असोज २०,दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले देउखुरीका ३ वटा पालिकामा कार्यरत जिल्ला समिती सदस्यहरुसंगको समिक्षा बैठक सम्पन्न गरेको छ ।
आइतबार पार्टीले राप्ती गाउँपालिका ,लमही नगरपालिका र राजपुर गाउँपालिकामा कार्यरत जिल्ला सदस्यहरुसंग संयुक्त समीक्षा बैठक सम्पन्न गरेको हो ।
संयुक्त समीक्षा बैठक लमहिका छुट्टाछुट्टै स्थानमा सम्पन्न भएको हो ।
समीक्षा बैठकमा रिपोर्टिङ गर्दै जिल्ला तहका नेताकार्यकर्ताले पार्टीका उच्च तहका नेतृत्व नै जनतामा पुग्नुपर्ने , जनवर्गीय संगठनलाई चलायमान बनाउनुपर्ने , उत्पादनलाई अझै प्रभावकारी बनाउनुपर्ने , समाजवादी कार्यक्रमको प्रचारप्रसारलाई तिव्र बनाउनुपर्ने , वित्तीय आतंक , मिटरव्याज , लघुवित्तिय आतंकका विरुद्ध जनसंघर्षलाई अगाडि बढाउनुपर्ने सुझाव व्यक्त गरेका थिए ।
साथै रवी र दुर्गा प्रसाईँजस्ता फन्टुसहरुको भ्रममा नजानिदो पाराले जनता बरालिने खतरा भएको नेताकार्यकर्ताले रिपोर्ट पेश गरेका थिए ।
यस्तै नेताकार्यकर्ताको रिपोर्टिङमा उठेका प्रश्नको जवाफ दिदै पार्टीका पिबिएम एवम केन्द्रीय न्याय बिभाग प्रमुख शितल सीले मुखमा समाजवाद र खल्तीमा पुँजिवाद नबोक्न नेताकार्यकर्तालाई निर्देशन दिए ।
उनले भने – ‘ हामी सैद्धान्तिक ढंगले नेपाली जनतालाई समाजवादी कार्यक्रमका बारेमा प्रशिक्षित गराइरहेका छौँ। हामिले दर्शन र आदर्शका ठुलाठुला कुरा गरेर मात्रै हुँदैन , व्यवहारिक रुपमा जनताका बिच समाजवादी बन्न सक्नुपर्दछ । हामिले मुखमा समाजवाद र खल्तीमा पुँजिवाद बोक्नु हुँदैन । हामिले जनताका बिचमा वास्तविक समाजवादी चरित्र प्रदर्शन नगर्दासम्म जनता हामिप्रती आकर्षित हुदैनन् ।’
‘नेपालका संसदवादीले मिसन ०८४ को नारा दिएर पुनः जनतालाई भ्रम दिने कोसिस गरिरहेका छन् , यो सम्पुर्ण रुपले भ्रमपुर्ण कुरा हो । संसदीय व्यवस्थाबाट देश र जनताको भविष्य सुनिश्चित हुँदैन बरु यो अझै संकटग्रस्त हुँदै जाने निश्चित भएको छ । त्यसैले नेकपाले मिसन ०८४ को नारा होइन मिसन समाजवाद बनाउने गरि सोचेको छ । हामी यो मुलुकमा समाजवाद स्थापना गर्न चाहान्छौँ । संसदीय व्यवस्था पटकपटकको प्रयोगमा असफलसिद्ध भइरहेको छ । अहिलेको यो दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्प नेपाली बिशेषताको समाजवाद हो , जसलाई हाम्रो पार्टीले प्रस्ताव गरेको छ । हाम्रो पार्टीको निष्कर्ष नै अहिलेको राजनीतिक , आर्थिक , सामाजिक , सांस्कृतिक एवम तमाम प्रकारका संकटको निर्विकल्प निकास समाजवाद नै हो भन्नेछ । समाजवादका बारेमा साझा बहसका लागि पार्टीले बहसको फोरम खुल्ला गरेको छ ।’
यस्तै समीक्षा बैठकमा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले समाजवादी व्यवस्थाले समाजमा समानता, न्याय, र समृद्धि स्थापना गर्ने बताए।
उनले भने – ‘समाजवाद एक राजनीतिक, आर्थिक, र सामाजिक प्रणाली हो, जसको मुख्य उद्देश्य समाजमा समानता, न्याय, र समृद्धि स्थापना गर्नु हो। समाजवादमा उत्पादनका साधनहरू व्यक्तिगत स्वामित्वमा नभएर सामूहिक स्वामित्वमा हुन्छ, ताकि सम्पत्तिको वितरण सबै नागरिकहरूबीच समान रूपमा होस्। समाजवादमा उद्योग, जमिन, बैंक, शिक्षा, स्वास्थ्य लगायतका महत्वपूर्ण क्षेत्रहरूमा सरकार वा समुदायको स्वामित्व हुन्छ। यसले गर्दा एक व्यक्तिले मात्र सम्पत्ति र स्रोतहरूको फाइदा लिने होइन, पूरै समाज लाभान्वित हुन्छ। त्यसैले कसरी यो व्यवस्था जनहितकारी हुँदैन ? हुँदैन भन्नेहरु नै अशान्तिका कारक हुन् । नेपाललाई समृद्ध हुन नदिने देशी-विदेशी प्रतिक्रियावादी तत्वबाट नेकपा सचेत छ , आवश्यकतामा प्रतिरोध गर्नपनि तयार छ तर जुनकुनै मुल्य चुकाएर भएपनी पार्टी समाजवादका पक्षमा अडिग छ ।’
नेता सविनले समाजवादको प्रमुख उद्देश्य आर्थिक समानता भएको र यसमा पुँजीको वितरण समान बनाउनुपर्ने मान्यता रहने , ताकि गरीब र धनीबीचको अन्तर घटाउन सकिने कुरा बताए ।
यस्तै समीक्षा बैठकमा बोल्दै पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले समाजवादी राज्यहरूमा उत्पादन र वितरणका नीतिहरू केन्द्रीयरूपमा योजना गरिने , आर्थिक गतिविधिहरूलाई सरकार वा जनताको नियन्त्रणमा राखिने ताकि निजी मुनाफा होइन, समाजको समग्र कल्याण सुनिश्चित हुने , सबै नागरिकलाई समान अवसर, शिक्षा, स्वास्थ्य, र रोजगारका अवसरहरू प्रदान गर्ने , सामाजिक असमानता र अन्यायलाई हटाइने ,समाजवादी सिद्धान्तमा सरकार वा राज्यका सबै निर्णयहरू जनताको हितका लागि हुने , जनताको सहभागिता र उनीहरूको आवश्यकता प्राथमिकतामा राखिने , समतामूलक समाज बनाउने जहाँ धनी र गरीबको असमानता घटाउन सकिने , सबैलाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउन सकिने र उत्पादनका साधनहरूको सामूहिक स्वामित्व र प्रयोगबाट सबैको हित हुने भएकाले जनतालाई राम्रोसंग समाजवादी कार्यक्रम बुझाएर आन्दोलनमा गोलबन्द गर्न आग्रह गरेका थिए ।
उनले सरल र सहज ढंगले जनतालाई समाजवादी कार्यक्रम बुझाउन नसके जनता गुमराहमा पर्ने खतरा रहेको औल्याएका थिए ।
नेकपा दाङले राष्ट्रिय राजनितिमा नेकपा वैकल्पिक शक्तिको रुपमा उदाइरहेकाले नेताकार्यकर्ताको काँधमा थप गहन जिम्मेवारी थपिएको महसुस गरिएको बताउदै आएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.