नेपालगञ्ज । नेपालगञ्जमा आगामी फागुन १९ गते देखि २९ गते सम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घ सँगको सहकार्यमा प्रतियोगिता आयोजना हुन लागेको जनाइएको छ । बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बाँकेमा महिला फुटबललाई पुनःजीवन दिने अपेक्षा सहित प्रतियोगिता गर्न लागेको जानकारी दिए । महिला खेलाडी उत्पादन र विकासको लक्ष्य राखेर यो प्रतियोगिता हुन लागेको उनको भनाइ छ ।
एन्फाका केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष शाहीले बाँकेमा महिला फुटबलरको इतिहास स्मरण गर्दै लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय सशक्त टिम सहभागी गराउने गरी आवश्यक तयारी थालिएको पनि जानकारी दिए । “त्यसैलाई लक्षित गरेर सबै स्थानीय तहमा छनोट, प्रशिक्षण लगायत कार्यक्रम गरिनेछ”, उनले भने । उक्त प्रतियोगिता भन्दा अघि नेपालगञ्जमा महिला फुटबल मेयरकप पनि आयोजना गर्न लागिएको उनको भनाइ छ ।
आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिताको तयारी थालिएको उल्लेख गर्दै ‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आवतजावतलाई प्राथमिकतामा राखेको बताए। प्रतियोगिता आयोजनाका लागि नेपालगञ्ज रङ्गशालामा सचिवालय पनि स्थापना गरिएको छ ।
लुम्बिनी कपको पहिलो संस्करणमा भारतका दुई र नेपालका ६ गरी आठ वटा क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको लोगो नेपाली राष्ट्रिय महिला फुटबल टिमका पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एञ्जिला तुम्बापो सुब्बाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । लोगोमा भगवान गौतम बुद्ध, खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रङ समेटिएको छ ।
रासस
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.