ओली सरकारको दिनगन्ती सुरु,विपक्षी दलहरुले ओली-देउवा गठबन्धन विरुद्ध गरे यस्तो तयारी

डेली न्युजराप्ती       ९ आश्विन २०८१ १२:५१ मा प्रकाशित     177 No Comments

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेको मौका छोपेर नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारविरुद्ध विपक्षी दलहरुकोबिच मोर्चाबन्दी सुरु भएको छ। असार १७ गते संविधान संशोधनसहित ७ बुँदे सहमति गरेको सत्ता गठबन्धन विपक्षीलाई पेलेर जाने योजनासाथ अगाडि बढेको भन्दै उनीहरूले मोर्चाबन्दी प्रयास सुरु गरेका हुन् ।

सरकारको प्रारम्भिक रूझान भ्रष्टाचारविरुद्धको अभियानलाई निस्तेज पार्ने, संविधान संशोधनमार्फत प्रतिगमन लाद्ने खालको निष्कर्ष प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीको रहेको छ । पार्टी निर्माण र पछिल्लो राजनीतिक अवस्थाबारे आन्तरिक बैठकमा गम्भीर छलफल गरेको माओवादी केपी ओली सरकारको १ सय दिनको काम हेरेर प्रतिरोधको कार्यक्रम ल्याउने तयारीमा छ । कात्तिकको पहिलो हप्ता वर्तमान सरकार गठन भएको सय दिन पुग्दै छ ।

ओली सरकार सुशासन कायम गर्नेभन्दा पनि अघिल्लो सरकारले ल्याएको भ्रष्टाचारविरूद्धको अभियानलाई बिथोल्न उद्धत रहेको माओवादीको ठहर छ । माओवादीले दसैँ लगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । सोही बैठकले विचार मिल्ने दलहरूसँग एकता र बृहत् वामपन्थी ध्रुवीकरणसहित सरकारविरुद्ध सदन र सडकबाट सशक्त प्रतिरोधको कार्यक्रम ल्याउने योजना माओवादी लगाएत विपक्षी दलहरुको छ ।

सत्ताच्यूत भएसँगै माओवादीले पदाधिकारी, स्थायी समिति बैठक बसेर गम्भीर छलफल गरेको थियो । भर्खर प्रदेशस्तरीय परामर्श समिति बैठक सम्पन्न गरेको उसले समाजवादी मोर्चाका साथै मित्र शक्तिहरूलाई गोलबन्द बनाउने रणनीतिमा रहेको छ । सत्ता बाहिर रहेको विप्लव नेतृत्वको नेकपा र बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीबाट चोइटिएको महिन्द्र राय यादव समूहसँग तत्काल एकता गर्ने तयारीमा छ । एकीकृत समाजवादी लगायत अन्य वामपन्थी शक्तिसँग वृहत् ध्रुवीकरण गरी सरकारविरुद्ध मोर्चाबन्दी बनाएर जाने सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार