नेकपा (माओवादी) घोराहीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

डेली न्युजराप्ती       ६ पुष २०८२ २१:०० मा प्रकाशित     481 No Comments

घोराही, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) घोराही नगरको बैठक सम्पन्न भएको छ । पार्टी घोराही नगरको आयोजनामा शनिबार घोराहीस्थित झिंगौरामा बसेको बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले घोराहीका वडाहरुमा राजनीतिक प्रशिक्षणात्मक बैठक तथा पालिकाको जनवर्गीय भेला गर्ने निर्णय गरेको छ । पार्टीले  घोराहीको १, २ र  ४ नं. वडाको संयुक्त रुपमा पुस ८ गते राजनीतिक प्रशिक्षणात्मक बैठक सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै घोराही ११, १२  र १३ नम्बर वडाको  १५ गते, घोराही ३ र १७ नम्बर वडाको १६ गते र घोराही १४, १५, १६ र १८ नम्बर वडाको १९ गते संयुक्तरूपमा राजनीतिक प्रशिक्षणात्मक बैठक सञ्चालन गर्ने निर्णय  भएको पार्टी घोराही नगरले जानकारी दिएको छ ।  त्यस्तैगरी पार्टीले जनवर्गीय संगठनको पालिकास्तरीय  भेला पुस २५ गते  घोराहीमा गर्ने भएको छ ।

पार्टी घोराही नगरका सेक्रेटरी महान सीको अध्यक्षता एवं  पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सविन सीले राजनीतिमा स्थिति बुझ्नुपर्ने कुरा महत्त्वपूर्ण  भएको बताउनुभयो । 
`जसले परिस्थिति अनुसार राजनीतिक नियम बनाउदै जान्छ, त्यसले नै  राजनीतिको नेतृत्व गर्छ´, उहाँले भन्नुभयो – बदलिँदो परिस्थितिअनुसार जुन पार्टी र नेतृत्वले नियम विकास गर्दै जान्छ, त्यसले नै समाजको नेतृत्व गर्छ ।´  समय र परिस्थितिअनुसार पार्टी र नेतृत्व बन्ने भएको हुँदा त्यसअनुसार नै पार्टीले  आफ्ना विचार, योजना र कार्यक्रम अगाडि बढ्नपर्ने उहाँले बताउनुभयो। समाजले पत्याएपछि मात्र पार्टी र नेतृत्व हुने भएको कुरामा जोड दिँदै उहाँले अहिले नेपाली जनताले  नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र पार्टी नेतृत्व महासचिव विप्लवलाई खोजेको हुँदा जनताको आकांक्षा अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

जेनजी बिद्रोह पछि समाजको बुझाइ फराकिलो रहेको र पूराना पार्टी भत्किएको बेलामा हामीले समाजलाई सही ढंगले नेतृत्व र विचार प्रदान गर्नुपर्ने बताउनुभयो ।  नेपालका बहुसंख्यक जनताले नयाँ पार्टी खोजेको सन्दर्भमा नेताकार्यकर्ताले पार्टीको नीति, विचार र योजनालाई दृढतापूर्वक अभियानकै रुपमा जनतामाझ लैजानुपर्ने र  बुझाउनुपर्ने  उहाँको भनाइ थियो ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी तिलक सीले अभियानको बारेमा जानकारी दिँदै  जिल्ला पार्टीले लिएको निर्णयअनुसार पुस १ गतेदेखि जनसर्वेक्षण तथा जागरण अभियान सञ्चालन भएको बताउनुभयो । अभियानमा पालिका इञ्चार्जहरुको नेतृत्वमा सुरुभएको  र अभियान क्रममा युवा, विद्यार्थीको संगठन विस्तारसँगै जनताहरुबीच सकारात्मक छलफल भएको समेत बताउनुभयो । पछिल्लो समय जनता र पूराना पार्टीबीचको सम्बन्ध देखि धेरै टाढा रहेको र  नयाँ पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको हुँदा यो अवस्थामा हामीमाझ सम्भावना र चुनौती आइसकेको समेत उहाँको जोड रहेको थियो । यस्तो अबस्थामा पार्टीको बिचार र योजना लिएर नेताकार्यकर्ताहरु जनतामा पुग्नुपर्ने भएको हुँदा सबैले आफ्ना क्षमता अभिवृद्धि गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । भौतिक उपस्थिति बिना पार्टीप्रतिको लगानी खेर जानसक्ने भएको हुँदा  नेताकार्यकर्ता गम्भीर भएर जनताको बीचमा गएर गहन छलफल चलाउने हो, भने  पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन सकिने  नेताको तिलकको भनाइ थियो ।

पार्टीका केन्द्रीय सदस्य तथा घोराही नगर इञ्चार्ज पाटन सीले  बैठकको बारेमा जानकारी दिँदै जिल्ला पार्टी लिएका निर्णयहरु दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने र आगामी योजनाहरु बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो।
अहिले पार्टीमा नयाँ पुस्ता नजोडिएको र त्यसका लागि पालिका तथा वडामा जनवर्गीय संगठनलाई विस्तार गर्नुपर्ने समेत उहाँले बताउनुभयो । पार्टीलाई विजयी र अब्बल बनाउनका लागि संगठनको भूमिका महत्त्वपूर्ण हुने भएकाले जनस्तरसम्म  संगठन निर्माणमा जोड दिनुपर्नेमा उहाँले बताउनुभयो । पार्टी लिएको उद्देश्य पूरा गर्नका लागि वडा-वडामा पार्टी सदस्यसम्मको प्रशिक्षणात्मक बैठक चलाउदै बस्तीस्तरमा पार्टीका नीति, विचार र योजनाहरुलाई अभियानको रुपमा  अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै बैठकमा जनसर्वेक्षण तथा जागरण अभियानका टिमलाई फूल दिएर स्वागत गरिएको थियो ।

घोराहीमा रहेका जिल्लाका सदस्यहरुले बैठकमा रिपोर्ट राख्दै  पार्टीप्रति जनताको हेर्ने दृष्टिकोण  सकारात्मक देखिएको भएता पनि अहिले जनताहरुले नयाँ पार्टी खोजिरहेको हुँदा पार्टी जनतामाझ पुग्नुपर्ने  बताएका थिए । जेनजी बिद्रोह पछि जनता अन्योलमा रहेको अवस्थामा अब पार्टीको नीति, विचार र योजना लिएर बस्तीस्तरसम्म पुग्ने र छलफल तथा बहस चलाउदै संगठन विस्तारमा जोड दिनुपर्ने आवश्यक रहेको उहाँहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार