२ साउन, काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।
सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् ।
नेपालले २०१७ मा माल्दिभ्समा सेनट्रल जोनमा तेस्रो हुँदै काँस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।
संघले आर्मीका सेटर हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो ।
गत महिना मात्र कीर्गिस्तानमा भएको काभा नेसन्स लिगका लागि खुल्ला छनोटमा नियमित कप्तान इम राना मगरले भाग नलिएपछि संघले हरि हजुरलाई कप्तान बनाएको थियो ।
सातौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल दौरान गण्डकी विरुद्धको खेलमा थापाले कप्तानको भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको र कर्तव्यविमुख भएको भन्दै संघले उनलाई कप्तानबाट हटाएको थियो ।
अघिल्लो सोमबार गण्डकी विरुद्धको खेलमा तनाव उत्पन्न हुँदा आर्मीका धनबहादुर भट्टले दर्शकलाई नै कुटेका थिए ।
संघले धनबहादुरलाई ६ महिनाका लागि निलम्बन नै गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.