संसदबाट पनि देश र जनताको पक्षमा लड्न चुनावमा आएका हौं:विप्लव

डेली न्युजराप्ती       २७ माघ २०८२ २१:१५ मा प्रकाशित     120 No Comments

हेमन्तप्रकाश वली ।
माघ २६,देउखुरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले संसदबाट पनि देश र जनताको पक्षमा लड्न चुनावमा भाग लिएको बताउनुभएको छ ।
सोमबार दाङको लमहीमा चुनावी बिशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पार्टीको पश्चिम लुम्बिनी प्रदेशको आयोजनामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव चन्दले भन्नुभयो– ‘देश र जनताको पक्षमा सडकबाट लडाईको नेतृत्व गरेका हौं तर अब सदनबाट पनि लड्नुपर्छ भनेर चुनावमा आएका छौँ । यो चुनाव विशेष परिस्थितिमा षड्यन्त्रमुलक ढंगले हुँदैछ , जनतालाई बुझाउदै हाम्रा विषयहरु राख्ने छौँ । यो चुनाव एकीकृत क्रान्तिको एउटा मोर्चा हो । अहिलेसम्मका कम्युनिस्टहरुको बुझाई भन्दा भिन्न संघर्षको मोर्चा हो ।’

विप्लवले पार्टीको राजनीति स्वार्थकेन्द्रित नभई देश र जनताको मुक्तिका लागि समर्पित रहेको बताउनुभएको हो। उहाँले आफूहरूका विषय र प्रस्तावहरू नेपाली जनताको दुःख, पीडा र भविष्यसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो ।

विप्लवका अनुसार पार्टीले जनताको अधिकारका लागि सशस्त्र संघर्ष, आन्दोलन, जेल जीवन र बलिदानका विभिन्न चरण पार गर्दै आएको र अहिले निर्वाचनलाई पनि संघर्षको एक मोर्चाका रूपमा लिएको बताउनुभयो । “हामी संसदमा सुविधा भोग्न होइन, जनताको मुद्दा उठाउन र राज्य व्यवस्था बदल्न जान खोजिरहेका छौँ,” उनले भने।

उहाँले वर्तमान राज्य संरचना र अर्थतन्त्र दलाल तथा मुट्ठीभर धनाढ्यको नियन्त्रणमा रहेको आरोप लगाउँदै श्रम गर्ने जनताको पक्षमा व्यवस्था परिवर्तन आवश्यक रहेको बताए। साथै, देशभर उम्मेदवार र कार्यकर्ताले जनताबाट सकारात्मक प्रतिक्रिया र समर्थन पाइरहेको दाबी गर्नुभयो ।

महासचिव विप्लवले जनताको सल्लाह र सुझावअनुसार अघि बढ्दै जनमुखी राज्य, श्रमिकमैत्री अर्थतन्त्र र न्यायपूर्ण समाज निर्माण गर्ने पार्टीको लक्ष्य स्पष्ट रहेको बताउनुभयो ।

महासचिव चन्दले पहिलोपटक चुनावमा होमिएको पार्टीले संविधानको संसोधन गर्दै राज्यको अग्रगामी पुनर्संरचना , संविधानको पुनर्लेखन , अग्राधिकार सहितको समाजवादी संघीयता , नयाँ आर्थिक प्रणालीको विकास , रोजगारीको सिर्जना , भ्रष्टाचार विरुद्ध बिशेष न्यायलय लगाएतका एजेन्डा सहित चुनाव होमिएको बताउनुभयो ।

विप्लवले देशका थुप्रै निर्वाचन क्षेत्रमा जनताको पार्टीप्रति उत्साहपुर्ण समर्थन रहेको बताउँदै गुलाफ चिन्हमा मतदानगरी पार्टीका उम्मेदवारहरुलाई विजय बनाउन अपिल समेत गर्नुभएको थियो ।

पार्टीका स्थायी समिती सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष बुढामगर (विषम)को अध्यक्षतामा भएको विशेष प्रशिक्षण कार्यक्रमको सञ्चालन पार्टीका पोलिटब्युरो सदस्य अमर झाक्री (सञ्जीव)ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार