उत्पीडित वर्गको पक्षधरता नभएका पार्टी कम्युनिस्ट पार्टी होइनन: शितल

डेली न्युजराप्ती       १९ भाद्र २०७८ २१:०१ मा प्रकाशित     618 No Comments


घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले उत्पीडित वर्गको पक्षधरता नभएका पार्टी कम्युनिस्ट पार्टी नहुने बताएका छन् । नेकपा दाङ घोराही उपमहानगर र बंगलाचुलीको संयुक्त राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शितलले उत्पीडित वर्गको पक्षधरता र दलाल पुँजीपति वर्गको पक्ष धरताको आधारमा कम्युनिस्ट पार्टी छुट्याउनु पर्ने समेत बताए । ‘यो संसदीय व्यवस्था भनेको पुँजीवादी व्यवस्था हो, उनले भने‘ दलाल पुँजीवादी अर्थ प्रणाली भएका पार्टीहरु कम्युनिष्ट होइनन् र संसदीय व्यवस्थामा जाने अनि कम्युनिस्ट पार्टीको नाम राख्ने ठिक भएन् । कम्युनिष्टको दृष्टिकोण राष्ट्रवादी हुनुपर्ने हो, तर नाममात्रका कम्युनिस्टहरु राष्ट्रघाती भए ।’
लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता लगाएतका राष्ट्रघाती सम्झौता गरि सत्ता टिकाउन खोज्ने यो संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादि व्यवस्था ल्याउने पार्टीको स्पष्ट उद्देश्य रहेको स्पष्ट धारणा राखे । वैज्ञानिक समाजवादले प्रत्यक्ष चुनावबाट राष्ट्रको प्रमुख कार्यकारी चुन्ने र पैसाबाट चुनाव लड्ने परिपाटीलाई अन्त्य गर्ने र समाजवादमा सुन्दर समाज निर्माण गर्ने उनले बताए।

हामीले वर्ग संघर्षको कुरा उठाउँदा, भ्रष्टचारीलाई कालोमोसो दल्दा, सरकारलाई कर नतिर्ने एनसेललाई कार्वाही गर्दा संसदीय दलाल पुँजीवादीहरु डराएर पार्टीलाई दमन गरेर सिध्याउने उद्देश्यले प्रतिबन्ध लगाइयो । तर, प्रतिबन्धको बीचमा पनि पार्टी झनै सशक्त भएको देखेर सरकारले पार्टीको ३ बुदे सहमति हुवहु लागु गरि सम्झौता गरिएको उनले प्रष्ट पारे ।
प्रमुख अतिथि शितलका अनुसार संसदीय व्यवस्था भित्र नामधारी कम्युनिस्ट, कांग्रेस, राजावादी लगायत अरु पार्टीहरु पनि छियाछियाको अवस्थामा रहेका छन् । सरकारसंग गरेको ३ बुदे सहमतिमा धेरैको टिका टिप्पणी, संकाउपसंकाहरु आइरहेको त्यसमा जो कोही अलमलमा नपर्न र सरकारसंग भएको सम्झौताले क्रान्तिलाई सफल तुल्याउने उनले बताए । नेपालको व्यवस्था कस्तो बनाउने भन्ने बारेमा जनतालाई अधिकार दिनुपर्ने समेत उनले बताए । प्रगतिशील संयुक्त सरकारमा जाने र त्यसबाट जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद व्यवस्था स्थापना गर्ने उनको भनाइ छ ।
पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य लिएर अगाडि बढेको हुनाले यो दलाल संसदीय व्यवस्थामा वैज्ञानिक समाजवाद ठिक कि संसदीय व्यवस्था भन्नेमा जनमत संग्रह भए पार्टीले सहज जित हासिल गर्ने पनि उनले बताए ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा दाङ विशेष कमिटीका सेक्रेटरी सुन्दरले संसदीय व्यवस्था भनेको केही सीमित व्यक्तिका लागि मात्र भएको बताए । नेपालमा अहिले १३ जना व्यक्तिको लागि संसदीय व्यवस्था चलिरहेको समेत उनले बताए । गाउँ, सडक र शहरमा संघर्ष गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत अगाडि बढ्ने र संसदीय व्यवस्थालाई ध्वस्त पारी वैज्ञानिक समाजवाद स्थापना गर्ने विषयमा जनतासंग आफूहरुले स्पष्ट राख्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा दाङ विशेष कमिटीका सदस्य विक्रमले पार्टीको मुख्य उद्देश्य भनेको वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने भएको बताए । पार्टीको कुरा लिएर जनतामाझ जादा विभिन्न चुनौतीहरु आइपर्ने भएकाहुँदा ती चुनौतीहरुलाई पार्टीका लिडरहरुले सहजै पार गर्नका लागि लिडरहरु मानसिक रुपमा तयार भएर जानुपर्ने बताए ।
त्यस्तै प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीपले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए । पार्टी भित्रका सम्पूर्ण सदस्यहरु वैज्ञानिक समाजवादको बारेमा स्पष्ट हुनुुपर्ने उनले बताए । पार्टीले सञ्चालन गर्न लागेको अभियानको मुख्य उद्देश्य भनेको एक सुदृढ संगठन निर्माण गर्ने र नमूना गाउँ वनाउने रहेको समेत उनले बताए । जनतामा नेता फर्काउने पार्टीको योजना भएकाले सबैजना संगठनमा एकतावद्ध भएर जनसम्बन्ध विस्तारका लागि अभियानमा जोडिनुपर्ने र पार्टीको आस्था र विचारलाई जनतामाझ स्पष्ट रुपमा राख्नुपर्ने उनको भनाइ छ ।
नेकपा घोराही उपमहानगर तथा बंगलाचुली गाउँपालिकाको संयुक्त आयोजनामा राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम शनिबार घोराहीमा सम्पन्न भएको हो ।

नेकपा दाङ घोराही उपमहानगरपालिका इन्चार्ज तिलक योगीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा दाङ विशेष कमिटीका सेक्रेटरी सुन्दर, विशेष कमिटीका सदस्य बिक्रम, नेकपा दाङ जिल्लाका सेक्रेटरी प्रदीप, पार्टीका सल्लाहकार निमबहादुर घर्ती र मधुसूदन गिरी, बंगलाचुली गाउँपालिकाका इन्चार्ज भिमबहादुर राना, घोराही उपमहानगरपालिका ,बंगलाचुलीका वडाका इन्चार्ज, सेक्रेटरी, पार्टीका नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य मोतीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पार्टीका दाङ जिल्ला कमिटी सदस्य अनिल केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार