इमानदार राजनीतिक शक्तिसंग घनिष्ठ सम्बन्ध कायम गर्न चाहन्छौं: नेता एटम

डेली न्युजराप्ती       २७ माघ २०८० २०:४० मा प्रकाशित     165 No Comments

हेमन्त प्रकाश ओली ।

माघ २७ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका पिबिएम एटम सीले इमानदार राजनीतिक शक्तिसंग घनिष्ठ सम्बन्ध कायम गर्न चाहेको बताएका छन् ।

शनिबार तुलसीपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता एटम सीले उक्त कुरा वताएका हुन् ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीको आयोजनामा आयोजित वर्तमान परिस्थिति र नेपाली बिशेषताको समाजवाद विषयक अन्तरक्रियालाई प्रमुख वक्ताको रुपमा बोल्दै नेता एटमले भने– ‘ नेपालमा राजनीतिक संकट भयंकर डरलाग्दो अवस्था छ । हामिले नेपालको वर्तमान परिस्थिति , यसको संकट निकासका लागि लड्न प्रयत्नशिल हुने इमानदार राजनीतिक शक्तिसंग नेकपाले घनिष्ठ सम्बन्ध स्थापित गर्न चाहन्छौं , सुझाव लिन चाहेका छौँ र सहकार्य पनि गर्न चाहेका छौँ ।’

दलाल पुजीवादी सत्ताको कारणले जनताले दुख पाएका छन् , उनले थप भने ,  ‘ आज नेपाली जनताको अवस्था कहालीलाग्दो छ । एकछाक टार्नपनि मुस्किल भइरहेको बेला राज्यसत्तामा हालीमुहाली गरिरहेका दलालहरुले मुलुकमा काण्डैकाण्ड मच्चाएर रजाइँ चलाइरहेका छन् । यहाँको अर्थतन्त्र दलाल पुजीवादीको कब्जामा छ । राजनीतिक , आर्थिक , सामाजिक , सांस्कृतिक लगाएत तमाम क्षेत्रहरु संकटग्रस्त छन् । जनताले अब यो व्यवस्थालाई टेको लगाउने छैन , उनिहरु बिद्रोह गरिरहेका छन् ।’

नेता एटमले अमेरिकी साम्राज्यवादले अघि सारेको एमसिसी प्रोजेक्ट भयानक खतरापूर्ण सैन्य परियोजना भएकाले जनताले यसलाई लागू हुन नदिन सडक संघर्ष गर्नुपर्ने बताए ।

कम्युनिस्टहरुले संकटको मात्रै कुरा गर्दैनन् , यसको समाधान पनि दिन सक्छन् , उनले थपे ‘ हामिले भनेका छौँ अहिलेको संकट केबल दल , पार्टी र व्यक्ती बिशेषको कुरा मात्रै होइन , यो व्यवस्थाक्प दोष हो । अहिले नेपालमा चलिरहेको दलाल पुजीवादी संसदीय सत्ताले देश र जनताको भाग्य र भविष्यको फैसला गर्न सकेन भन्ने कुरा पटकपटक प्रमाणित भइसकेको छ । हाम्रो पार्टीले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको कुरा गरेका छौँ । वैज्ञानिक समाजवाद अहिले नै सम्भव छैन भनेपनी अहिले हाम्रो पार्टीले भनेको नेपाली मौलिकता सहितको समाजवाद अपरिहार्य बन्न पुगेको छ । नेपालका सबै दलले जनतामा समाजवाद भन्दै भोट मागिरहेका छन् , पटकपटक सरकारमा पनि गएका छन् । जनताले समाजवाद चाहेका छन् । समाजवाद सबैको साझा विषय हो भने समाजवादमा जान किन तयार नहुने ? त्यसैले हाम्रो स्पष्ट कुरा छ , एकपटक नेपालका तीन करोड नेपाली जनतालाई वास्तविक शान्ती ,समृद्धि र स्वाधीनताको प्रत्याभूति हुने नेपाली बिशेषताको समाजवादमा जान तयार हौं । साझा फोरम बनाएर छलफल चलाऔं , नेकपा समाजवादका लागि इमानदार राजनीतिक शक्तिसंग सहकार्य गर्न तयार नै छ ।’

नेता एटमले समाजवाद गन्तव्य राखेका सबै दललाई त्यसको बिशेषताहरु ल्याउन सुझाब समेत व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा अवधारणा पत्रमाथी बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सीले  नेपालमा अहिले निराशाको डढेलो सल्किएको बताए ।

उनले भने – ‘ नेपालमा निराशाको डढेलो सल्किएको छ । यसलाई नियन्त्रण गर्ने साझा निष्कर्ष भनेको समाजवाद हो । नेपालको आजको समस्यालाई हल गर्नका लागि साझा फोरम मार्फत काम गर्न चाहेका छौँ ।’

२००७ सालदेखी अहिलेसम्म केही राजनीतिक फेरबदल बाहेक जनताको आर्थिक जीवन बदलिएन , उनले थपे ‘ जनताको आर्थिक जीवन अहिलेपनी बदलिएको छैन , यसको अर्थ यो पनि हो जनताले आफ्नो शासन व्यवस्था प्राप्त गरेका छैनन् । संविधानमा समाजवाद उन्मुख लेखिएको छ तर अर्थतन्त्र नवउदारवादी हुँदै दलाल पुजीवादको कब्जामा छ , नियन्त्रण छ । नेपालमा अहिले अर्थतन्त्रले राजनीतिलाई निर्देशित गरेको छ ।’

यस्तै नेता सविन सीले समाजवाद भनेको मानव जिवनलाई खुसी बनाउने राजनीतिक प्रणाली भएको समेत बताए ।

समाजवाद सबैको साझा मिसन हो भने साझा न्युनतम कार्यक्रम बनाएर अघि बढ्न नेता सविनको आग्रह थियो ।

अन्तरक्रिया कार्यक्रमका अतिथि बिजौरी उवासंघका कोषाध्यक्ष कर्ण बहादुर वली , मानवअधिकारकर्मी प्रमोद न्यौपाने , दलित अधिकारकर्मी निर्मल नेपाली , राप्ती बबई क्याम्पसका सञ्चालक समितिका सदस्य निर्मल आचार्य , अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव निर्मला डिसि , शिक्षा क्षेत्रका हस्ती बिष्णु प्रसाद आचार्य , वैकल्पिक राजनीतिक अभियान्ता जीवन भण्डारी , नेकपा मशालका जिल्ला कमिटी सदस्य शसिराम बुढाथोकी , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सदस्य इश्वरी प्रसाद गैरे , जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष मोहन वली , नेकपा ( एस) का प्रतिनिधि डिल्ली बहादुर पुन , नेकपा एमाले तुलसीपुरका अध्यक्ष माधव वली , नेपाली कांग्रेसका सह-सचिव शेशमनि भण्डारी , रेडियो हाम्रो पहुँचका स्टेसन म्यानेजर बसन्त पौडेल , प्रदेश टुडेका कार्यकारी सम्पादक जितसागर जिएम , सिएनटी प्रेसका सञ्चालक तथा सम्पादक सागर सुवेदी लगाएतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमाथी कार्यक्रमका अतिथि लगाएत संघ/संस्थाका प्रतिनिधिहरुले टिप्पणी गरेका थिए ।

नेकपाकि नेतृ रेखा सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नेकपा तुलसीपुरका सेक्रेटरी शिव सीले गरेका थिए भने सहजीकरण पार्टीका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार