श्रमिक जनताको विजयलाई कसैले रोक्न सक्ने छैन : विप्लव

डेली न्युजराप्ती       २ फाल्गुन २०७८ ०८:५२ मा प्रकाशित     330 No Comments


महासचिव विप्लवद्वारा २७ औँ जनयुद्ध दिवसको शुभकामना
दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले श्रमिक जनताको विजयलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् । २७ औँ जनयुद्ध दिवसका अवसरमा जनयुद्धप्रति गौरव प्रकट गर्दै र महान् सहिद–बेपत्ता योद्धाप्रति विशेष स्मरण, सम्मान, श्रद्धा व्यक्त गर्दै महासचिव विप्लवले घाइतेहरूप्रति सम्मान, आमश्रमिक जनता, महान् सहिद–बेपत्ता योद्धा परिवारजनहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । महासचिव विप्लवले श्रमिक जनता, पार्टी नेता–कार्यकर्ता र मित्रहरूमा विशेष शुभकामना प्रदान गरेका छन् ।२७ औँ जनयुद्ध दिवसमा वक्तव्य जारी गर्दै महासचिव विप्लवले भनेका छन्, ‘महान् जनयुद्धको पहल भएको २७ वर्ष बितेको छ । यस जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा जनयुद्धप्रति विशेष गौरव व्यक्त गर्न चाहन्छौँ । साथै महान् सहिद–बेपत्ता योद्धाप्रति विशेष स्मरण, सम्मान, श्रद्धा व्यक्त गर्न चाहन्छौँ । घाइतेहरूप्रति सम्मान व्यक्त गर्दछौँ । आमश्रमिक जनता, महान् सहिद–बेपत्ता योद्धा परिवारजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । श्रमिक जनता, पार्टी नेता–कार्यकर्ता, मित्रहरूमा विशेष शुभकामना आदानप्रदान गर्न चाहन्छौँ ।’महासचिव विप्लवले जनयुद्धका उपलब्धि र पात्रहरूका सीमाका बारेमा चर्चा गर्दै वक्तव्यमा अगाडि भनेका छन्, ‘जनयुद्धले नेपाली राजनीतिमा अभूतपूर्व प्रभाव र परिवर्तन ल्यायो । श्रमिक जनताले आफ्नो मुक्ति र राष्ट्रिय स्वाधीनताका लागि गरेको ऐतिहासिक विद्रोहले पहिलोपटक जनताको सत्ता, जनताको सेना, जनताको न्यायालय, शिक्षा, स्वास्थ्य, अर्थसम्बन्धहरू निर्माण गर्न सफल भएको थियो । तर प्रचण्ड–बाबुरामलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामा टुङ्गियो । जनयुद्धको अपूर्णताका कारण नेपाली जनताको पूर्ण मुक्ति एवम् नयाँ जनवाद–वैज्ञानिक समाजवाद प्राप्तिको चाहना अधुरै रह्यो ।’मुलुकको विद्यमान अवस्थाका बारेमा चर्चा गर्दै महासचिव विप्लवले भनेका छन्, ‘आज दलाल पुँजीवादी सत्ता र श्रमिक जनताबीचको सङ्घर्ष तीव्र बन्दै गएको छ । अनेकौँ राष्ट्रघात, जनघात, भ्रष्टाचारमा चुर्लुम्म डुब्दै दलाल पुँजीवादी सत्ता र संसद्वादी तत्वहरू सङ्कटग्रस्त बन्न पुगेका छन् तर संसद्वादी तत्वहरूको बुद्धि फिर्नुको सट्टा आफ्नो तुच्छ कुर्सीस्वार्थ पूरा गर्न एमसीसीजस्ता घोर राष्ट्रघाती सम्झौता लाद्न उद्यत छन् ।’नेपाली जनताको चाहना, आवश्यकता र अवस्थाका बारेमा महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोण छ– नेपाली श्रमिक जनताले आजको दलाल पुँजीवादी संसदीय व्यवस्थाको अग्रगामी एवम् क्रान्तिकारी विकल्प वैज्ञानिक समाजवाद चाहिरहेका छन् । त्यसका लागि असफल संसदीय व्यवस्थाको निरन्तरता होइन, जनमतसङ्ग्रहद्वारा राजनीतिक व्यवस्था छान्ने र चुन्ने अधिकार प्रदान गर्नुपर्छ । तर सरकार र संसद्वादी पार्टीहरू हाम्रो पार्टीसँग राज्यले गरेको ३ बुँदे सहमति पनि इमानदारीपूर्वक कार्यान्वयन गर्नुको सट्टा बेइमानी गरिरहेका छन् । सहमतिअनुसार इमानदारीपूर्वक बन्दी कमरेहरूलाई मुक्त गर्नु र नेता–कार्यकर्ताहरूमाथि लगाइएका झूट्टा मुद्दाहरू खारेज गर्नुको बदला अनेकौँ कानुनी बहाना देखाएर अल्झाउने गलत कार्य गरिरहेका छन् । हामी सरकारलाई ३ बुँदे सहमतिप्रति इमानदार बन्न विशेष जोड दिन चाहन्छौँ ।’महासचिव विप्लवले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘महान् जनयुद्धको गौरवलाई पकड्दै एकीकृत जनक्रान्तिलाई विजयतिर अगाडि बढाऔँ । जनताको मुक्ति, राष्ट्रको स्वाधीनताका पक्षमा उभिने र मिल्न सकिने सबै कम्युनिस्ट, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी मित्रहरू एकताबद्ध बनौँ । दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्यमा समर्पित बनौँ । श्रमिक जनताको विजयलाई कसैले पनि रोक्न सक्नेछैन ।’
इरातोखबर

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार