काठमाडौं, फागुन १७ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले इरानमाथि अमेरिका–इजरायलद्वारा गरिएको संयुक्त सैन्य हमलाको कडा शब्दमा विरोध गरेको छ।
पार्टीको केन्द्रीय समितिद्वारा जारी वक्तव्यमा फागुन १५ गते भएको उक्त हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित दर्जनौं अधिकारी र सर्वसाधारण नागरिकको ज्यान गएको उल्लेख गर्दै घटनाले विश्व समुदायलाई स्तब्ध, त्रसित र आक्रोशित बनाएको जनाएको छ।
वक्तव्यमा अमेरिकामा ट्रम्पको उदयसँगै विश्वले दोस्रो विश्वयुद्धपछिकै खतरनाक साम्राज्यवादी फासिवादी हस्तक्षेप झेलिरहेको दाबी गरिएको छ।
यसअघि भेनेजुएलामाथि गरिएको आक्रमण र हाल इरानमाथिको हमलाले विश्वलाई संवाद, समझदारी र प्रतिस्पर्धाको बाटोबाट युद्धको दिशातर्फ धकेलेको पार्टीको भनाइ छ।
माओवादीले इरानलाई स्वतन्त्र र सार्वभौम राष्ट्र भन्दै आफ्ना आन्तरिक समस्याको समाधान आफैं गर्न पाउने अधिकार रहेको उल्लेख गरेको छ। अमेरिकाले आफ्ना विपक्षी राष्ट्रहरूलाई बाह्य शक्तिसँग जोडेर विनाशकारी हमला गर्नु अस्वीकार्य रहेको वक्तव्यमा जनाइएको छ।
पार्टीले अमेरिका–इरान द्वन्द्वका कारण मध्यपूर्व क्षेत्र प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै त्यहाँ रोजगारीका लागि गएका लाखौं नेपाली नागरिकको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ। कतार, युएई, साउदी अरब, कुवेत, बहराइन लगायतका देशमा रहेका नेपालीहरूको सुरक्षाको ग्यारेन्टी गर्न र आवश्यक परे स्वदेश फिर्ताको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरिएको छ।
साथै, सरकारलाई प्रभावित मुलुकहरूसँग प्रत्यक्ष संवाद र प्रभावकारी कूटनीतिक पहलमार्फत नेपाली नागरिकको सुरक्षित बसोबास सुनिश्चित गर्न आग्रह गरिएको छ।
अन्त्यमा पार्टीले राष्ट्रसंघ, विश्व मानव समुदाय, मानवअधिकारवादी तथा राजनीतिक शक्तिहरूलाई युद्धको राजनीति त्यागी वार्ता, समझदारी, सहअस्तित्व र सहकार्यको मार्ग रोज्न विशेष आह्वान गरेको छ।
उक्त वक्तव्य पार्टीका महासचिव विप्लव सीद्वारा हस्ताक्षरित छ।

सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.