हामी एकताबिरोधि थिएनौं , प्रचण्ड-माधवहरु छलफलबाट भागेका हुन्: विप्लव

डेली न्युजराप्ती       १५ मंसिर २०८२ २२:२३ मा प्रकाशित     640 No Comments

हेमन्तप्रकाश वली ।
मंसिर १४,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले आँफुहरु एकताबिरोधि नभएको बताएका छन् ।
आइतबार दाङको तुलसीपुरमा पार्टीका जिल्ला स्तरीय नेताकार्यकर्तालाई प्रशिक्षण दिँदै विप्लवले यस्तो बताएका हुन् ।

‘प्रचण्डहरुले हामिमाथि एकताबिरोधिको आरोप लगाउँदै हिडिरहनुभएको छ ,’ उनले भने, ‘एकता नजिक पुगेको सत्य हो । नेकपा एकताबिरोधि होइन कि प्रचण्ड र माधवहरु छलफलबाट भागेका हुन् । एकता सिद्धान्त , विचार र नितिको कुरा हो । छलफल गर्दै जाँदा माधवले माओवादी नमान्ने तर प्रचण्डहरु माओवाद छोड्न तयार भएपछि उहाँहरु मिल्नु भयो । हामि हाम्रो विचार , सिद्धान्त र महान आदर्श तिलाञ्जली दिन तयार भएनौँ ।
दिमाग नभएको मान्छे र सिद्धान्त नभएको पार्टी हुनु एउटै कुरा हो । उहाँहरुको पार्टीपनि त्यस्तै भएको छ ।’

महासचिव विप्लवले प्रचण्डले तत्कालीन नेकपालाई एकतामा ल्याउन जाल थापेको समेत वताए ।
उनले भने – ‘प्रचण्डले तत्कालीन हाम्रो पार्टी नेकपालाई ल्याउन एकताको जाल हानेका थिए तर अहिले रन्थनिएका छन् । जालमा त किरा , फ्यागुता परेपछि जथाभावी बोलिरहेका छन् । प्रचण्ड सिद्धान्त , बाटो र नाम पनि बदल्दै एमालेकरण हुँदै गएका छन् ।’

महासचिव विप्लवले आसन्न निर्वाचनमा पार्टी सहभागी हुने बताए ।

उनले भने – ‘निर्वाचनलाई संघर्षको मोर्चा बनाएर जाने निति बनाएका छौँ तर ब्यारेकको निर्वाचन स्वीकार गर्दैनौं। साम्राज्यवादी इशारामा आफ्ना प्रतिनिधि निर्वाचित गराउने षडयन्त्र भए प्रतिरोध गर्छौं ।’

‘नयाँ कम्युनिस्ट केन्द्र चाहिएको छ ,’ विप्लवले भने, ‘कम्युनिस्ट आन्दोलनलाई रक्षा गर्नेगरी सोच्नुपर्दछ। आजको संकटलाई सर्वपक्षीय अन्तरिम सरकार गठन गरि हल गर्नुपर्दछ । अन्तरिम सरकारले संविधान संसोधन ,पुनर्लेखन गरि राज्यको पुनर्संरचना गर्नुपर्दछ भने अग्राधिकारसहितको समाजवाद निर्माण हाम्रो एजेन्डा हो ।’

यस्तै विप्लवले सरकारले तोकेकै समयमा निर्वाचन हुने कुरा असम्भव भएको भएपनि निर्वाचनका लागि पार्टी चुनावमा भिड्ने र त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता गरेर पार्टीले  गुलावको फूलको चन्ह लिएको बताउनुभयो । पार्टीले  आफ्नै बलबुताले  आगामी निर्वाचन भाग लिने र त्यसका लागि पार्टीका नेताकार्यकर्ताहरु ढुक्क भएर जनताकोबीचमा जानुपर्ने उहाँले बताउनुभयो । देशभर राम्रा उम्मेदवारहरुलाई लिएर पार्टी चुनावमा लड्ने र संघर्ष गरेर अगाडि बढ्ने तर आवश्यक परे चुनावी मोर्चा बनाएर भएपनि निर्वाचनमा भाग लिने उहाँको भनाइ छ ।

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य शितल सीले देश आज भिन्नै प्रवृत्ति उभिरहेको कुरामा जेनजी बिद्रोहले नेपालको दलाल व्यवस्थाको जरा हल्लाइदिएको बताउनुभयो । जेनजी बिद्रोह आफ्नो पक्ष नभएपनि क्रान्तिको ढोका खोलिएको उहाँको धारणा थियो ।

जेनजी बिद्रोहबाट नेपालमा लामो समयदेखि शासन गर्दै आएका तीन ठूला पार्टीलाई  धुलो चटाइदिएको समेत उहाँको जोड रहेको थियो । चुनाव भनेको पार्टीको एउटा संघर्षको  मोर्चा भएको र पार्टीको आवश्यकता अनुसार  विभिन्न मोर्चाहरुको माध्यमबाट पार्टीलाई अगाडि बढाउने उहाँको भनाइ थियो ।
पार्टीका जिल्ला इञ्चार्ज सविन सीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय स्कूलिङ विभागका प्रयास सी, पार्टीका केन्द्रीय सदस्यहरु प्रदीप सी, पाटन सी , विकाश सी , निर्मल सी , प्रदिप सी , विक्रम सी , जिवनी सी , केन्द्रीय सल्लाहकार सुन्दर सी लगाएतका पार्टीका जिल्ला नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी तिलक सीले गर्नुभएको थियो ।

प्रशिक्षण दिन दाङ आउनुभएका महासचिव विप्लवलाई जिल्ला पार्टीका नेताकार्यकर्ताहरुले गुलावको फूल दिएर भब्य रुपमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार