दाङ, साउन ११ — दाङमा कम्युनिस्ट आन्दोलनका अग्रणी नेता तथा नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको ८० वर्षको उमेरमा निधन भएको छ।
उनको सोमबार बिहान २:१० बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। तुलसीपुर उपमहानगरपालिका–११, हस्नापुर निवासी बस्नेत लामो समयदेखि मधुमेहबाट पीडित थिए। पछिल्लो समय उनी मृगौला रोगबाट समेत ग्रस्त रहेको स्थानीयवासी तथा एमालेबाट निर्वाचित वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिएका छन्।
चार दिनअघि निमोनियाबाट बिरामी भएपछि उनलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको थियो। त्यहाँ करिब एक सातासम्म उपचार गरिए पनि स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार हुन सकेन।
मृगौलाले काम गर्न छाडेपछि चिकित्सकको सल्लाहअनुसार आइतबार दिउँसो उनलाई आफ्नै घर हस्नापुर ल्याइएको थियो। घरमा करिब आधा घण्टा राखेपछि थप उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा आइतबार बेलुका करिब ८ बजे उनको मृगौलाको डायलासिस गरिएको थियो। तर उपचारकै क्रममा सोमबार बिहान उनको निधन भएको हो।
बस्नेत दाङमा कम्युनिस्ट आन्दोलनका एक अनुभवी, निष्ठावान् र प्रभावशाली नेताका रूपमा परिचित थिए। उनको निधनले दाङको राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.