सल्यान । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा, चामल र खानेतेल बरामद गर्दै दुईजनालाई पक्राउ गरेको छ।
सोमबार बिहान सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१ सल्लीबजारबाट खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिपका चालक सिद्धकुमाख गाउँपालिका–४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र जिपमा सवार ३७ वर्षीय मोहन बीसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार जिपमा निर्वाचनलक्षित सामग्री बोकेको आशंकामा चालकसहित नियन्त्रणमा लिइएको हो। जिपबाट २५ केजीका दुई बोरा चामल, ‘गोली डायमण्ड’ लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन ‘रकस्टार’ बियर र तीन कार्टुन खानेतेल बरामद गरिएको प्रहरीले जनाएको छ।
यता रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले गाडीमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको रहेको दाबी गरेका छन्। “प्रचारप्रसारमा हिँडेको गाडीमा सामान राख्नु व्यापारीको गल्ती हो,” उनले भने।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.