दाङ-३ को प्रतिनिधिसभा निर्वाचन: विरासत एउटै,मैदानमा फरकफरक

डेली न्युजराप्ती       २९ पुष २०८२ ११:४० मा प्रकाशित     195 No Comments

हेमन्तप्रकाश वली ।
पुष २८,तुलसीपुर ।
आगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दाङको ३ नम्बर निर्वाचन क्षेत्र रोचक बन्ने देखिएको छ ।
माओवादी पृष्ठभुमिका दुई बलिया उम्मेदवार चुनावी मैदानमा भिड्ने पक्का भएपछि उक्त निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने स्थानीयहरु बताउँछन् ।

दाङ -३ मा माओवादी जनयुद्धमा डिभिज कमान्डर भएर आफ्नो छबि स्थापित गरेका धन बहादुर मास्की (राजेश)लाई नेपाली कम्युनिस्ट पार्टीले सिफारिस गरेको छ । उनी पार्टीको केन्द्रीय समिति सदस्य हुन ।

यता तत्कालीन जनयुद्धमा भुमिगत हुँदै पश्चिम दाङमा माओवादी आन्दोलनलाई स्थापित गर्न कुनै कसुर बाँकी नराखेका हाल नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य बल बहादुर वली (शितल) एकल उम्मेदवारका रुपमा सिफारिस भएका छन् ।

पहिलोपटक संसदीय निर्वाचनमा होमिएको विप्लव नेतृत्वको माओवादीका उम्मेदवार वली लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व अर्थमन्त्री मास्कीलाई टक्कर दिने दाउमा छन् भने मास्की आफ्नो जितको शृङ्खला कायम राख्ने तयारीमा छन् ।

साविकको रुकुम खारा हाल त्रीवेनी गाउँपालिकामा जन्मिएका उम्मेदवार वली अहिले तुलसीपुर-९ बेलुवा बासी हुन् भने नेकपाबाट उम्मेदवार सिफारिस भएका मास्की बबई गाउँपालिका बासी हुन् ।

दाङको विकट मानिने पश्चिम क्षेत्रमा मास्कीले प्रदेशको अर्थमन्त्री हुँदा विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेर लोकप्रिय बनेका छन् भने माओवादीबाट सिफारिस भएका उम्मेदवार वली अहिलेसम्म कुनैपनि राजकीय पदमा पुगेका छैनन् ।

नेता बल बहादुर वली (शितल)ले आसन्न निर्वाचनमा राष्ट्रियता , स्वाधीनता र समाजवादको नारासहित जनतामा पुग्ने सोच बनाएको बुझिएको छ ।

निर्वाचन नजिकिएसँगै दाङ-३ को माहोल तातिएको छ । तर पश्चिम दाङमा एउटै विरासतका दुई बलिया उम्मेदवार फरकफरक पार्टीबाट लड्ने पक्का भएपछि नेताकार्यकर्ताहरु अन्योलमा परेका छन् ।

उनीहरुले दुबै पार्टीले केन्द्रमा गम्भीर समिक्षासहित तालमेल गरेर अगाडी बढ्दा उचित हुने धारणा व्यक्त गरिरहेका छन् । दुबै उम्मेदवार चुनावी मैदानमा उत्रिए मत विभाजन हुने उनीहरुको आशंका छ ।

यता दाङको २ नम्बर निर्वाचन क्षेत्रमा पनि माओवादी विरासतका दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

नेकपाबाट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज निर्मल आचार्य चुनाव लड्ने भएका छन् भने नेकपा(माओवादी)ले पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सविन पोख्रेललाई एकल उम्मेदवार सिफारिस गरेको छ ।

ऊनीहरु दुबै पार्टीका बलिया उम्मेदवार हुन् । चुनावमा दुबै उम्मेदवार भिड्ने पक्का भए निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार