वि.आर.आई बारे अनावश्यक विवाद नगरौं:पुर्वप्रधान्त्री झलनाथ खनाल

डेली न्युजराप्ती       ८ मंसिर २०८१ ११:२३ मा प्रकाशित     119 No Comments

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वि.आर.आई बारे अनावश्यक बिवाद नगर्न आग्रह गरेका छन्। उनले बिहिबार एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
बिज्ञप्तिमार्फत् नेता खनालले नेपालले २०१७ मा नै वि.आर.आई संझौता गरेको उल्लेख गर्दै नेपालका एक पछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चिन विरोधी कुप्रचारको शिकार भएर वि. आर. आई सहयोगलाई “ऋण पासो ” का रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्य माथि खेलवाड गरिरहेको बताएका छन् । उनले यस पटक प्रधानमंत्रीको चीन भ्रमण हुँदा यी पूर्वाग्रहहरुलाई तोड्दै वि.आर.आई लगायत नेपालको राष्ट्रिय हित अनुकुल हुने अन्य अनेकौं विषयमा संझौता होला भन्ने आशा जनताले गरेको समेत बताएका छन ।
यस बिषयमा ·पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘वि.आर.आई बारे अनावश्यक बिवाद नगरौँ ।
नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढौँ ।।
नेपालको उत्तरी छिमेकी मुलुक जनवादी गणतन्त्र चिनले करिब १० वर्ष अघि सारेको वेल्ट एण्ड रोड पहलकदमी शुरुमा चीनले अघि सारेको भए पनि अब त्यो एउटा विश्वव्यापी अवधारणा र परियोजना बनेको छ । विगत १० वर्षको अवधिमा बदलिंदो विश्व परिवेशमा वेल्ट एण्ड रोड परियोजनामा विश्वका १५३ मुलुकहरु एक वा अर्को संझौतामा जोडिई सकेका छन । ती मुलुकहरुमा ३००० भन्दा बढी ठूला, मझौला र साना योजनाहरुमा संझौता भएका छन र तिनीहरु लागु भईरहेका छन । यी परियोजनाहरुमा अहिले सम्म १.४ ट्रीलियन डलर भन्दा बढी लगानी भईसकेको छ र विभिन्न देशमा लाखौं लाख जनताले रोजगारी समेत प्राप्त गरेका छन र गर्दैछन ।
नेपालले पनि २०१७ मा नै वि.आर.आई संझौता गरेको थियो । अहिले ७ वर्ष बितिसकेको छ । तर नेपालका एक पछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चिन विरोधी कुप्रचारको शिकार भएर वि. आर. आई सहयोगलाई “ऋण पासो ” का रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्य माथि खेलवाड गरिरहेका छन । यस पटक प्रधानमंत्रीको चीन भ्रमण हुँदा यी पूर्वाग्रहहरुलाई तोड्दै वि.आर.आई लगायत नेपालको राष्ट्रिय हित अनुकुल हुने अन्य अनेकौं विषयमा संझौता होला भन्ने आशा जनताले गरेका छन ।
तर फेरी पनि वि.आर.आई गर्ने कि नगर्ने भन्ने विषयमा नै सत्तारुढ दुई दल बीच वहस भैरहनु र ठोस निणर्य गर्न नसक्नु मुलुक कै निम्ति विडम्वना बन्न पुगेको छ । त्यहि वि.आर. आई विश्वका १५३ देशहरुका लागि हितकर हुने तर नेपालको निम्ति “ऋण पासो” कसरी हुन्छ ? यो कहाँको स्टान्डर हो ? सत्तारुढ दलहरु नेपाली बुद्धिले चल्छन कि पश्चिमाहरुको निर्देशनमा चल्छन ? नेपाली जनता आश्चर्य चकित भईरहेका छन । त्यसैले सत्तारुढ दुई दलका नेताहरु सरकार र प्रधानमंत्रीलाई म के भन्न चाहन्छु भने हामी नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखौँ, भूराजनीतिको “पासो” मा नफसौ, नेपाली बुद्धिले अन्तराष्ट्रिय सम्वन्धलाई हेरौ, छिमेकमा चीन जस्तो विकासवान विश्वकै दोस्रो आर्थिक शक्ति हुनु हाम्रा निम्ति ठूलो औसर समेत हो, त्यो औसरलाई बुद्धिमतापूर्ण रुपले ग्रहण गरांै, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर वि.आर.आई कार्यान्वयन लगायतका विभिन्न संझौताहरु गरेर चीनसंग सहयोग र सम्बन्धलाई गहिरो बनाउँदै राष्ट्रिय विकास र निमार्ण कार्यलाई गति प्रदान गरौं । चीनसंगको सहयोग र सम्बन्ध नेपालको विश्वसंगको सहयोग र सम्बन्धको अभिन्न अङ्ग हो । हरेक देशसंग हाम्रा सम्बन्धका विशिष्ट आयामहरु हुन्छन । अरु देश वा शक्तिले के भन्छन भनेर होइन हामीले हाम्रो देशको राष्ट्रिय हितलाई सर्वोपरि राखेर कुनै पनि देशसंगका सम्बन्धलाई र सहयोगलाई अघि बढाउन सक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार