राष्ट्रिय संकटको निर्विकल्प कार्यक्रम समाजवाद होः प्रवक्ता प्रकाण्ड

डेली न्युजराप्ती       ६ मंसिर २०८० १८:५६ मा प्रकाशित     129 No Comments

बसन्त विक

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको राष्ट्रिय संकटको निर्विकल्प कार्यक्रम समाजवाद मात्र भएको ठोकुवा गरेका छन ।  नेकपा मध्यकर्णाली ब्यूरोले कालिकोटको सदरमुकाम मान्ममा बुधवार (आज) आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले देश र जनताको रक्षा गर्ने एकमात्र कार्यक्रम समाजवाद निर्विकल्प कार्यक्रम भएको भन्दै यस्तो ठोकुवा गरेका हुन ।

उनले अहिले देशमा आर्थिक संकट चरम चुलिएमा पुगेको र राष्ट्रिय स्वाधीनता पनि गम्भीर संकटमा परेको भन्दै दलाल संसदीय पूँजीवादी व्यवस्थाका कारण यस्तो भएको दाबी गरे ।

प्रवक्ता प्रकाण्डले नेपालमा दलाल पूँजीवादी व्यवस्था बदलेर समाजवादी व्यवस्थामा नजाने हो भने देश भयावह हुने चेतावनी दिए ।उनले भने “नेपालमा समाजवाद चाहियो । यो शान्तिपूर्ण चाहियो । दलाल संसदीय व्यवस्था ठिक कि समाजवादी व्यवस्था ठिक ? भनेर जनतालाई फैसला गर्ने अधिकार दिनु पर्छ । नेपालमा यसका लागि देशभक्त,क्रान्तिकारी शक्ति,प्रगतिशील शक्ति सबैले दबाव दिन जरुरी छ ।”

प्रवक्ता प्रकाण्डले नेपालको संकटलाई समाधान तिर लिन समाजवादी मोर्चा समेत बनेको चर्चा गर्दै यो मोर्चामा नेपालका सबै माओवादी,कम्युनिष्ट, एमाले र काङ्ग्रेस समेत आउनु पर्ने बताए । काङ्ग्रेसले पनि समाजवादको कुरा गरिरहेकाले वैज्ञानिक समाजवाद र काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद बिच बहस गर्न नेकपा तयार भएको बताए ।

उनले भने “कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने दायित्व नेकपाको काँधमा आएको छ । समाजवादी मोर्चाको परिकल्पमा पनि नेकपाको हो । देशको रक्षा समाजवादले मात्र गर्छ । संसदवादले होइन । संकटको निकास क्रान्तिकारी अग्रगामी र परिवर्तनकारी तरिकाले दिनुपर्छ ।”

प्रवक्ता प्रकाण्डले देशका राजनीतिक पार्टी,परिवर्तनकारी क्रान्तिकारी शक्ति,देशभक्त शक्तिहरुले समयमा विचार गर्ने होईन भने नेपाल दक्षिण एशियाको युक्रेन बन्ने चेताबनी दिए ।

प्रवक्ता प्रकाण्डले भने “जनताको जीवन धरापमा छ । सबै पार्टीका इमान्दार नेता कार्यकर्ताहरु एकठाउँमा नआउने हो भने देश युक्रेन बन्नेछ । यो बनाउने साम्राज्यवादी षड्यन्त्र छ । केही दलालहरुले अमेरिकाको गुणगान गाएका छन । केही मान्छेहरु राष्ट्रघाती साम्राज्यवादको एजेण्ड छन । राष्ट्र धेरै खतरामा छ । सबै पार्टीका नेताहरु समस्या छ भन्नेमा सहमत छन । उनीहरु संसदवादबाट निकास खोज्न चाहान्छन तर संसदवादबाट निकास सम्भव छैन ।”

उनले संसदीय व्यवस्था दलाल , राष्ट्रघाती , मानवतस्कर, भ्रष्टाचारी र श्रमिक जनता माथि शोषण गर्ने व्यवस्था भएको दाबी गरे ।प्रवक्ता प्रकाण्डले २००६ साल देखि कम्युनिष्ट पार्टी स्थापना भएपनि जनताले गरेको बेला बेलाको क्रान्तिको सपना पुरा नभएको बताए ।उनले जनयुद्ध,एकीकृत जनक्रान्ति लगायतका सबै आन्दोलनका सहिदहरुको सपना नेपाल कम्युनिट पार्टीले पुरा गर्ने प्रतिवद्धता समेत जनाए ।श्रमिक जनताको मुक्तिको लागि संसदवादका विरुद्ध संघर्ष गरेर प्रचण्डबाट पार्टी अलग गरेको बताउदै भने “किरण जीको साथमा अढाई वर्षसगै बस्दै २०६९ मसिर ८ गतेका दिन नेपालमा श्रमिक जनताको मुक्तिको मार्ग निर्देशन गर्ने नेपाल कम्युनिष्ट पार्टी गठन भएको दिन हो । आज यो दिनलाई विशेष हर्ष उत्लाहसका साथ मनाउनु पर्छ ।”

उनले पार्टीको १० औ बार्षिकोत्सवका अवसरमा पार्टी नेता कार्यकता तथा आम जनतालाई हार्दिक शुभकामना पनि व्यक्त गरे ।प्रवक्ता प्रकाण्डले कालिकोटबासी जनताको साथमा नेकपा रहेको बताउदै कालिकोटे जनतालाई क्रान्तिकारी उर्जाभरीरहन र विचलित नहुन पनि आग्रह गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका अध्यक्ष विराट सीले मंसिर ८ लाई पर्वको रुपमा मनाउन अपिल गरे । मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सीको अध्यक्षतामा सम्पन्न जनसभाको संचालन नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सीले गरेका थिए । कार्यक्रम सुरु हुनु पूर्व जिल्लाका विभिन्न पालिकाबाट झाँकी,नारा जुलुस गरी हजारौ जनता कार्यक्रम स्थल मान्म बजार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार