न्यूजिल्याण्डले आइसिसी टी–२० विश्वकप क्रिकेटको सुखद अन्त्य गरेको छ । गएराति सम्पन्न समूह चरणको अन्तिम खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई सात विकेटले हराउँदै न्यूजिल्याण्डले सुखद अन्त्य गरेको हो ।
समूह ‘सी’ मा रहेको न्यूजिल्याण्ड यसपटक सुपर–८ मा भने पुग्न चुक्यो । उसले समूह चरणमा चारमध्ये दुईमा जित र दुई खेलमा हार बेहोर्याे । अन्तिम खेलमा पिएनजीले दिएको ७९ रनको लक्ष्य न्यूजिल्याण्डले १२.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि डेभन कन्वेले ३५, डायरिल मिचेलले १९ र कप्तान केन विलियम्सनले अविजित १८ रन बनाए । पिएनजीका लागि काबुआ मोरियाले दुई र सेमो कामियाले एक विकेट लिए ।
त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पिएनजी १९.४ ओभरमा ७८ रनमा अलआउट भयो । उसका लागि चार्ल्स अमिनीले १७, नोर्मन भानुआले १४ र सेसे बाउले १२ रन बनाए ।
न्यूजिल्याण्डका लागि लकी फर्गुसनले अविश्वसनीय बलिङ गरे । उनले ४ ओभरमा कुनै रन नदिएर तीन विकेट लिए । योसँगै फर्गुसन पुरुष टी–२० विश्वकपमा ४ ओभर नै मेडन राख्ने पहिलो बलर बनेका छन् ।
यस्तै, पिनजीविरुद्ध ट्रेन्ट बोल्ट, टिम साउथी र इश सोढीले दुई/दुई र मिचेल सान्टनरले एक विकेट लिए । समूह ‘सी’ न्यूजिल्याण्डले चार खेलमा चार अंक जोड्यो । ऊ अंक तालिकाको तेस्रो स्थानमा रह्यो । पिएनजी भने चारवटै खेलमा हार बेहोर्दै अंकविहीन बन्यो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.