दाङमा नेपाल बन्द सानदार ढंगले सम्पन्न, के-के भयो हेर्नुस बिस्तृतमा

डेली न्युजराप्ती       ४ फाल्गुन २०७८ १९:१३ मा प्रकाशित     515 No Comments


फागुन ४, तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको आह्वानमा आज बुधबार शक्तिशाली र जुझारु नेपाल बन्द दाङमा सानदार ढंगले सम्पन्न भएको छ। आज बिहानैदेखि दाङमा लामो तथा छोटो दुरिका सवारी साधनहरु ठप्प भएका थिए भने उधोगधन्दा,कलकारखाना,व्यापार,व्यवसाय,शिक्षण संस्थाहरु पुर्णरुपमा बन्द भएका हुन। साझ ५ बजेपछि जिल्लाभरी कोणसभा गरेर बन्द खुलेको जानकारी गराइएको थियो।
तुलसीपुरको बिरेन्द्र चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले ५५ अर्व अमेरिकी डलरको लोभमा राष्ट्रिय स्वाधीनता बेच्न नदिने उद्घोष गर्नुभएको हो। उहाले नेपाली जनताको तागतले राष्ट्रघाती एमसिसी सम्झौता संसदमा टेवल हुन नसकेको समेत बताउनुभएको हो। नेता शितलले एमसिसी सम्झौता मार्फत अमेरिकाले चिनलाइ घेर्ने रणनीति लिएको समेत बताउनुभएको थियो।
दक्षिण एसियामा बढ्दो कम्युनिस्ट प्रभावका विरुद्ध समेत एमसिसी परियोजना लक्षित रहेको शितलको भनाइ थियो। नेता शितलले नेपालमा रहेका बहुमुल्य धातुमाथि अमेरिकी गिद्देनजर प्रष्ट बुझेकाले कुनैपनी हालतमा एमसिसी पास हुन नदिने जिकिर गर्नुभएको थियो।

कोणसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य एवम दाङका इन्चार्ज समीरले नेपाली जनतासंग सेना,हतियार छैन भनेर संसदवादी दलालहरुले जबर्जस्त युद्ध थोपर्न खोजे जनताले आफ्नै सेना र हतियार बनाउन कुनै ठूलो कुरा नभएको बताउनुभएको हो। उहाले अमेरिकाले डलरसंगै हतियार लिएर नेपाल प्रवेश गर्न आटेको भन्दै त्यो अमेरिकी दिवा सपना पूरा हुन नदिने स्पष्ट पार्नुभएको थियो। कोणसभाको सहजीकरण नेकपा दाङका कार्यालय सदस्य किरणले गर्नुभएको थियो।

बन्दकर्ताद्वारा घोराहीमा सडक सरसफाइ देखि ट्राफिक चिन्ह व्यवस्थापन:

दाङमा बन्दकर्ताहरुले नेपाल बन्दको सन्दर्भमा सडक खाली भएको बेलामा सिर्जनात्मक काम गरेका छन। नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको आह्वानमा आज बुधबार शक्तिशाली र जुझारु नेपाल बन्दको क्रममा दाङको घोराहीमा बन्दकर्ताहरुले सडक सरसफाइ गर्दै जेब्रा क्रसिङलगायतका ट्राफिक चिन्हको पेन्टिङ गरेका छन।
यस्तै घोराहीमा पनि नेपाल बन्दको पुर्ण प्रभाव परेको संयुक्त दलले जानकारी दिएको छ।
न्यूजराप्तीसंग कुरा गर्दै नेकपा घोराही उपमहानगर इन्चार्ज निर्मलले बिहानैदेखि लामो तथा छोटो दुरि सवारी साधनहरु ठप्प रहेको साथै उधोगधन्दा,कलकारखाना,व्यापार,व्यवसाय,शिक्षण संस्थाहरु पुर्णरुपमा बन्द भएका हुन। साझ ५ बजेपछि घोराहीको तुलसीपुर चोकमा कोणसभा गरेर बन्द खुलेको जानकारी गराइएको इन्चार्ज निर्मलले जानकारी दिनुभएको हो। कोणसभालाइ सम्बोधन नेकपाका केन्द्रीय सदस्य सबिन,नेकपा (क्रान्तिकारी माओवादी) दाङका सेक्रेटरी नरेन्द्र, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य र नेकपा मालेका जिल्ला सचीव नेत्र प्रसाद पाण्डेले गर्नुभएको हो।
यस्तै दाङको भालुबाङमा पनि बन्दपछि कोणसभाको आयोजना गरिएको थियो। कोणसभालाइ नेकपा निकट मगर मुक्ती मोर्चाका केन्द्रीय कोषाध्यक्ष भिम प्रकाश र नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष सुरजले गर्नुभएको थियो।

देउखुरीमा पनि बन्दको प्रभाव, बिहानै देखि चोक चोकमा प्रहरी:
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चा लगायतले आज नेपाल बन्दको आह्वान गरेका थिए।
नेपाल बन्दको प्रभाव देउखुरीको विभिन्न ठाँउमा बिहानैदेखि परेको छ। एमसिसी विरोधमा विप्लव नेतृत्वको नेकपा लगायत ६ राजनीतिक दलको बन्दका कारण देउखुरीको विभिन्न ठाँउमा लमही, भालुवाङ, गढवा राजपुर लगाएतका ठाँउमा जनजीवन प्रभावित बनेको हो।

बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन। सहरका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन। कतिपय ठाँउमा सीमित मात्रामा मोटरसाइकल चलेका छन भने मुख्य ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ।

बन्द सफल पार्न भन्दै मंगलवार साँझ जिल्ला जिल्लामा नेकपाका लगाएतका कार्यकर्ताले मसाल जुलुस निकालेका थिए । शिक्षण संस्था लगाएत सम्पूर्ण देशभक्त, राष्ट्रवादी, यातायात व्यवसायी, उद्योग, ब्यापारी, कलाकारखाना लगाएतलाई सहयोगको अपिल गरेका थिए।
लमही ट्राफिक प्रहरी कार्यालय लमहीले बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ भने वडा प्रहरी कार्यालय लमहीले कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्थाको पूर्ण तयारी रहेको बताएको छ।

यस्तै दाङको पश्चिम क्षेत्र बबई गाउपालिका,दंगिशरण गाउपालिका र शान्तीनगर गाउपालिकामा पनि बन्दको पुर्ण प्रभाव परेको संयुक्त आन्दोलनरत दलले जानकारी दिएका छन।

बन्दमा अखिल नेपाल शिक्षक संगठनद्वारा फोहोरमैला व्यवस्थापन:
यस्तै नेकपा निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन दाङले नेपाल बन्दको पुर्वसन्ध्यामा संयुक्त दलद्वारा दाङको तुलसीपुरमा आयोजित मसाल जुलुस कार्यक्रममा भएको फोहोर मैलाको व्यवस्थापन गरेको छ। नेपाल बन्दको एकाबिहान आज संगठनले फोहोरमैला व्यवस्थापन अन्तर्गत तुलसीपुरको जेसिजचोक सरसफाइ गरेको हो। सरसफाइ अभियानमा संगठनका केन्द्रिय सदस्यहरु नरायण शर्मा, निर्मला डागि अखिल नेपाल शिक्षक सङ्गठन तुलसीपुरका अध्यक्ष मेघराज घिमिरे,सचिब कमल प्रकाश शर्मा लगाएत करिब २ दर्जन संगठनका सदस्यहरुको उपस्थिती रहेको थियो।
दाङमा प्रहरीद्वारा २ बन्दकर्ता पक्राउ:
नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको आह्वानमा आज बुधबार शक्तिशाली र जुझारु नेपाल बन्दको कार्यक्रमबाट दाङमा २ नेता पक्राउ परेको छन।
दाङको भालुबाङबाट नेकपा ( क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष मनोज थापा र नेकपा निकट थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई प्रहरीले गिरफ्तार गरेको हो। एकाबिहानै बन्द सफल पार्न हिडेका दुबैजनालाइ गिरफ्तार गरिएको नेकपा दाङका सेक्रेटरी प्रदिपले जानकारी दिनुभएको छ।
यस्तै साझ बन्द खुलेपछि गिरफ्तार दुबै नेता- कार्यकर्ता रिहा भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार