हेमन्तप्रकाश वली ।
मंसिर १६,तुलसीपुर । विवादास्पद परियोजना एमसीसी अन्तर्गत बन्ने दाङको धानखोला-लमही सडक खण्डलाई चार लेनको बनाउन भ्रष्टाचार बिरोधि अभियान्ता प्रकाश शाहीले दबाब बढाउँदै आएका छन् ।
एमसीए नेपालले दुई लेनको प्रक्रिया सुरु गरेपछि शाहीले
धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समिति बनाएर सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदै मागहरु सुनुवाइ नभए प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन् ।






शाहीले दुई लेनको प्रक्रिया तत्काल रद्द गरी चार लेन सडकको निर्माण कार्य सुरु गर्नुपर्ने माग राखेका छन् ।
धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिले हालसम्म एमसिए फिल्ड अफिस पाखापनीमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
यस्तै समितिले यसअघि मुख्यमन्त्री चेतननारायण आचार्यलाई ज्ञापनपत्र बुझाउँदै दुई लेनको प्रस्ताव तत्काल रोक्न, सार्वजनिक छलफल गरी डिजाइन परिमार्जन गरेर चार लेनको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। राजधानी क्षेत्रको तीव्र शहरीकरण, बढ्दो यातायात चाप, दुर्घटना तथा सुरक्षा चुनौतीका कारण चार लेन अत्यावश्यक रहेको जनाउँदै समितिले माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। मुख्यमन्त्री आचार्यले जनताको माग सुन्ने, आवश्यक अध्ययन–समन्वय गर्ने र जनहितविपरीत योजना अघि नबढ्न दिने आश्वासन दिनुभएको थियो ।
धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिले देउखुरीका सबै स्थानीय तहहरुमा समेत ज्ञापनपत्र बुझाएको छ ।
राप्ती गाउँपालिका , लमही नगरपालिका र गढवा गाउँपालिकामा समेत ज्ञापनपत्र बुझाइएको संघर्ष समितिले जनाएको छ ।
संघर्ष अभियानका अनुसार दाङ–देउखुरी क्षेत्र तीव्र शहरीकरण हुँदै गएको, हिमाल–पहाड–तराई जोड्ने प्रमुख मार्ग भएकाले चार लेन आवश्यक रहेको र स्थानीय सरोकारवालाको निरन्तर दबाबलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग गरिएको छ।
धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष अभियानका संयोजक प्रकाश शाही भ्रष्टाचार बिरोधि अभियान्ता हुन् ।
उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरभित्रै कालोमोसो दलेर चर्चामा आएका थिए ।
शाही अहिले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य समेत हुन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.