नेकपा दाङले सहिद क.महानको स्मारक शिलान्यास गर्दै मनायो ११औं पार्टी पुनर्गठन दिवस

डेली न्युजराप्ती       ८ मंसिर २०८१ २१:२३ मा प्रकाशित     94 No Comments

मंसिर ८,दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले सहिद क.महानको स्मारक शिलान्यास एवम जनश्रमदान गर्दै ११औं पार्टी पुनर्गठन दिवस मनाएको छ ।
पार्टीले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (क.महान)को स्मृतीमा बबई गाउँपालिका-३ हंसपुरमा स्मारकको शिलान्यास एवम जनश्रमदान गर्दै पुनर्गठन दिवस मनाएको हो ।

११औं पार्टी पुनर्गठन दिवसको अवसरमा स्मारक निर्माणस्थल-जनश्रमदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी पार्टीका स्थायी कमिटी सदस्य सन्तोष सीले जनयुद्धको उदेश्य पूरा नहुँदै बिचमा नेतृत्वले विघटन गरेपछी पार्टी पुनर्गठन गर्नुपरेको बताए।

उनले भने – ‘जनयुद्धले दुईवटा पहाड भत्काउनुपर्ने थियो तर त्यो सफल हुन सकेन वा भनौं नेतृत्वले महान जनयुद्धलाई विसर्जन गर्न पुगे । दुईवटा पहाड सामन्तवाद र साम्राज्यवादको पहाड नभत्काउदै प्रचण्ड-बाबुरामहरु प्रतिक्रियावादी सत्तामा घुस्न पुगे , अंगालो मार्न पुगेपछी हामिले जनतालाई धोका भयो भनेर पार्टी पुनर्गठन गरेका हौं । पार्टी पुनर्गठन गरेको हामिले एक दशक भयो । यसले जनतालाई नयाँ आशाको रक्तसञ्चार भएको छ । सहिदको सपना साकार पार्न , समाजवादी व्यवस्थाको सपना पूरा गर्न प्रतिवद्ध छौँ।’

‘मंसिर ८ पुरानो संसदीय व्यवस्थाका विरुद्धको बिद्रोह थियो । हामिले पटकपटक त्यो बिद्रोहको औचित्य पुष्ठि गरिरहनु पर्दैन । जनताले नाँगो आँखाले देखेका छन् यो बिचमा देशले केके भोग्नुपरेको छ । नेपालमा संसदीय व्यवस्था पुर्णरुपले असफल सावित भएको छ । यो व्यवस्थाले नेपाली जनतालाई कंगाल बनाएको छ । आज नेपालका करोडौं युवाहरुले आफ्नो श्रम र पसिना सस्तो मुल्यमा बिदेशी मरुभूमिमा बेच्नुपरेको छ । किसान , मजदुर , महिला , श्रमिक जनता टाट पल्टिएका छन् । देशका राष्ट्रिय उधोगी , व्यवसायीहरु दिनानुदिन निराश भइरहेका छन् । बेरोजगार , भ्रष्टाचार , व्यथिती , विसंगती , हत्या , हिंसा लगएतका सामाजिक अपराधले सिमा नाघेको छ । तसर्थ हामिले दशकअघि गरेको कुरा सहि सावित भयो , यो व्यवस्था टिकेन यसको विकल्प नेपालमा समाजवादी व्यवस्था हो । हाम्रो प्रस्ताव यहीँ हो , अब सबै सकारात्मक बनेर देशलाई यो गतिहीनताबाट गतिशीलतातिर लैजान समाजवादतिर जाऔं भन्ने हाम्रो कुरा छ ,’ उनले भने।

नेता सन्तोष सीले सिनेमाको दुई पर्दा जस्तै पहिलो भागको हिरो प्रचण्ड प्रतिक्रियावादी सत्ताबाट अपहरित भइसकेपछि सिनेमाको दोस्रो भागको हिरो भएर विप्लव आएकाले अब नेपालको भाग्य र भविष्य विप्लवको हातमा रहेको बताए ।

उनले संसोधनवादि र साम्राज्यवादीको हातबाट क्रान्तिलाई बचाएर आएकाले यसलाई विचमा यत्तिकै नछोडिने साथै निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

११औं पार्टी पुनर्गठन दिवसको अवसरमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीले मंसिर ८ गते नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण दिन भएको बताए ।

उनले भने – ‘मंसिर ८ गते नेपालको राजनीतिक इतिहासमा सामान्य दिन होइन , यो विशिस्ट दिन हो । नेपालको माओवादी झण्डालाई वर्गवैरीसामु नेतृत्वले फालिदिएपछि त्यो झण्डा सचेततापुर्वक उठाएको महान र गौरवको दिन हो । प्रचण्ड-बाबुरामहरुले क्रान्ती सम्भव छैन् भनेर प्रतिक्रियावादी कित्ता उभिएपछी हामिले हाम्रो पार्टीको आदरणीय महासचिव विप्लव सीको नेतृत्वमा एकीकृत जनक्रान्तीको कार्यदिशा निर्माण गरेको दिन पनि हो । यसर्थ यो गौरव एवम ऐतिहासिक दिन हो । यस दिनमा सबै नेताकार्यकर्ताले समाजवादी क्रान्तिप्रती प्रतिवद्ध रहँदै अधुरो क्रान्ती पूरा गर्ने संकल्प गर्ने दिन हो।’

नेता सविन सीले पार्टीले आत्मनिर्भरताको लागि पार्टीले देशैभरीका नेताकार्यकर्तालाई उत्पादनमा जोडेको वताए।
उत्पादन नीति देखावटी बिषय मात्रै नभई समाजवादी व्यवस्थाको मोडल भएको समेत दाबी गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सल्लाहकार समितीका सदस्य सुन्दर सीले पार्टीमा जनतामाझ स्थापित हुँदै गएको र अब देशको नेतृत्व लिने बेला आएको बताए ।

उनले पार्टी ११औं वर्षमा पुग्दा जनतालाई पार्टीले संसदीय व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्थामा लामबद्ध गर्न सक्षम भएको समेत बताए ।

यस्तै पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) बबई गाउँकमिटीका उपाध्यक्ष रमेश सेन्चुरीले वर्गवैरीले गाउँगाउँमा टाउको उठाएकाले तिनका विरुद्ध पुनः एकपटक लड्नुपर्ने आवश्यकता भएकाले माओवादी धाराहरु बिचको एकतामा जोड दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बिक्रम सी , प्रदिप सी , पाटन सी , एकीकृत जनक्रान्तिका सहिद क.महानकि पत्नी मालती सी , सहिद परिवार धर्ती सी लगाएतको आतिथ्यता रहेको थियो ।

नेकपा दाङका कार्यालय सदस्य उज्वल सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए भने कार्यक्रमको सहजीकरण पार्टीका कार्यालय सदस्य निर्मल सीले गरेका हुन् ।

यस्तै पार्टीका स्थायी कमिटी सदस्य एवम पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा(क.महान)को स्मारक शिलान्यास गरेका हुन् भने सयौं नेताकार्यकर्ताले स्मारक निर्माणस्थलको जनश्रमदान गरेका थिए ।

पार्टीले ११औं पार्टी पुनर्गठन दिवसलाई कम्युनिस्ट पार्टीका ११ वटा झण्डा सहित ११ वटा बत्ती बालेर पुनर्गठन दिवस मनाएको हो ।

नेकपा दाङले सहिद क.महानको स्मारक जिल्लाको बबई गाउँपालिका-३ हंसपुरमा बनाउने पार्टी जिल्ला कमिटीको निर्णय अनुसार बिधिबत रुपमा आज शिलान्यास गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार