हेमन्तप्रकाश वली ।
पौष १४,घोराही । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले पार्टीको जनकम्युनमा राज्यले आतंक मच्चाएको भन्दै निरन्तर देशव्यापी बिरोध गरिरहेको छ ।
आज सोमबार पार्टीले कम्युनमाथिको प्रहरी अप्रेसनको बिरोधमा दाङको घोराहीमा बिरोध प्रदर्शनसहित कोणसभा सम्पन्न गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य पाटन सीले श्रम र उत्पादन मार्फत देश , पार्टी र जनतालाई आत्मनिर्भर बनाउन उत्पादनको अभियान चलाइरहेको पार्टीका विरुद्ध राज्यप्रशासनले आतंक मच्चाएर आफ्नो निर्लज्ज चरित्र प्रस्तुत गरेको बताए ।
उनले भने – ‘हाम्रो उत्पादनबाट यहाँका दलालहरु आत्तिएका छन् । श्रम , उत्पादनमा जोडिएको पार्टीका विरुद्धको यसप्रकारको षड्यन्त्र अस्वीकार्य छ । यो कार्की सरकारको कुरा मात्रै होइन् , यसमा साम्राज्यवादीहरुको योजना छ । जनताको शक्तिलाई चुनावमा जा नदिने साम्राज्यवादीहरुको षड्यन्त्र हो , त्यसको वफादार नोकर अहिले शुसिला हुन् ।’
नेता पाटनले पार्टीमाथिको षड्यन्त्र बन्दगरी निष्पक्ष निर्वाचनको वातावरण तयार गर्न कार्की सरकारलाई सुझाव समेत दिएका थिए ।
उनले यो चुनावमा साम्राज्यवादले अघि सारेका एजेन्टलाई जिताउने र वास्तविक जनताका प्रतिनिधिहरुलाई हराउने ठुलो षड्यन्त्र भइरहेको समेत जिकिर गरेका थिए ।

‘वास्तविक जनताका प्रतिनिधिलाई हराउने साम्राज्यवादी , यहाँका दलालहरुको योजना छ ,’ उनले भने, ‘जनता सचेत हुनुपर्दछ । विदेशीले परिचालन गरेका पात्रलाई चिन्न सक्नुपर्दछ । साम्राज्यवादी , यहाँका दलालहरु , पश्चिमाहरुको सम्पुर्ण षड्यन्त्रलाई निस्तेज गर्नुपर्दछ ।’
यस्तै कोणसभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य तिलक सीले कार्की सरकारले युद्ध नै चाहेको हो भने पार्टी तयार रहेको चेतावनी दिए ।
उनले भने – ‘हाम्रा कम्युनहरुमा कार्की सरकारले अनावश्यक छापा हानेर आतंक किन मच्चाएको ? सरकारले चुनाव गर्ने हो कि हाम्रो पार्टीसँग युद्ध? युद्ध नै गर्ने हो भने हामि तयार छौँ । देश र जनताको लागि हामि शान्तिपुर्ण प्रतिस्पर्धामा जाँदापनि सरकारले अनावश्यक नेताकार्यकर्ता , जनता र कम्युनमा बल प्रयोग गर्ने हो भने , युद्ध नै गर्ने हो भने त्यो पनि तयार छौँ तर देश र जनताप्रति जुनसुकै मोर्चाबाट लड्छौँ ।’



नेता तिलक सीले आगामि निर्वाचनमा देश र जनताको असल प्रतिनिधि पार्टी नेकपा (माओवादी) र नेतृत्व विप्लव भएकाले जनतामा अरु कुनै भ्रममा नपर्न समेत अनुरोध गरे ।
बिरोध प्रदर्शनपछिको कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए ।
काठमाडौंमा माओवादीको केन्द्रिय समितिको विशेष बैठकले निर्वाचनका लागि रणनीति तय गरिरहेको अवस्थामा केहि दिनअघि राज्य प्रशासनले माओवादीको शितगंगा ११ अर्घाखाँचीमा रहेकोे जनकम्युनमा छापा मारेको थियो।
कम्युनमा प्रहरीले अनावश्यक अपरेशन गरेको भन्दै माओवादी आक्रोशित भएको छ। माओवादीले प्रहरीको अपरेशनविरुद्ध पुष १२ गते देखि १५ गते सम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ।
माओवादीले देशैभरी मशाल जुलुस , कोणसभा गरेर विरोध प्रदर्शन गरिरहेको छ । माओवादीले राज्य-प्रशासनले आफ्नो अपरेशन नरोके कडा प्रतिरोध गर्ने बताएको छ।
माओवादीका महासचिव विप्लवले कम्युनमा हस्तक्षेप अस्वीकार्य हुने बताउँदै राज्यले अनावश्यक अपरेशन नरोके जनताले कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.