वर्तमान व्यवस्थाले देश अगाडि बढ्न सक्दैन र पुराना नेता, पुराना पार्टी (क-कसलाई पुराना मान्ने फरक हो) बाट नयाँ व्यवस्थाको निर्माण सम्भव छैन भन्ने विषय नेपालमा लगभग टुङ्गो लागेको छ ।
नयाँ व्यवस्थाका लागि नयाँ ध्रुवीकरण, नयाँ नेतृत्व या नयाँ केन्द्र चाहिन्छ । यो केही खुसीको कुरा हो कि यी धारणामा केही यथार्थ छ र केही समाधानका उपायहरू छन् ।
देश खतम भयो, केही हुँदैन भन्ने निराशावादी एवं विसर्जनवादी भन्दा यो व्यवस्थालाई नयाँमा रूपान्तरण गर्नु पर्छ र त्यसका लागि नयाँ ध्रुवीकरण, नयाँ नेतृत्व र नयाँ केन्द्र चाहिन्छ भन्ने सोचाइ बन्नु देशको जीवनलाई प्राण दिनु जस्तै हो । यो आशा र चाहना ग्रहण गर्न लायक छ ।
वास्तवमा यो कुनै रिस रागको विषय नभएर नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक अवस्थाहरूले तयार गरेको चेत हो । नेपाल २०६४ पछि गणतन्त्रमा प्रवेश गर्यो तर राजनीतिक आर्थिक सङ्क्रमणको अवस्थाबाट बाहिर निस्किन सकेको छैन । हामीले बनाउन चाहेको, नागरिकले बनेको हेर्न चाहेको र बनेका राजनीतिक, आर्थिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरूले सङ्क्रमणलाई मुक्त गर्न सकेनन् ।
सङ्क्रमणको हावाहुरीले उल्टो जनताको दिमागमा बनेका पार्टी, नेता, नेतृत्वप्रतिका आदर्श, आस्था, सम्मान, मायालाई तहसनहस बनाइदियो । गणतन्त्रका पाँच/सात वर्ष हेरेपछि नाटकमा मेकअप(सिँगार) उतारेपछिको अनुहार हेरेजस्तो अचम्मित बनायो ।
साँचो कुरा के थियो भने गणतन्त्रले अर्धसामन्तवादको अन्त्य गर्यो तर राज्यसत्ता जनताको हातमा हस्तान्तरण हुन सकेन । नियम, कानुन, प्रशासन, अदालत, आर्थिक प्रणाली, शिक्षा, स्वास्थ्य सबै पुरानै ठाउँमा रहे । केही परिवर्तन र सुधार भए भने पनि जनताको चाहनाबाट नाप्दा समुद्रमा पानी वर्षे जस्तो भयो ।
अर्थात् राज्यको चरित्र न पुरै पुरानोमा बस्यो न नयाँमा बदलिन सक्यो । सुरुमा यसलाई गणतन्त्रको पछ्यौराले छोपियो र भ्रमपूर्ण आशामा भुलाइयो पछि यसको अर्ध-रचना देख्न र अनुभव गर्न पाइयो ।
केही अङ्ग बन्न खोजेको तर कस्तो बन्न खोजेको हो भन्ने छुट्टिन नसकेको कुरूप आकृतिले कसैलाई पनि सन्तोष दिन सकेन । हत्तेरी, हत्तेरी के हो यो ! भन्ने विस्मयकारी प्रतिक्रिया भित्ताभित्तामा ठोकिन थाले । झन पछि झन बुच्चे गणतन्त्रको अराजकताले जनताको जीवनलाई चौपट पार्न थालेजस्तो अनुभव हुन थाल्यो । यो कुनै आश्चार्यपूर्ण अनिष्ट नभएपनि राजनीतिक सङ्क्रमणले पैदा गरेको संकटचाहिँ पक्कै हो ।
संक्रमणकालको गुण नै हो कि यसको अनुभव र प्रतिक्रिया गर्नै पर्ने विशेषताबाट कोही पनि अलग हुन र उम्किन सक्दैन । आज नेपाली राजनीतिमा पैदा भएका क्रिया प्रतिक्रिया, वाद विवाद, एकता र संघर्ष, तिक्तता र मित्रता, विघटन र संघटन, समीकरण र ध्रुवीकरण सारा कार्यहरू संक्रमणकालकै परिणाम हुन् । यसले आफ्नो हितहरूमा धक्का दिँदा घुसपैठ, छलछाम, षडयन्त्र लागे पनि नयाँ देख्न र गर्न खोज्नेका लागि सिधा सीधा, साहसिक, महान् र गौरवपूर्ण बन्छ । हुन पनि एउटाले विध्वंस र विपत्ति महसुस नगरेर अर्कोले महान् र गौरवपूर्ण महसुस गर्दैन ।
सम्भवतः ०८४ वरिपरि यो प्रक्रिया केही थेग्रिने छ । तर त्यसअगाडि सम्म यो निकै तीखो, तीव्र र व्यापक बन्ने छ। भेलको गडगडाहट पछि केही भित्ताहरू झर्ने, केही ढुङ्गाहरू बग्ने, केही पाखाहरू सखाप हुने र केही नयाँ फाँटहरु बन्ने जस्तो चित्र देखिन्छ । नेपाली राजनीतिक प्रतिस्पर्धामा जति नै चित्कार, हुङ्कार गरे पनि त्यस्तो एक पटक हुने नै छ ।
आश्चार्यता, विवशता, रुढिमुढीता, भक्तिभाव, निरन्तरता नटुटेर नयाँ विचार, नेतृत्व र केन्द्र बन्न सक्दैन । जब ती बोझहरू दिमागबाट बढारिन्छन् तब नयाँको जन्म र विकासलाई कसैले रोक्न सक्दैन । यतिबेला नेपाली राजनीतिमा उल्टो र सुल्टो दुवै पाटाबाट यो प्रक्रिया अगाडि बढेको छ ।
उल्टो पाटो यो हो, जसले संगठन र नेतृत्वमा नयाँ भन्छन् तर तीनको राजनीतिक विचार, व्यवस्था, प्रणाली सम्बन्धी दृष्टिकोण पुरानो नै छ । यही व्यवस्थालाई ठिक मान्ने तर नेता मात्र फेरे पुग्छ भन्ने सोच वास्तवमा नयाँ होइन, हुन सक्दैन, पुरानै हो र हुन्छ ।
नयाँ पाटो यो हो जसले विचार, व्यवस्था, नेतृत्व, व्यवहार सबै नयाँ आवश्यक ठान्छ । जे भए पनि एकदमै छर्लङ्ग छ कि जति नै विधि, नियम, मान्यताका झ्याली छाँटे र डन्डा बर्साए पनि पुराना पार्टी, नेतृत्व र केन्द्रले काम गर्ने वाला छैनन् । नयाँको उदय अवश्यम्भावी भइसकेको छ । नयाँको आगमनलाई सचेततापूर्वक भित्र्याउन तयार हुनैपर्छ । (रातोपाटीबाट साभार)
–नेत्रविक्रम चन्द (विप्लव)
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.