक आर्थिक संकटको भुमरीमा परिसकेको छ। दैनिक उपभोग्य बस्तुहरुको आयात दिन प्रतिदिन बढिरहेको छ ।
यस आर्थिक संक्रमणकालिन अबस्थामा मुलुकले बिकासको गति लिन सकिरहेको छैन। मुलुकमा बिकासको खडेरी परेको छ। हामी नेपाली जनताको लागी बिकास कुन जिबको नाम हो भन्ने अबस्थामा पुगिसकेका छौ। बिकासको कुरा बडो अचम्म लाग्दो छ । बिकासका कार्यहरु बिगत केही बर्ष देखि अलपत्र परेको छन। नेपालको अन्तरिम संविधान २०६३ पछि नेपालमा जम्मा ४ वटा निर्वाचन भए । ती सबै निर्वाचनमा पार्टी र नेताको चर्का नारा भनेका सडक बनाउने, खानेपानी घर घर पुर्याउने र सिंचाइ गराउने भन्दा अरु कुनै प्रमुख नारा भेटीएन र सुनिएनन पनि । मलाई लाग्छ आउदो निर्वाचनमा समेत यी राजनीतिक दलहरुका नारा यहि नै रहने छन। किनभने मुलुकमा बिकासको गति असाध्यै न्यूनरुपमा रहेको छ। दीगो बिकासको योजना, लक्ष्य केही पनि छैन । चुनाव आयो भने भए नभएका खुरापाती कुरा गर्‍यो, मिठा र चिल्ला भाषण गर्‍यो,जनतालाई पैसा बाड्यो इत्यादि हर्कत गरि चुनाव जित्यो त्यसपछि नेताको काम समाप्त। यस्ता खालका गतिविधिले गर्दा मुलुकमा अस्थिरता पैदा भइरहेको छ। यसको नाजायज फाइदा माफिया र भ्रष्टले लुटिरहेका छन। वैदेशिक हस्तक्षेप बढीरहेको छ। खुल्ला सिमानाका भएका कारण भारतका कतिपय अराजक तत्त्वहरुले नेपालका सर्वसाधारण नागरिकलाई खुलेआम गोलि ठोक्ने हर्कत गर्दै आइरहेको छ। त्यसैगरि सिमा अतिक्रमण गर्ने हर्कत गर्दा समेत सरकार कानमा तेल हालेर बस्छ किनभने यो सरकार सरकार जस्तो छैन। सरकारलाई आफ्नो काम कर्तव्य र अधिकार नै थाहा छैन। सरकार मस्त निद्रामा छ।

मुलुकमा बेरोजगारी समस्या त झन पछि झन चुलिदै गइरहेको छ। नेपालबाट दैनिकरूपमा युवा शक्ति हजारौंको संख्यामा बिदेश पलायन भइरहेका छ्न। शैक्षिक बेरोजगारीको संख्या दिनानुदिन बढी रहेको छ। स्वदेशमा थुप्रै अबसर र सम्भावना हुदाहुदै पनि बिदेश पलायन हुनु नेपाली जनताको ठुलो दुर्भाग्य हो। मुलुकबाट शान्ति सुरक्षा, नियम कानुन, नीति विधि आदि कुराहरु त हराएको जस्तो जनताको बुझाइ रहेकोे छ। आज सम्म पनि थुप्रै निर्मला पन्तहरु, नबराज बि.क हरु लगाएतले न्याय पाउन सकेका छैनन। थुप्रै महिला दिदीबहिनीहरु सुरक्षित भयर हिड्डुल गर्न सक्ने बाताबरणको शृजना छैन । कानुन बनाउने थलोमा भट्टामा मान्छे जलाउने, करोडौं करोडको भ्रष्टाचारमा लतपतिएका मान्छे, गुण्डाहरु आदि पुगेका छ्न। अनि हामीले कसरी असभ्य र खराब आचरण भएका ब्यक्ति बाट सबल निति र नियमको परिकल्पना गर्नसक्छौ र?

हाल नेपालको राजनीतिकको रोग भनेको भ्रष्टाचार हो। देशमा भ्रष्टाचार दिनमा दुई गुणा र रातमा चार गुणाले बढी रहेको छ। खुलेआम सरकारका बहालवाला सचीवहरु, पुर्बप्रधानमन्त्रीहरु, पुर्बप्रधानमन्त्रीका पत्नीहरु, पुर्बमन्त्री, नेताहरु भ्रस्टाचारमा संलग्न भएको कुरा संचारमाध्यममा छताछुल्ल भएको छ। यी घटनाले भ्रष्टाचारको सेटिङ सरकारका मुख्य पद्स्त ब्यक्तिहरुद्वारा नै हुन्छ भन्ने कुराको प्रमाणीत भएको छ। यी भ्रष्टाचार गर्ने अपराधी लाई त सरकारले टुडिखेलमा लगेर झुण्डाउनु पर्ने हो तर सरकार भ्रष्टलाई ढाकछोप गर्ने मनस्थितिमा देखिन्छ । अनि कसरी मुलुकबाट भ्रष्टाचार अन्त्य हुन्छ ? नेपालमा त नितिगतरुपमा भ्रष्टाचार भैरहेको छ। यसरी यी र यस्ता खालका घटनाले गर्दा व्यवस्थाप्रति नै जनताको बिश्वसनियता टुटिसकेको छ।

अब नेपाली जनताले अबस्था बदल्ने व्यवस्थाको खोजिमा जुट्नुपर्ने समय आएको छ। यसरी कति समयसम्म नेपाली जनता सँकुचित हुनेपर्ने हो? कति समय सम्म देशलाई दलाल पूंजीवादी व्यवस्थाको प्रयोगशाला बनाउने हो? संविधानका पानामा मात्र लेखेर केही हुदैन। लेख्नलाई त लेखिएको छ , गुणस्तरीय शिक्षाको कुरा तर गरिब निमुखा जनताका छोराछोरीहरु आज पनि शिक्षाबाट बन्चित हुनुपरेको छ , आर्थिक कारणले। कोहि भने शिक्षालाई ब्यापार गराइरहेका छन। अब शैक्षिक माफिया र दलाललाई ठेगान लागाउने व्यवस्था ल्याउनुपर्छ। स्वास्थमा पनि माफियाहरुको राम्रै ब्यापार चलिरहेको छ । अब दलाल र माफियाहरुको रबैया अन्त्य हुने ब्यबस्थाको परिकल्पना गरिनुपर्छ। यो संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली जनताको मर्म र भावनालाई बुझ्न् सकेन। जनताको अबस्थामा कुनै परिवर्तन ल्याउन सकेन।

अब यो असफल व्यवस्थालाई फालेर नयाँ व्यवस्थाको परिक्षण गरिनुपर्छ जुन व्यवस्थामा जनताका न्यूनतम आवश्यकता गास, बास, कपास, शिक्षा, स्वास्थ,रोजगारको ग्यारेन्टी होस। त्यसका निमित्त अब युवा, विद्यार्थी, शिक्षक, महिला, किसान, मजदुर सबै एकजुट भएर वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका निम्ति जुट्नु पर्ने बेला आएको छ। वैज्ञानिक समाजवादी व्यवस्था मात्र एक उत्तम र मानवहितकारी व्यवस्था हो। यो व्यवस्थामा जनताका आधारभूत आवश्यकताहरुलाई वैज्ञानिकरुपमा हल गरिन्छ। त्यसैले सबै नेपाली दाजुभाइ एकीकृत जनक्रान्तीको तयारीमा जुटौं । एक महान वैज्ञानिक डार्बिनले भनेका छ्न ” यो पृथ्वीमा जिवित प्राणीले आफू जिवित रहनका लागि ठूलो संघर्ष गर्नु पर्छ।” तसर्थ हामी सबैले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि संघर्ष गरौं।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार