संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह सफल बनाउन रााजनीतिक दलको प्रतिबद्धता

डेली न्युजराप्ती       २८ जेष्ठ २०८० ०९:५६ मा प्रकाशित     109 No Comments

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सफल बनाउन राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् । यही जेठ ३१ गते हुन लागेको दीक्षान्त सभाको तयारी बारे जानकारी दिन विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्लास्थित राजनीतिक दलका प्रमुखहरुले दीक्षान्त समारोहलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रको गौरव बोकेको विश्वविद्यालयको महत्वपूर्ण कार्यक्रम दीक्षान्त समारोहलाई सफल बनाउनु आफूहरुको पनि दायित्व रहेको भन्दै राजनीतिक दलका प्रमुखहरुले भन्नुभयो, ‘नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हाम्रा लागि पनि महत्वपूर्ण छ । मुलुकको प्रमुख कार्यकारी व्यक्ति प्रधानमन्त्री, विदेशी पाहुनाहरु संलग्न हुने कार्यक्रममको तयारीमा हामी पनि जुट्छौं । विश्वविद्यालयले दिएको जिम्मेवारी पुुरा गर्न हामी प्रतिबद्ध छौं ।’

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगी,नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सी, नेकपा (एमाले) का जिल्ला सचिव मनोहर बुढाथोकी, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज निर्मल आचार्य, जिल्ला सचिव विश्वराज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टी दाङका संयोजक भक्त डाँगी, नेकपा एकीकृत समाजवादी दाङका सचिव जानका रेग्मी, राष्ट्रिय जनमोर्चा दाङका सदस्य इश्वरी भण्डारीलगायतले कार्यक्रमलाई सफल बनाउने प्रतिबद्धता जनाउनुभएको थियोे ।

कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले १२ वर्षको अन्तरमा हुन लागेको दीक्षान्त समारोहलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । संस्कृत भाषा, साहित्य र वाङ्मयको केन्द्र नेपाल संस्कृत विश्वविद्यालयको विकासका लागि सबैको सहयोगको आवश्यकता भएको बताउनुभयो । समयसापेक्ष विश्वविद्यालयका गतिविधिलाई परिमार्जन गर्दै अगाडि बढेको बताउँदै उकुलपति प्रा.डा. लामिछानेले भन्नुभयो, ‘विश्वविद्यालयको ध्यान अब आधुनिक विषयतर्फ पनि गइरहेको छ । हामीले विधिशास्त्र, प्राकृतिक चिकित्सा, योगका कक्षाहरु सञ्चालनका लागि पाठ्यक्रम निर्माण गरेर अगाडि बढेका छौं । संस्कृत विषयका साथै अन्य विषयको पठनपाठनतर्फ हाम्रो ध्यान गएको छ ।’

कार्यक्रममा बोल्दै शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाले विश्वविद्यालयका कुलपति एवं नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सभाध्यक्षता एवं सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यमा हुने दीक्षान्त समारोहमा ५७५ जना विद्यार्थी दीक्षित हुने जानकारी दिनुभयो । उक्त अवसरमा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले विश्वविद्यालयले २ सय वेडको एकीकृत अस्पताल, बोटानिकल गार्डेन निर्माणको कामलाई अगाडि बढाएको जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण विश्वविद्यालयका उपप्रशासक प्रदिप गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार