भोलि आठ दल–मोर्चाको सशक्त नेपाल बन्द,पुर्वसन्ध्यामा दाङ लगाएत देशभर मसाल जुलुस

डेली न्युजराप्ती       १५ फाल्गुन २०७८ २०:०७ मा प्रकाशित     558 No Comments


काठमाडौँ : राष्ट्रघाती एमसीसीविरुद्ध सडक सङ्घर्षमा होमिएका नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले भोलि अर्थात् फागुन १६ गते सशक्त नेपाल बन्दको घोषणा गरेका छन् । आज घोषित सडक सङ्घर्षपछि नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको र यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले भोलि १६ गतेका लागि सशक्त नेपाल बन्द घोषणा गरिएको उल्लेख छ ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आकस्मिक बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँमा बस्यो । नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र देशव्यापी जनसङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको छ । यसका विरुद्ध राष्ट्रिय रूपमा प्रतिवाद सङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले विषयको यही संवेदनशीलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनसङ्घर्षको कार्यक्रम घोषणा गरेका छौँ । यसलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरूलगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौं । साथै आज एमसीसीविरुद्धको आन्दोलनमा घाइते सम्पूर्ण देशभक्त योद्धाहरूको स्वास्थ्यलाभको कामना गर्दछौँ ।’
६ दल र २ मोर्चाले सार्वजनिक गरेको सङ्घर्षको कार्यक्रम यसप्रकार रहेको छ :
१.फागुन १५ गते बेलुका देशव्यापी मशाल जुलुस ।
२.फागुन १६ गते सशक्त नेपाल बन्द ।

नेपाल बन्दको घोषणासहित संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन। संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठ…

बन्दको पुर्वसन्ध्यामा दाङमा मसाल जुलुस प्रदर्शन
दाङमा राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध आन्दोलनरत संयुक्त दल-मोर्चाको संयुक्त आयोजनामा जिल्लाभरी मसाल जुलुस प्रदर्शन गरिएको छ। जिल्लाका मुख्यसहरहरु घोराही, तुलसीपुर, लमहि,भालुबाङ,गढवा,राजपुर,हापुरे लगाएतका थुप्रै ठाउहरुमा मसाल जुलुस प्रदर्शन गरिएको नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार