शान्ती र समृद्धिको नाराभित्र साम्राज्यवादले बम बोकेर हिँडेकाे छ : विप्लव सी

डेली न्युजराप्ती       २१ चैत्र २०८० ०६:२३ मा प्रकाशित     87 No Comments

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादले शान्तिको गुलियो नाराभित्र बम बोकेर हिँडिरहेको बताएका छन् । मङलबार समाजवादी मोर्चाद्वारा आयोजित नेपाली विशेषताको समाजवाद विषयक बृहत अन्तरकृया कार्यक्रममा अवधारणा प्रस्तुत गर्दै विप्लवले यस्तो बताएका हुन् ।

दुई ध्रुवमा विभाजित आजको विश्वमा भुमन्डलीकृत साम्राज्यवादले विश्व शान्ति र समृद्धिको नाराभित्र समाजवादीहरुलाई परास्त पार्न बम बोकेर हिँडिरहेको बताए । समाजवादी मोर्चाका संयोजकसमेत रहेका विप्लवले भने, ‘अहिले विश्व विशाल २ ध्रुवमा विभाजित छ, एउटा समाजवादी ध्रुव र अर्को साम्राज्यवादी ध्रुव । यसमध्य साम्राज्यवादी ध्रुवले आफ्नो मरणासन्न दलाल प्रवृत्तिलाई बचाएर समाजवादी ध्रुव परास्त पार्न चाहन्छ । त्यसैको उपज अहिलेको भुमन्डलीकृत विश्वलाई लिन सकिन्छ र नेपालमा उसले बढाएको हस्ताक्षेपबाट सहजै अनुमान गर्न सकिन्छ । जो एमसीसीको नाममा व्यक्त भएको छ ।’

 साम्रज्यवादले नेपालको सार्वभौमिकता र अखण्डतामा गम्भीर खतरा निम्त्याएको भन्दै त्यसैलाइ मध्यनजर गरी नेपालमा देखिएको अर्थराजनितिक अन्तरविरोधकाे उपजका रुपमा समाजवादी मोर्चालाई लिन सकिने बताए । अहिले त्यसैको फाइदा उठाउदै परास्त भैसकेका शक्तिहरु सलबलाउन थालेको उनको भनाई थियो ।

‘जनताको त्याग र बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्र पनि क्रान्तिको उपलब्धि हो तर त्यसैलाई मास्न साम्राज्यवादी शक्तिहरु लागि परेका छन् । त्यसको रक्षा गर्नु पनि यो मोर्चाको दायित्व हो ।’, उनले भने, ‘तर त्यति मात्रैले पुग्दैन । आजको आर्थिक, राजनीतिक, सांस्कृतिक सबै समस्याको समाधान भनेको नेपाली विशेषताको समाजवाद हो ।’

समाजवादी मोर्चा नेपाली विशेषताको समाजवाद प्राप्तिका लागि जन्मिएको विप्लवको जिकिर थियो । विप्लवले नेपालका युवालाई निरास बनाउन साम्राज्यवाद लागिपरेको बताउँदै यसलाई रोक्न र नेपाली विशेषताको समाजवादी ल्याउन मोर्चा बनेको ठोकुवा गरे । ‘यसको समाधान मान्छेले मात्र होइन सिस्टमले गर्नु पर्छ । यो राज्य जनताको राज्यमा रुपान्तरण भैसकेको छैन । त्यसका लागि पनि जनतालाई आसा जगाएर अर्को आन्दोलनको विकल्प खोज्नु पर्छ।’, विप्लवले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार