पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेकपा निकट जवस/मोर्चाद्वारा संघर्षका कार्यक्रम घोषणा

डेली न्युजराप्ती       १९ माघ २०७८ १३:३४ मा प्रकाशित     396 No Comments


काठमाडौँ। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँ बढाएको हो । ‘भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेर आएको छ ।
नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २५ रुपैयाँ पर्नेछ । पेट्रोलको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि २०७० फागुन ३० गते प्रतिलिटर १४० रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल बढेर ९० डलरसम्म पुगेकाले यहाँ पनि मूल्य बढाएको निगमले जनाएको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।
यस्तै, निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय १६ रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाएर १०९५ डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि बिरुद्ध नेकपा निकट जवस/मोर्चाद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा
नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै संघर्षको कार्यक्रमहरुको घोषणा गरेको छ । सो पार्टीनिकट अखिल नेपाल भूमीहिन सुकुम्वासी संघका अध्यक्ष ओम पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष वन्धु चन्द,श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा,जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका अध्यक्ष खुमा सुवेदी, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टिका प्रसाद कँडेल, जनगणतान्त्रीक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनका अध्यक्ष व्यापक नेपाली, जनपत्रकार संगठन नेपालका संयोजक शेर वहादुर विश्वकर्मा, राज्य द्धारा वेपत्ता योद्धा परिवार समाज नेपालका संयोजक राम वहादुर थापा,अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद थापा,अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, युवा संगठन नेपालका अध्यक्ष पाटन,र राष्ट्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण वस्नेतले संयुक्त बिज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै तत्काल फिर्ता लिन माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
संघर्षका कार्यक्रमहरुमा माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा, माघ २१ गते विहान १० देखि ११ बजे सम्म देशव्यापी आयल निगमका कार्यालय र डिपोहरु घेराउ , माघ २२ गते देशब्यापी प्रचार प्रसार , माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम , माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम , माघ २६ गते देशव्यापी विरोध प्रदर्शन रहेका छन।
यस्तै नेकपा दाङ निकट संयुक्त जवस/मोर्चाले भोलि घोराहीमा दिउँसो ३ बजे मुल्यबृद्दी विरुद्ध कोणसभा गर्ने जनाएका छन।
संयुक्त प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार