पूर्वाग्रहको राजनीति:झपेन्द्रराज बैद्य

डेली न्युजराप्ती       २८ जेष्ठ २०८० ११:१३ मा प्रकाशित     125 No Comments

झपेन्द्रराज बैद्य

दर्जनौं पटकको भेटमा झुठा मुद्दमा राखिएका नेकपाका कार्यकर्ता तथा नेतालाई प्रक्रिया पुरा गरेर रिहा गरिदिने बचन दिएको हो सरकारले तर १५ गतेको गणतन्त्र दिवसको उपलक्ष्यमा पनि रिहा गरिएन । रेशम चौधरी सँगै ४–५ सयलाई छोडिदिँदा पनि पूर्वाग्रहको जण्डिसले गर्दा नेकपाका कार्यकर्ताहरुलाई छोडिएको देखिएन । रेशम चौधरीलाई छोडिदिएको केही आपत्ति भएन । यो राजनैतिक मुद्दा हो । थारु जाति उपेक्षित तिरस्कृत आदिम समुदाय हो । तर, टीकापुर घटनामा ७ – ८ जना प्ररीलाई घरेलु हतियारले काटे पनि राजनीतिक पहुँचले गर्दा उनी रिहा हुन सफल भए । उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक पनि हुन । संसदीय व्यवस्थामा भोटलाई प्राथमिकता दिईन्छ । यही भोटकै आधारमा गठबन्धनको जोडबलमा उनी छुटकारा भएका हुन् । तर अरु देश र जनताको सवालमा लडेका कार्यकर्ताहरुले छुटकारा पाएनन् । संसदीय व्यवस्थामा भोटको राजनीति हुन्छ, सत्य, न्यायको केही मतलब हुँदैन ।

गठबन्धनले गधा उम्मेदवार उठे पनि त्यही गधाले नै जित्छ । निर्वाचन पैसासँग गासिएको हुन्छ । जति राम्रो उम्मेदवार भए पनि पैसाको अभाबमा उसले जित्न सक्र्दन । पैसा खर्चगरेर जिते पछि उम्मेदवारले आफ्नो पैसा असूलउपर गर्न थाल्छ । यसैले भ्रष्टाचार कमिशन हुन्छ । वाइडबडी, एनसेल प्रिन्टिङ्ग प्रेस जस्ता दर्जनौं काण्ड घटाएर नेताहरुले पैसा कुुम्लाएका हुन्छन् । अब त्यसले पुगेन भनेर भूटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै जनही ४० – ५० लाख उठाउँदै गरेको अवस्था छ । नेपाल प्रहरीले पत्ता लगाएर दोषीलाई थुनछैक त गरेको छ तर नेताहरुले यसलाई सफल हुन देलान भन्ने लाग्दैन ।

गत हप्ता प्रचण्डले भारत भ्रमण गरी फर्केका छन् । भारतमा रहँदा एउटा मन्दिरमा गएर गेरुबस्त्र धारण गरी पुजा गेका छन् । जनताको हकमा आस्थाअनुसार पुजा गर्नु ठीक होला तर एउटा कम्युनिष्ट नाम धारी मान्छेले गेरुबस्त्र धारण गरी दुनिया हसाउँछन् भने के भन्ने ? भारतले आफ्नो नवनिर्मित संसद भवन अगाडि अखण्ड भारत लेखेको नक्सा राखेका छन् । त्यो नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी अंकित गरिएको छ । यस्तो संबेदनशील विषयमा पनि प्रचण्ड मौन बसेका हुन् । अझ लिपुलेक, लिम्पियाधुरा तथा कालापानी भारतलाई दिएर यसको बदला बंगलादेश जाने पूmलबारी मार्ग लिने अनौपचारिक शर्त राखेका छन् । भारतको आडमा उनले यस्तो भनेका हुन् । एउटा ब्यक्तिले सार्वभौम देशको माटो प्रतिमोल तोल गर्न मिल्छ ? प्रचण्डलाई कुनै पूर्वाग्रहले भनिएको होइन । जस्तो छ उस्तै भनिएको हो । देश त सबै नेपालीको साझा हो । पार्टी भन्दा ठूलो हो देश । पार्टीका सबै कार्यकर्तालाई नभनौ कुनै कार्यकर्ता त भेडा बनेका हुन्छन् । मलाई केही मिल्छ कि भनेर नेताको भजन गाउँछन् । पार्टी पनि त विवाद प्रतिवाद संवाद नभैकन चल्दैन । पार्टी भनेको बिपरितहरुको एकत्व हो ।

अहिले देश संकटमा छ । नेता दलालहरु पनि संकटमा छन् । अहिले नेपालीहरुको लडाईं दलालसँग छ । सम्राज्यवाद सिधै यहाँ आउँदैन । उसले दलाललाई लगाई दिन्छ । तिनै दलालमार्फत् देशको अस्मितामा आँच आएको हुन्छ । देशको २६ ठाउँ भारतसँग सीमा विवाद छ । कालापानी त्रिदेशीय मार्ग छ । यहाँबाट मानसरोबर जानसकिन्छ । यसै काला पानीमा भारतीय चेक पोस्टछ । भारतीय सेना प्रहरीहरु यहाँ मार्चपास गर्छन् । भरतले आफ्नै पहलमा पक्की सडक बनाई सकेको छ । स्वभिमानी देश भक्तले यसको विरोध गर्ने कि नगर्ने ? लिपुलेक, लिम्पियाधुराको चुच्चे नक्सा बनाएको अवस्था हो । तर, यसलाई पाठ्यपुस्तकमा राख्नबाट रोक लगाइयो । नेपालका शासक भनौँ वा भारतीय दलाल भारत सामु आत्मसमर्पण गरेका छन् । अमेरिकासँग आत्मसमर्पण गरेर नै एमसीसी पास गरेका हुन् । अब एसपीपी पास गर्ने क्रममा छन् । अहिलेको नागरिकता बिधेयकले देशलाई फिजीकरण, सिक्किमीकरण बनाउँदैछ । प्रचण्ड भारत भ्रमणमा जाने अघिल्लो दिनमा नागरिकता बिधेयक पास गरेर गएका हुन् । त्यही बिधेयक हो जसलाई पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले रोकेर राखेकी थिइन् तर छुट्टै परिबेश र छुट्टै संसदमा त्यही बिधेयकलाई पठाइएको छ । यसअनुसार एउटा हातमा सिन्दूर अर्को हातमा नागरिकता दिने अवस्था छ । नागरिकता त सबै नेपालीले पाउनुपर्छ, पाउने अधिकार पनि छ तर भारतीय चेलीले यसरी पाउने भएकी छिन् । तर, भारतमा भने ७ वर्ष कुर्नुपछ । धेरै जनसंख्या भएको भारतबाट नेपालमा मानिसहरु पेलिएमा के हुन्छ ? फिजी हुँदैन ? नेपाली भने चामलको बियाँ जस्तो हुने छन् ।

यो व्यवस्था त गैसकेको छ । संसदीय व्यवस्था असफल भएको छ, जताततै लूट छ । देशको अस्मितामा लूट छ । अब जनताको बलमा क्रान्ति गरेर सत्ता बदल्नुको विकल्प छैन । हामीलाई चाहिएको वैज्ञानिक समाजवाद हो । यसमा योग्यताअनुसार काम र कामअनुसार माम हुन्छ । शिक्षा स्वास्थ्य निःशुल्क हुन्छ । बेरोजगारी हुँदैन । युवाहरु बिदेश जानुपर्दैन । यसै वैज्ञानिक समाजवादको लागि एकीकृत जनक्रान्ति चलिरहेको छ । सबै देशभक्त मिलेर यसलाई सफल पारौं ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार